
काठमाडौँ- नेकपा एमालेले भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु)मा उमेर हद (३२ वर्ष) लगाएपछि विद्यार्थीबीच तरंग पैदा भएको छ। यसअघिसम्म खुला प्रतिस्पर्धा हुँदै आएको अखिलमा अब ३२ वर्षमुनिकाले मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था लागू भएको हो।
अखिलले यसअघिको पदाधिकारी बैठकमा आगामी महाधिवेशनबाट उमेर हद टुंगो लगाउने निर्णय लिएको थियो। तर एमालेको गत जेठ ११ मा बसेको ४२ औँ सचिवालय बैठकले उमेरहद लगाएको हो। उमेरहद कार्यान्वयन गर्न पार्टी महासचिव शंकर पोखरेलले सर्कुलर जारी गरेका छन्।
सर्कुलरमा अखिलका सबै कमिटीमा उमेर हद लागू गर्न र ३२ वर्ष नकटेका प्रतिनिधिलाई मात्र उम्मेदवार बनाउन निर्देशन छ। एमालेको निर्णयपछि एकतिहाई आकांक्षी प्रतिस्पर्धाबाट बाहिरिएका छन्।
भाबी नेतृत्वका रूपमा हेरिएका नेता प्रतिस्पर्धाबाट बाहिरिँदा असन्तुष्टि देखिएको छ। उमेर हदको सबैभन्दा बढी असर हालका महासचिव नरेश रोकायलाई परेको नेताहरू सुनाउँछन्।
उनी वर्तमान महासचिव साथै आगामी कार्यकालका अध्यक्षका बलिया दाबेदार मानिन्थे। ३२ माथिको उमेरका उनी प्रतिस्पर्धाबाट स्वतः अलग हुनुपर्नेछ। उनले यसअघि सामाजिक सञ्जालमार्फत असन्तुष्टिसमेत जनाएका छन्। उनले उमेर हदका विषयमा ‘खेल सुरु भएपछि नियम परिवर्तन गरिएको’, ‘एजेन्डामै नभएको उमेर हद लगाइएको’, ‘संगठनको दुरगामी असर पर्नेगरी निर्णय भएको’ आरोप लगाएका छन्।
रोकायको असन्तुष्टिपछि अखिलका अध्यक्ष समिक बडालले सामाजिक सञ्जालमा संगठनको आन्तरिक जीवनबारे छलफल नगर्न निर्देशन दिएका छन्। उनले उमेरसम्बन्धी निर्णय कोही व्यक्तिमाथि लक्षित नभएको दाबी गरेका छन्।
अखिलभित्र उमेर हदको विषयले समिक र नरेशबीच तिक्तता देखाएको छ। नेताहरूका अनुसार उमेर हद लगाउन समिक लागिपरेका थिए। समिक भने उमेरहदको पक्षपोषक आफू नभई पार्टीकै नेताहरू भएको भन्दै पन्छिँदै आएका छन्।
यी हुन् प्रतिस्पर्धाबाटै बाहिरिने नेताहरू
अखिलभित्र ठूलो विद्यार्थी संख्या ३२ वर्षे उमेरकै कारण प्रतिस्पर्धाबाट अलग हुँदै छ। लामो समयदेखि पदाधिकारीको तयारी गरिरहेका नेताहरू महाधिवेशनको पूर्वसन्ध्यामा प्रतिस्पर्धा गर्न नपाई बाहिरिँदा गुनासो गरिरहेका छन्।
उमेर हदका कारण वर्तमान अध्यक्ष समिक बडाल, उपाध्यक्षबाट नारायण घर्ती, गोविन्द गिरी, मर्यादा विष्ट र धर्म गिरी स्वतः अलग भएका छन्।
महासचिव नरेश रोकाय र सचिवबाट दीपेश प्रसाईं, आशीर्वाद सुवेदी, विनिता काफ्ले, मनोज ताम्ली, सञ्जीव धिताल र कोषाध्यक्ष संगम धिताल बाहिरिँदै छन्। अब पदाधिकारीबाट भाबी नेतृत्वका लागि सचिवबाट अञ्जना शिवाकोटी, दीपक धामी, आरती भट्टराई, डा. सुजन कडरिया र प्रकाश पौडेल मात्र उमेर हदका कारण प्रतिस्पर्धा गर्न पाउँछन्। उनीहरूमध्येबाटै एकजना अखिलमा अध्यक्ष बन्नेछन्।
