एमालेको निर्देशन : प्रतिनिधि छनोट १३ गतेभन्दा पर नसार्नु, रकम एक हजारभन्दा बढी नलिनू

हिमाल प्रेस ९ मंसिर २०८२ ८:२६ | Tuesday, November 25, 2025
10
SHARES
एमालेको निर्देशन : प्रतिनिधि छनोट १३ गतेभन्दा पर नसार्नु, रकम एक हजारभन्दा बढी नलिनू

काठमाडौँ- नेकपा एमालेको ११ औँ महाधिवेशनको प्रतिनिधि छनौटको अन्तिम तयारी भइरहँदा पार्टीको संगठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ।

पार्टी स्थायी कमिटी सदस्य एवं संगठन विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार हिजो साँझ विभागको भर्चुअल बैठक मार्फत केही निर्णयहरु गर्दै पाँच बुँदे निर्देशन जारी गरिएको हो।

अधिकारीका अनुसार निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्यरूपमा प्रकाशन गर्नुपर्नेछ। यसका लागि केन्द्रीय कमिटीको पछिल्लो परिपत्रलाई आधार बनाउन निर्देशन दिइएको छ।

यसैगरी कायम भएको अन्तिम मतदाता सूचीको संख्या केन्द्रीय संगठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन जारी गरेको छ। १२ गते साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र सो नभएमा १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनौट गर्न निर्देशन जारी गरिएको छ। विभागको निर्देशन कुनै पनि बहानामा १३ गते भन्दा पर सार्न नहुने भनेको छ।

केही जिल्लाहरूमा प्रतिनिधिको उम्मेदेवारी दर्ता शुल्क अत्याधिक तोकिएको जानकारी आएकोले त्यसमा विभागले हस्तक्षेप गरेको छ‍। प्रतिनिधिमा उम्मेद्वारी शुल्क बढीमा १ हजार रुपैयाँ भन्दा बढी नलिन पनि निर्देशन गरिएको छ।

प्रतिनिधि छनौटका लागि सम्बन्धित क्षेत्रमा खटिएका नेताहरुलाई समय मै आफ्नो कार्यक्षेत्रमा पुग्न र प्रतिनिधि छनौट प्रक्रियामा सहजिकरण गर्न पनि विभागले निर्देशन जारी गरेको छ।

मंसिर २७ देखि २९ गते काठमाडौँमा हुने पार्टीको ११ औं महाधिवेशनको मंसिर १३ गते देशैभरी र प्रवासमा पनि एकै दिन महाधिवेशन प्रतिनिधि छनौट हुँदैछन्। एमालेको महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुदैछन्।

प्रकाशित: ९ मंसिर २०८२ ८:२६ | Tuesday, November 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast