बेलायती राजकुमार दम्पतीसँग ब्रिटिस गोर्खाका नौजवान

विजय नेपाल २५ माघ २०८१ २१:३०
14
SHARES
बेलायती राजकुमार दम्पतीसँग ब्रिटिस गोर्खाका नौजवान

पोखरा- नेपाल भ्रमणका क्रममा रहेका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफी दम्पती यतिखेर पर्यटनको राजधानी पोखरामा छन्। बिहीबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका उनीहरु ब्रिटिस गोर्खामा भर्ती भएका नवप्रवेशी नौजवानसामु शुक्रबार देखा परे।

पोखरा-१६, दीपस्थित ब्रिटिस क्याम्पमा आयोजित समारोहमा एक्कासि बेलायती राजकुमार दम्पती आँखै अगाडि पाएपछि नयाँ भर्ती भएका २ सय ७४ जना युवा तथा तिनका परिवारका सदस्यले हर्षका आँसु बगाए। उनीहरूले आफ्ना छोरा–नातिलाई बेलायत सरकारको जिम्मा लगाएको भन्दै भविष्य सुनिश्चित हुनेमा उस्तै आशातीत पनि बने।

सबै जनाको अभिवादन फर्काउँदै बेलायत राजकुमार दम्पतीले पनि हजारौं प्रतिस्पर्धाको बीचमा भर्तीमा छानिनु उपलब्धि भएको बताउँदै गर्व महसुस गर्न नेपालीलाई आग्रह गरे। यस वर्ष कुल १३ हजार जनाभन्दा बढी युवाले भर्तीका लागि प्रतिस्पर्धा गरेका थिए। तीमध्ये २ सय ७४ जना छानिएका हुन्।

ब्रिटिस गोर्खा भर्तीका लागि छानिएका उनीहरूलाई बेलायती राजकुमार दम्पतीसामु बेलायती राजा चार्ल्स तृतीयप्रति सधैँ इमानदार, वफादार र कर्तव्यनिष्ट रही काम गर्ने शपथसहित औपचारिकरूपमा प्रवेश गराइएको हो। सो क्रममा उनीहरूले परेड प्रस्तुत गरे। बेलायती अधिराजकुमार एड्वर्ड र अधिराजकुमारी सोफीले वार्षिक प्रमाणीकरण परेड अवलोकनसँगै तिनका परिवारजनलाई प्रत्यक्ष भेटी विभिन्न कुराको जानकारी लिएका थिए।

सोक्रममा बेलायती राजदूत रोब फेन, गोर्खा ब्रिगेडका कर्नल कमान्डेन्ट मेजर जनरल स्ट्रिकल्याण्ड डीएसओ एमबीइलगायत सरिक थिए। सफल हुने २ सय ७४ प्रशिक्षार्थी १ वर्षको छनोट प्रक्रियापछि गोर्खा भर्तीमा सामेल हुनेछन्। उनीहरूले बेलायतको क्याटरिकस्थित सैन्य प्रशिक्षण केन्द्र (आईटीसी) पुगी ९ महिने प्रशिक्षणमा सहभागी हुने जनाइएको छ।

यस्तै ३८ राज्याभिषेक पदक र दुई दीर्घसेवा तथा असल आचरण पदक पनि प्रदान गरिएको थियो। गोर्खा वेल्फेयर ट्रस्ट (जीडब्लुटी) एरिया वेल्फेयर केन्द्र (एडब्लुसी) मार्फत बेलायती सेनामा काम गरेकालाई नेपालमा कसरी साथ सहयोग उपलब्ध गराइएको छ भन्नेबारे पनि राजकुमार दम्पतीले अवलोकन गरे।

जीडब्लुटीको आवासीय गृहले सबैभन्दा कमजोर अवस्थामा रहेका २० जना भूतपूर्व गोर्खा सैनिक तथा उनीहरूका विधवालाई आवास र अन्य सहयोग उपलब्ध गराउँदै आएको छ। बेलायती राजकुमार दम्पती कास्कीका विभिन्न पर्यटकीय क्षेत्र घुमेर आइतबारमात्र फर्किने कार्यतालिका छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार उनीहरु यतिखेर गाउँको भ्रमणमा छन्। उनले अगाडि भने, ‘उहाँहरुको औपचारिक भ्रमण हैन। व्यक्तिगत तवरले आउनुभएको हो। तैपनि हामीले सुरक्षा प्रदान गरिदिएका छौं। सुरक्षाको व्यवस्थापन सबै नेपाली सेनाले हेरिरहेको छ।’

सुरक्षा स्रोतका अनुसार राजकुमार दम्पती शुक्रबार लुम्लेबाट हाइकिङ गरी चन्द्रकोटमा बास बसेका छन्। उनीहरू शनिबार पर्यटकीय गाउँ घान्द्रुक पुग्ने छन्। बिहीबार टाइगर माउण्टेन लज बसेका थिए।

नेपाल-बेलायतबीच २०० वर्ष पुरानो सम्बन्ध छ। नेपालबाट बर्सेनि ब्रिटिस गोर्खामा भर्ती हुन लालायित हजारौं नेपाली युवाले कठिन परिश्रम गरिरहेका हुन्छन्।

बेलायतका राजपरिवारका सदस्यहरूबाट विभिन्न समयमा नेपाल भ्रमणसमेत हुँदै आएको छ। यसले दुई देशबीच सुमधुर सम्बन्धमा मजबुत पार्न योगदान दिएको पाइन्छ।

महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको थियो। राजा चार्ल्सका कान्छा भाइ राजकुमार एडवार्ड हुन्।

प्रकाशित: २५ माघ २०८१ २१:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast