
वृद्धभत्ता आउँछ- थलमायाको। कल्पनाले पनि केही रकम पठाउँछे- विदेशबाट। थलमायाको सबै रकम बैंकमा रहने। थलमाया आफू बैंक जान नसक्ने।
उसो त नातिनातिनाले सघाउँछन्- थलमायालाई।
अठार दिनपहिले अन्तरेको छोरो दिपु आइपुगेको थियो। थलमायालाई पाँच हज्जार चाहिएको।
चेकमा लेख्यो- दिपुले। थलमायाले हात कमाउँदै सही गरिदिइन्।
थलमाया मुस्किलले यही सही चैँ गर्छिन्, लेखेका अक्षर चिन्दिनन्। फेरि नातिनातिनाको भर नपरे कसको पर्नु!
आज प्रेमा आइपुगेकी छे।
चेकमा लेख्नुपहिले प्रेमाले थलमायाको मोबाइलमा बैंकको म्यासेज पढी। आठ हज्जार निकालेको म्यासेज पो छ!!
प्रेमालाई झट्का लागे जस्तै भयो- नयाँ सुराक पत्ता लगाए झैँ पनि भयो। प्रेमालाई लाग्यो- ‘सबै कुरा एकएक गरी थलमायालाई भनी दिऊँ, दिपुलाई डाक्न पठाऊँ र उसको झाँको झारौँ!!’
तर घाँटीमै आइपुगेको आवेग प्रेमाले घुटुक्क निली।
पैसा त प्रेमालाई पनि चाहिन्छ : कहिले त मोबाइलमा डाटा हाल्ने पैसा पनि हुँदैन : क्यान्टिनमा मः मः खान पनि साथीसँग सापटी लिनुपर्छ। गरिबीको यो तहबाट हेर्दा समृद्धि अत्यासलाग्दो दूरीमा पो देखिन्छ!!
प्रेमा झल्याँस्स जस्तै भई। उसलाई लाग्यो- ‘दिपुकै बाटो नहिँड्ने हो भने कसरी भेटिन्छ- समाजवाद!!’
बैंकबाट फर्किएपछि प्रेमाले थलमायालाई भनी- ‘बज्यैलाई हामीले सेवा नगरे कसले गर्छ!! आवश्यक पर्दा जतिखेर बोलाउनु भए पनि हुन्छ- म टुप्लुक्क आइपुग्छु।’