
भैरहवा (रुपन्देही)- अलपत्र यात्रुको उद्धारका लागि नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले सोमबार भैरहवा–काठमाडौं चार्टर्ड उडान गरेको छ। निगमको १ सय ५८ सिट क्षमताको एयरवस ३२० ले उडान भैरहवाबाट उडान भरेको हो।
काठमाडौंबाट दिउँसो ३ बजेर ४२ मिनेटमा भैरहवा ल्याण्ड गरेको न्यारोबडीले बेलुका साढे पाँच बजे १ सय ५७ जना यात्रु लिएर काठमाडौं फर्किएको हो।
काठमाडौंबाट भैरहवा आउँदा उक्त जहाजमा ७६ जना यात्रु आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए। नियमित उडान भर्दै आएका जहाजमा टिकट नपाएपछि भैरहवामा यात्रुहरु अलपत्र परेका थिए।
बर्सात सडक अवरुद्ध हुँदा हवाई चाप बढेको हो। जरुरी कामले काठमाडौं जानुपर्ने यात्रुहरु अलपत्र परेपछि सरकारले न्यारोबडीमार्फत् उडान गर्ने निर्णय गरेको थियो।
यात्रुको समस्यालाई मध्यनजर गरी नेपाल वायुसेवा र सरकारको पहलमा आपतकालीन सेवा दिइएको महाप्रवन्धक तिवारीले बताए। आइतबार भैरहवाबाट न्यारोबडीले उडान भर्ने सूचनापछि उत्साहित भएर गौतमबुद्ध विमानस्थल पुगेका यात्रु उडान स्थगित भएको सूचनापछि निराश बनेर फर्किएका थिए। तर सोमबार उडान भएपछि सर्वसाधारण खुसी भएका छन्।
अन्य समयमा भैरहवा–काठमाडौं दैनिक १८ देखि २० वटा नियमित उडान हुँदै आएका छन्। तर दसैं मान्न विभिन्न जिल्ला पुगेका यात्रुहरु सडक सञ्जाल बन्द भएपछि अलपत्र परेका थिए। बुद्ध, यति र श्री एयरले उडान थप गरे पनि टिकट नपाएपछि यात्रुले टिकट नपाएको गुनासो गरेका थिए।
न्यरोबडीले काठमाडौंबाट वैदेशिक रोजगारीमा जाने टिकट लिएका यात्रु, बिरामी, अशक्त र वृद्धवृद्धालाई प्राथमिकतामा राखेर उडान गरेको विमानस्थलले जनाएको छ।