टिम्मुरबोटेको नाम उच्चारण गर्दा राष्ट्रपति पौडेलको गला अवरुद्ध

हिमाल प्रेस ११ चैत २०८१ १४:१३
50
SHARES
टिम्मुरबोटेको नाम उच्चारण गर्दा राष्ट्रपति पौडेलको गला अवरुद्ध सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सोमबार सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर सौजन्य : शीतल निवास

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र रैती दुनियाँबाट सार्वभौम नागरिक हुन नेपाली जनताले रगतसँग साटेको उपलब्धि भएको भन्दै शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई यही व्यवस्थाले दिएको बताएका छन्।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सोमबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिक आफ्नो सार्वभौमसत्ताको आफैँ मालिक हुने व्यवस्था भएको बताएका हुन्। उनले भने, ‘शासन व्यवस्था सुदृढ बनाउन र यही व्यवस्थाबाट नेपाली जनताको भाग्य र भविष्य सुनिश्चित छ भन्ने महसुस गराउनुपर्ने दायित्व सरकार, राजनीतिक दललगायत हामी सबैको हो।’

उनले स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएको बताउँदै नेपाली जनतालाई आफूले बनाएको संविधानबाहिरका कुनै पनि निरंकुशता र अराजकता स्वीकार्य नहुने स्पष्ट पारे। राष्ट्रपति पौडेलले भने, ‘इतिहास साक्षी छ- १०४ वर्षीय जहानिया राणाशासन होस् कि ३० वर्षे पञ्चायत वा सक्रिय राजतन्त्र नेपाली जनताले कुनै पनि निरंकुशताका नाम र अवशेषलाई रुचाएनन्। संघीय लोकतान्त्रिक गणतन्त्र हामीले त्यसै प्राप्त गरेका होइनौँ। यो हजारौँको त्याग, संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि हो।’

राष्ट्रपति पौडेलले आफू सभामुख हुँदा यस क्षेत्रको पैदल यात्रा गरेर  र जनतासँग साक्षात्कार गरेको स्मरण गरे। उनले भावविह्वल हुँदै सोही क्षेत्र नजिकै रहेको टिम्मुरबोटेको ओडारमा रुझ्दै र भिज्दै पुगेको बताए। टिम्मुरबोटेको नाम उच्चारण गर्दा राष्ट्रपति पौडेलको गला अवरुद्ध भएको थियो। टिम्मुरबोटे नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा २०४१ सालमा पञ्चायती सरकारले दर्जनभन्दा माथि योद्धाको हत्याको गरेको स्थान हो।

राष्ट्रपति पौडेलले देशको युवा जनशक्ति विदेश पलायन हुने प्रवृत्ति रोक्न जरुरी रहेको उल्लेख गर्दै यसका लागि उचित शिक्षा, स्वास्थ्यको प्रबन्ध, उद्योगधन्दाको विकास, उत्पादनमा वृद्धि, चुस्तदुरुस्त सेवा प्रवाह, गाउँंमै रोजगारी र आम्दानीको व्यवस्थाका लागि जनता केन्द्रित नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्नुपर्ने बताए। उनले विगतमा भएका कमजोरीबाट पाठ सिकेर अघि बढ्दै समृद्ध राष्ट्र निर्माण अभियानमा जुट्न सम्बद्ध सबैमा अपिल गरे।

राष्ट्रपति पौडेलले संघीयता कार्यान्वयनका लागि तीन तहको सरकार मुलुकमा क्रियाशील भएको भन्दै जनताको ठूलो संघर्ष, त्याग र बलिदानले हामीले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याएको बताए।

उनले भने, ‘यसलाई सार्थक बनाउन संविधानको मर्म र भावनाअनुसार जनताको आवश्यकतामा जिम्मेवार ढंगले काम गर्न स्थानीय सरकार अझ बढी क्रियाशील हुनुपर्छ भन्ने म ठान्दछु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast