
विराटनगर- विराटनगर महानगरपालिकाले अविरल वर्षाका कारण महानगर क्षेत्रमा प्रभावित परिवारलाई राहत वितरणमा कुनै कमी हुन नदिने जनाएको छ।
महानगर प्रमुख नागेश कोइरालाले सोमबार यहाँ क्रियाशील सामाजिक संघसंस्थाका प्रतिनिधिहरूसँग छलफल गरी यस कार्यमा सहयोग गर्न आग्रहसमेत गरेका छन्।
महानगरको समन्वयमा सोमबार बिहानको खाना अग्रवाल सेवा समितिले उपलब्ध गराएको थियो भने अहिले साँझको खाना राउण्ड टेबलले उपलब्ध गराउने भएको छ।
महानगर प्रमुख कोइरालाले रेडक्रसलगायत अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिसँग समेत छलफल गरी सहयोगका लागि सहजीकरण गरिएको बताए। त्यसक्रममा रेडक्रसले त्रिपाल र ‘म्याट्रेस’ उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो।
अग्रवाल सेवा समितिको सहयोगमा विराटनगर–१२ स्थित सम्पन्न वस्तीका बाढीपीडितलाई खाद्यान्न वितरण गरिएको पनि जनाइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा महानगर प्रहरीले आइतबार ३०० परिवारलाई उद्धार गरी बखरी आधारभूत विद्यालयमा राखेको छ।