स्थायी कमिटीबाट गोविन्द थपलिया, सागरहरि अधिकारी, आरविक्रम ओखेडा, आशिष तुम्बाहाम्फे, ललितनारायण रजक, किसान घिसिङ, विजय पौडेललगायतका नेताहरू उमेर हदका कारण बिदा हुँदै छन्। केन्द्रीय समितिबाट पनि १० प्रतिशत नेताहरू उमेर हदका कारण बिदा हुँदैछन्।
आठ प्रदेश अध्यक्षमध्ये दुई मात्र प्रतिस्पर्धामा
उमेर हदका कारण अखिलका आठ प्रदेशका आठ अध्यक्षमध्ये दुईजना मात्र प्रतिस्पर्धामा आउने भएका छन्। उमेर हदले कोशी अध्यक्ष जीबी गजल, बागमती अध्यक्ष लालबहादुर बुढाथोकी, गण्डकीका प्रविन श्रेष्ठ, लुम्बिनी सन्तोष बाठा मगर, सुदूरपश्चिमका मनोजराज राई र उपत्यकामा विशाल न्यौपाने बिदा हुँदैछन्। वर्तमान प्रदेश अध्यक्षमध्ये मधेशका अध्यक्ष आरपी यादव र कर्णालीका अध्यक्ष राजेश ओली मात्र आगामी कार्यकालको पदाधिकारीको दाबेदार हुन्।
अध्यक्षका तीन मुख्य दाबेदार
उमेर हद लागेपछि अखिलको महाधिवेशनमा विधानतः सचिवहरूबाट मुख्य दाबेदार छन्। अखिलको विधानअनुसार पनि यसअघि पदाधिकारी भएकाले मात्र अब अध्यक्षमा दाबी गर्न पाउँछन्। अहिले अखिलभित्रको सरगर्मी अनुसार भाबी अध्यक्षका रूपमा वर्तमान सचिवहरू प्रकाश पौडेल, डा. सुजन कडरिया र दीपक धामी मुख्य दाबेदार हुन्।
उमेर हद नलाग्दा महासचिवका दाबेदार रहेका उनीहरू अहिले अध्यक्षमा दाबी गर्दै आएका छन्। अञ्जना शिवाकोटी र आरती भट्टराई विधानअनुसार योग्य भए पनि अध्यक्ष बन्ने सम्भावना कम छ। अहिले पौडेल, कडरिया र धामी नै अध्यक्षका रूपमा अघि सरेको नेताहरूको भनाइ छ। उनीहरू पनि भाबी अध्यक्षको दाबी गर्दै माहोल बनाउनेमा लागेका छन्।
पौडेल, कडरिया र धामी : कसको कति सम्भावना?
अखिलको पहिलो कार्यकारी अध्यक्ष बन्न तीनजनाको दौड तीव्र बढेको छ। उनीहरू नेता रिझाउनदेखि प्रतिनिधि फकाउनसम्म लागेका छन्। उनीहरू आफ्ना सबल पक्ष देखाउँदै सामाजिक सञ्जालमा प्रचारमा छन्। गण्डकीबाट लामो समय विद्यार्थी राजनीति गरेका पौडेल आगामी कार्यकालबाट अध्यक्ष चुनिने तयारीमा छन्।
२०६२ सालमा जनकल्याण मावि पुलाचौर म्याग्दीको अध्यक्ष बनेर पहिलो कार्यकारी बनेका पौडेल, २०६३ सालमा म्याग्दी जिल्ला कमिटी सदस्य, २०६५ सालमा जिल्ला सचिवालय बनेका उनी २०७१ सालमा जिल्ला अध्यक्ष बनेको अनुभव छ। २०७२ सालमा स्थायी कमिटी, २०७८ सालमा गण्डकी अध्यक्ष र २०७९ सालमा केन्द्रीय अध्यक्ष बन्ने दौडमा छन्। हाल प्रवक्ता समेत रहेका पौडेल स्पष्ट वक्ता र प्रविधिसँग सुहाउँदो नेताका रूपमा चिनिन्छन्।
‘म अध्यक्षकै दाबेदार हुँ। ग्रासरुटको राजनीति गरियो। अब मूल नेतृत्व सम्हाल्न सबैतिरबाट दबाब आइरहेको छ’, पौडेलले हिमाल प्रेससँग भने। उनलाई वर्तमान अध्यक्ष समिक बडाल र पूर्वअध्यक्ष ऐन महरको निकटको समेत समर्थन रहेको नेताहरू सुनाउँछन्।
अध्यक्षका अर्का दाबेदार डा. सुजन कडरिया संगठनभित्र बौद्धिक र स्पष्ट नेताका रूपमा चिनिन्छन्। उनी एसएलसी र उच्च माध्यमिक तहमा विशिष्टीकृत नतिजा ल्याएर उत्तीर्ण भएका हुन्। २०६७ सालमा जिल्ला कमिटीमार्फत भूगोलको राजनीति सुरु गरेका हुन्।
नवीना लामा अध्यक्ष रहँदा कडरिया काठमाडौँ विश्वविद्यालयमा अनेरास्ववियुको विद्यार्थी कल्याण परिषद्को संस्थापक अध्यक्षसमेत रहेका थिए। महाराजगन्ज मेडिकल क्याम्पसको इन्चार्ज भइसकेका उनी यसअघि लोकप्रिय मत ल्याउँदै सचिव जितेका थिए।
‘म स्वाभाविक रूपमा अध्यक्षको दाबेदार हुँ। अखिललाई रचनात्मक साथै फरक ढंगबाट चलाउन मेरो उम्मेदवारी आवश्यक छ’, कडरिया भन्छन्। उनलाई अखिलभित्र महासचिव नरेश रोकाय समूहको समर्थन रहेको नेताहरूको दाबी छ।
अखिल अध्यक्षका अर्का प्रत्यासी हुन्, दीपक धामी। सुदूरपश्चिमका धामी पनि मेडिकल क्षेत्रका विद्यार्थी हुन्। उनीसँग लामो समय अखिलको केन्द्रीय राजनीतिमा काम गरेको अनुभव छ।
नवीना लामाकै कार्यकालमा केन्द्रीय सदस्य बनेका उनी सुनिता बराल अध्यक्ष बन्दा स्थायी कमिटी सदस्य थिए। हाल सचिव साथै सुदूरपश्चिम क्षेत्रका इन्चार्जसमेत हुन्। यसअघि एमालेको १० औँ महाधिवेशनमा कम उमेरमा महाधिवेशन प्रतिनिधि बनेका थिए। स्तूपा कलेजको दुई कार्यकाल स्ववियु सभापति रहेका उनी एचए हुन्।
सुदूरपश्चिम क्षेत्रमा नेतृत्वको ‘विसम परिस्थिति’ आएका बेला दीपकलाई अध्यक्ष बनाउनुपर्ने दबाब पनि उस्तै छ। पार्टी नेतृत्वमा समेत दीपकलाई अघि बढाएर सुदूरपश्चिममा सकारात्मक सन्देश दिनुपर्ने दबाब बढेको नेताहरूको भनाइ छ। ‘म फरक ढंगबाट संगठन चलाउन चाहन्छु। अखिललाई नयाँ रूप दिन म अध्यक्षको दाबेदार हुँ’, दीपक भन्छन्। उनलाई सुदूरपश्चिमबाट नेतृत्व गर्ने केन्द्रीय नेता साथै महासचिव रोकायको समेत समर्थन छ।
यी हुन् अन्य पदाधिकारीका दाबेदार
अखिलको विधानअनुसार केन्द्रीय पदाधिकारीमा उम्मेदवार हुन केन्द्रीय कमिटीमा बसी दुई कार्यकाल काम गरेको, सचिवालय वा स्थायी कमिटीमा एक कार्यकाल काम गरेको हुनुपर्छ।
यसका साथै केन्द्रीय आयोगको अध्यक्ष, सचिव भई एक कार्यकाल पूरा गरेको वा प्रदेश कमिटीको अध्यक्ष भइ एक कार्यकाल काम गरेको हुनुपर्ने प्रावधान छन्। उमेर हद लागेसँगै हालका स्थायी कमिटी र केन्द्रीय सदस्यहरू दाबेदार हुन्।
केन्द्रीय पदाधिकारी (अध्यक्षबाहेक छात्रातर्फ) को दाबेदारमा रेखा थापा, सुजिता धिताल, स्मृति बराल, गीता महर, मुना तिवारी, प्रियंका भण्डारी, भीमा बीसी, रक्षा बम, प्रेमिका राज्य शाह, शारदा आचार्य, रूपा कठायत, भवानी बजगाईं, नीला कुलुङ, धर्मशिला रोकाय छन्। हालका केन्द्रीय पदाधिकारीमध्ये महासचिवका दाबेदार कमल जोशी र विकास श्रेष्ठ हुन्।
स्थायी कमिटीबाट आरके रोमन्स खतिवडा, कमल पौडेल, गोपाल नेपाल, समीमबाबु खाँन, सुजन बानियाँ, हिक्मतजंग खड्का, रोहित बम, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी, मिलन घिमिरेसमेत पदाधिकारीका दाबेदार हुन्।