काठमाडाैँ- फिल्म ‘जन्ते बाख्रो’ ले दर्शककाे ग्रामीण जीवनलाई स्मरण गराउने अभिनेता सौगात मल्लले बताएका छन्। फिल्मको कथा पनि विवाहमा जन्ती पक्षलाई खुवाइने भोजको कथामा आधारित छ।
आफू गाउँमा हुँदा भोज भतेरमा सहभागी जनाएको किस्सा सुनाउँदै उनले भने, ‘गाउँमा हुँदा यस्ता भोज भतेरमा काम गर्न पुगिन्थ्यो। त्यहाँ गाउँले मिलेर नै विवाह लगायत अन्य गतिविधिमा सघाउने प्रचलन छ। म सहितको एउटा साथीको टिमले यस्ता विवाहमा धेरै पटक भोज तयार गरेका छौँ। यो प्रक्रियामा गाउँमा रहेका सबै सहभागी हुनुभएको छ’, उनले भने।
अभिनेता सौगात मल्लले फिल्म ‘जन्ते बाख्रो’ मा आफ्नो क्यारेक्टरलाई बुझ्न र त्यसलाई निर्माण गर्न मौकासमेत पाएको बताए। समय मिलेसम्म आफूले क्यारेक्टरलाई नयाँ गर्न सक्ने उनको दाबी छ।
‘एउटा फिल्ममा काम गरिसकेपछि समय मिलेसम्म भने म नयाँ क्यारेक्टर निर्माण गर्न सक्छु। एउटामा काम गरिरहँदा लगत्तै अर्कोमा काम गर्न सहज हुँदैन। ‘जन्ते बाख्रो’ मा मैले आफ्नो क्यारेक्टरलाई बुझ्न र त्यसलाई निर्माण गर्ने मौका पाएँ। लेखकसँग छलफल गरेर क्यारेक्टरलाई निर्माण गर्न पाएकाले यो फरक देखिएको छ’, अभिनेता मल्लले भने।
फिल्मले परम्पराका विषयमा जानकारी दिँदै मनोरञ्जन दिने उनको बुझाइ छ। उनका अनुसार ‘जन्ते बाख्रो’ दुई प्रकारको हुन्छ। एउटा जन्तीलाई बेहुली पक्षले बाटोमा खान दिएको हुन्छ भने अर्को बेहुली भित्र्याएपछि हुने भतेर (भोज) मा खाइन्छ। फिल्मको कथालाई यसै प्रसंगसँग जोडेर तयार गरिएको अभिनेता मल्लले बताए ।
‘पछिल्लो समय ‘जन्ते बाख्रो’ खुवाउने प्रचलन ‘पार्टी प्यालेस’ले बदलेको छ,’ अभिनेता मल्ले भने, ‘फिल्मले हाम्रो परम्परा र संस्कृतिलाई प्रस्तुत गरेको छ, जहाँ रमाइलो र आत्मीयता भेटिन्छन्।’
उनको पात्रले भोग्ने कथा र परिवेशले आफूलाई तयार गर्ने गरेको उनले बताए। कुनै पात्रको कथामा अभिनय गरिहँदा उनी व्यक्तिगत भोगाई पनि मिसाउँछन्। निर्देशकको कामले भन्दा हरेक कामको छुट्टै प्रतिफल आउने उनले बुझेका छन्।

‘मलाई निर्देशकको पछिल्लो काम भन्दा पनि उसले म कहाँ ल्याएको विषय र त्यसको प्रस्तुतीकरणले आकर्षण गर्छ। पछिल्लो काम बिग्रिएको छ भने आउँदो काम राम्रो गर्न सक्दैन भन्ने मलाई लाग्दैन। विश्वभर आशा नगरिएका निर्देशक, अभिनेताले पनि गज्जब काम गरेका छन्। म कहाँ प्रस्ताव आएका फिल्मबाट नै मैले छनोट गर्ने हो। कहिलेकाहीँ फलानो फिल्म किन नगरेको भन्ने पनि सुन्छु तर, म कहाँ आएका र मलाई राम्रो बन्छ भने’, अभिनेता मल्लले भने।
अभिनेता मल्लले फिल्मका अन्य कलाकारसँग काम गर्न सहज भएको बताए। फिल्ममा अभिनेता मल्लसँगै आशिफ शाह, गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय छ।
भुइँमा लस्करै बसेर जन्तीलाई टपरी र दुनामा भोज खुवाउने परम्परा अहिले गाउँघरबाट हराउँदै गएको छ। ग्रामीण क्षेत्रको यिनै मौलिक चलनलाई समेटेर फिल्म तयार गरिएको निर्माण पक्षले बताएको छ।
सन्तोष गौतमले निर्माण गरेको फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन्। सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्म यही जेठ २३ (भाेलि) देखि हलमा लाग्नेछ।





