झुलाघाटसहित विभिन्न नाकाबाट दसैँ मनाउन स्वदेश फर्कनेको संख्या बढ्दै

हिमाल प्रेस ५ असोज २०८२ १५:३० | Sunday, September 21, 2025
झुलाघाटसहित विभिन्न नाकाबाट दसैँ मनाउन स्वदेश फर्कनेको संख्या बढ्दै प्रतिनिधिमूलक तस्बिर।

बैतडी- नेपालीको मुख्य चाड बडादसैँ नजिकएसँगै रोजगारीका लागि छिमेकी मुलुक भारत गएका नेपाली घर फर्कन थालेका छन्। बैतडीसहित सुदूरपश्चिमका विभिन्न नाकाबाट रोजगारीका लागि गएकाहरू स्वदेश फर्कन थालेका हुन्। बैतडीसहित सुदूरपश्चिमका विभिन्न नाकाबाट स्वदेश फर्कनेको संख्या बढेसँगै सवारीसाधनमा यात्रुको घुइँचो बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाटबाट घर फर्कने नेपालीको संख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए। उनका अनुसार मौसमी रोजगारीका लागि सीमावर्ती भारतीय क्षेत्रमा गएका नेपालीहरू चाडपर्वका लागि घर फर्कन थालेका छन्।

झुलाघाट नाकाबाट पछिल्ला केही दिनयता दैनिक ७०-८० जना स्वदेश फर्किरहेका इलाका प्रहरी कार्यालय झुलाघाटका प्रमुख एवं वरिष्ठ प्रहरी नायब निरीक्षक गंगाराम टमाटाले बताए। यसअघि यो संख्या दैनिक १०-१५ जनासम्म थियो।

भारतसहित रोजगारीका लागि विदेसिएकाहरू स्वदेश फर्कन थालेका जनाइएको छ। बिसुपर्व मनाएर रोजगारीका लागि भारत पसेकाहरू दसैँका लागि उक्त नाका भएर फर्कने गरेका वरिष्ठ प्रहरी नायब निरीक्षक टमाटाको भनाइ छ। उनका अनुसार दसैँको समयमा सुदूरपश्चिममा कुलदेवताको पूजाआजा हुने, जात्रा, मेला हुने भएकाले आफ्नै गाउँघर फर्कने गर्दछन्।

कैलालीको त्रिनगर, कञ्चपुरको गड्डाचौकी, दार्चुलाको पुलघाट नाकाबाट दिनहुँ स्वदेश भित्रिने क्रम बढ्दै गएको जनाइएको छ। दसैँ, तिहारलाई लक्षित गर्दै सुरक्षा योजनालाई थप व्यवस्थित बनाइएको प्रहरी प्रवक्ता बडूले बताए। उनले भने,‘सुरक्षा योजना बनाएर काम गरिरहेका छौँ। सीमा क्षेत्र, राजमार्ग, मुख्य बजारमा सहायता कक्ष स्थापनाको तयारी भइरहेको छ।’

प्रकाशित: ५ असोज २०८२ १५:३० | Sunday, September 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast