कास्कीमा एसईईमा ८३ प्रतिशत उत्तीर्ण, यसरी सुधारियो नतिजा

विजय नेपाल १४ असार २०८२ २१:१६ | Saturday, June 28, 2025
कास्कीमा एसईईमा ८३ प्रतिशत उत्तीर्ण, यसरी सुधारियो नतिजा

पोखरा– माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कास्कीबाट करिब ८३ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन्।

गत वर्ष चैतमा सञ्चालित परीक्षाको राष्ट्रिय परीक्षा बोर्डद्वारा शुक्रबार प्रकाशित नतिजामा ८२.५५ प्रतिशत विद्यार्थी ग्रेडेड भएको जिल्ला विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले जानकारी दिए।

यो नतिजा अहिलेसम्मकै उत्कृष्ट हो। यसअघि, सबैभन्दा धेरै गत वर्ष ७१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। उक्त रेकर्ड यसपालि सुधारिएर आएको हो। त्यसो त जिल्लाको नतिजा समग्र देशकै नतिजामा पनि उल्लेख्य सुधार भएको आचार्य बताउँछन्। निजीबाहेक गाउँगाउँका सामुदायिक विद्यालयले पनि राम्रो नतिजा ल्याएका छन्।

पालिकातर्फ माछापुच्छे«बाट ८३, अन्नपूर्णबाट ८१, पोखरा महानगरपालिकाबाट ८२, रुपाबाट ६४ र मादीबाट ७४ प्रतिशत उत्तीर्ण भएका छन्।

कास्कीमा सामुदायिकतर्फ ४ हजार १७३ र संस्थागततर्फ ५ हजार ६१३ जना विद्यार्थी परीक्षामा सम्मिलित भएका थिए। सामुदायिकतर्फ ७१.५० प्रतिशत र संस्थागत ९०.७७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन्। नियमिततर्फ ९ हजार ७८६ विद्यार्थीमा १ हजार ७०७ मात्र र प्राविधिक धारतर्फ १८२ जनामा २२ जनामात्र अनुत्तीर्ण भएका हुन्।

राष्ट्रिय नतिजा ६१ प्रतिशत हुँदा कास्कीबाट ८३ प्रतिशत उत्तीर्ण हुनु खुसीको विषय भएको आचार्यको भनाइ छ। उनका अनुसार कास्कीका सामुदायिककै ७१ प्रतिशत रिजल्ट छ।

नतिजामा कुल ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् कक्षा ११ मा भर्नाका लागि योग्य भएका छन्। देशभरको नतिजामा गत वर्ष ४७.८६ प्रतिशत विद्यार्थीमात्र ग्रेडेड भएकोमा यसपटक १३.९५ प्रतिशतले नतिजा सुधारिएको हो।

६५ जनाको ४ जीपीए

यसपालि कास्कीबाट ६५ जना विद्यार्थीले सर्वोत्कृष्ट ४.० जीपीए ल्याउन सफल भएका छन्। यो भनेको देशका ७७ जिल्लामा कास्की चौथोमा पर्दछ।
मदरल्याण्ड मावि, मासबार, पोखराबाट सबैभन्दा धेरै ११ जना विद्यार्थीको ४.० जीपीए ल्याए। गत वर्ष पनि मदरल्याण्डबाट अघिल्लो वर्ष १० विद्यार्थीको ४.० जीपीए आएको थियो। एउटै विद्यालयबाट सबैभन्दा धेरै ४.० जीपीए ल्याउने विद्यार्थीमा मदरल्याण्ड नेपालमै पहिलो थियो।

यसपालि कास्कीका १८ सामुदायिक र ४७ संस्थागत विद्यालयका विद्यार्थीको ४.० जीपीए आएको हो। तीमध्ये पोखरा महानगरपालिकाका ६४ र अन्नपूर्ण गाउँपालिका (मर्निङ स्टार मावि) बाट १ जनाको ४.० जीपीए आएको छ।

कास्कीमा सामुदायिकबाट ८ विद्यालयका १८ जनाले र संस्थागत २२ विद्यालयका ४७ जनाले ४.० जीपीए ल्याएका हुन्। सामुदायिक विद्यालयमध्ये अमरसिंहबाट ५ जना, भद्रकाली र जनप्रिय माविबाट ४/४ जनाको ४.० जीपीए आएको छ।

शिशु निकेतन र फिस्टेलका ४/४ जनाको ४.० जीपीए आएको छ। गण्डकी बोर्डिङ, डायमण्ड, बालोदय, कास्की मोर्डनाइज्ड, भाष्कर मेमोरियल, विद्या निकेतन, हिमालयन, शान्ति निकेतन, बड्स एजुकेशनबाट २/२ जना तथा बाटुलेचौरको विन्ध्यवासिनी, छोरेपाटन, जनचेतन मावि, गोगन, बाल मन्दिर, ज्योतिकुञ्ज, प्रतिभा, कुमुदिनी, टप्स, सिर्जना, रेन्बो एकेडेमी, सगरमाथा निकेतन, स्नो भ्यू, लाविन रेसिडेनसियाल र मर्निङ स्टारबाट १÷१ जनाको ४.० जीपीए आएको छ।

जिल्लागत हेर्दा काठमाडौँले सबैभन्दा धेरै ४.० जीपीए ल्याएको छ भने दोस्रोमा ललितपुर र तेस्रो रुपन्देही हो। रुपन्देहीबाट शान्ति नमुना माविका १८ जनासहित ८२ जनाले ४.० जिपिए ल्याएका हुन्।

देशभर ४८ हजार १७७ जनाले ३.६० देखि ४.० जिपिए ल्याएका छन्। पोहोर ४७.८६ प्रतिशतमात्रै उत्तीर्ण भएकामा यसपालि त्यो प्रतिशत बढेर ६१.८१ प्रतिशत पुगेको छ। यसपटक १३.९५ प्रतिशतले नतिजा सुधारिएको हो। पहिले सबैजना पास हुने प्रणाली फेर्दै यसपालिदेखि एनजी सुरु भएको हो।

कास्कीको नतिजा सुधार हुनुमा पढ्ने संस्कृतिको विकास हुनु प्रमुख कारण रहेको पाइन्छ।

‘शिक्षक, विद्यार्थीको पनि मेहनत देखियो। सामुदायिक विद्यालय कमजोर भएको भनिरहेको बेला सामुदायिकले राम्रो नगरी हुँदैन भन्ने भावना विकास भयो, अर्कोतिर पालिकाहरुले पनि एसइई मिसन बनाए,’ शिक्षा विकास समन्वय इकाइ कास्की प्रमुख आचार्य भन्छन्, ‘कम्तीमा पनि ७० प्रतिशत उत्तीर्ण गराउने लक्ष्यका साथ अतिरिक्त कक्षा चलाएका थिए। त्यसरी पनि कास्कीको नतिजा उत्कृष्ट भएको हो।’

गत चैतमा संचालित परीक्षामा कास्कीमा ३६ परीक्षा केन्द्र तय गरिएको थियो।

प्रकाशित: १४ असार २०८२ २१:१६ | Saturday, June 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast