कांग्रेसको प्रशिक्षणले देशभर सकारात्मक सन्देश गएको दाबी

हिमाल प्रेस २३ माघ २०८१ १९:४६
10
SHARES
कांग्रेसको प्रशिक्षणले देशभर सकारात्मक सन्देश गएको दाबी

पोखरा– नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा पोखरामा ७७ जिल्लाका काँग्रेस जिल्ला सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कांग्रेस गण्डकी प्रदेशको व्यवस्थापनमा दुईदिनसम्म चलेको अभिमुखीकरणको उद्घाटन पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए।

बुधबार समापन गर्दै प्रशिक्षण विभाग प्रमुख पूर्णबहादुर खड्काले प्रशिक्षणपछि अब नयाँ संकल्प, आत्मविश्वास, उत्साह, दृढताका साथ पार्टीलाई अघि बढाउन कार्यकर्तामाझ जानुपर्ने सुझाव दिए। अब प्रदेश, जिल्ला तहमा प्रशिक्षणका लागि यो प्रशिक्षणले देशभर सकारात्मक सन्देश गएको उनले उल्लेख गरे।

उनले कांग्रेसको विधान संशोधनका लागि आएका विभिन्न सुझावले पार्टीलाई बल पुगेको उल्लेख गरे। खड्काले भने, ‘प्रशिक्षणमा प्राप्त सुझाव सम्पत्तिको रुपमा राखिएको छ। भोलिका दिनमा टिकट प्रणालीसमेत पारदर्शी बनाउन सहज हुनेछ।’

उनले मुलुकको स्थायित्व, समृद्धि र विकासका लागि एमाले–कांग्रेसबीच सत्तागठबन्धन गर्नुपरेको प्रस्ट पारे। उनले काँग्रेस जिम्मेवार पार्टी भएको र पार्टीको काँधमा जिम्मेवारी आएकाले अहिले नै एमालेसँग मिलेर सरकार बनाउनुपरेको उनले बताए।

एमालेसँग गठबन्धनको बेलामा नै संविधान संशोधनको सहमति भएको स्मराण् गर्दै उनले संविधान संशोधनका लागि कार्यदलले काम थालेपछि संसदमा रहेका सांसद, नागरिक समाजसँग जाने र त्यसको नेतृत्व कांग्रेसले नै गर्ने खड्काको भनाइ थियो।

गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता रमेश लेखकले सरकारलाई स्थायित्व दिनका लागि ठूला दुई दल मिल्नुपरेको बताए। उनले एकातर्फ मुलुकको राजनीतिलाई स्थायित्व दिनुपरेको र अर्कोतर्फ प्रतिस्पर्धा र सहकार्यमा जानुपरेको प्रस्ट पारे।

लेखकले भने, ‘प्रतिस्पर्धासँगै सहकार्य दुवै कार्य जटिल हो तर हामीहरुले व्यवस्थित रुपमा अगाडि बढाएका छौँ।’

उनले हालसम्म सरकारको नेतृत्व गरिरहेको एमालेसँग कुनै पनि असन्तुष्टि नरहेको बताए। पछिल्ला अध्यादेशले उद्योगी र व्यवसायीसमेत उत्साहित भएको उल्लेख गर्दै उनले स्थायित्व, विकास, आर्थिक समृद्धि र शान्तिका लागि सत्तागठबन्धन गरिएको र यो सन्देश लिएर गाउँगाउँ जानुपर्ने बताए।

पार्टी महामन्त्री गगनकुमार थापाले पार्टीको कार्यक्रममा सबैलाई आमन्त्रित गरिएको बताए। उनले प्रशिक्षण विभागले कार्यक्रम आयोजना गरेको हो भन्दै यसलाई सहजरुपमा लिन आग्रह गरे।

कांग्रेस कास्कीका उपसभापति एवं जिल्लाका प्रशिक्षण विभाग प्रमुख युवराज कुँवरले प्रशिक्षणले संगठनलाई बलियो बनाएको प्रतिक्रिया दिए। भाृतसंगठनका अधिवेशन समयमै नहुँदा गुटको सिर्जना भएकाले चाँडै अधिवेशन गर्न माग गरे।

यसैबीच, कांग्रेसले ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका–०८१’ तयार गरेको छ। जनप्रतिनिधि भ्रष्टाचार र अनियमिततामा संलग्न भएको आरोप लाग्दै गएपछि सरकारमा रहेको पार्टी नेपाली कांगेसको तर्फबाट तीनै तहमा निर्वाचित जनप्रतिनिधिहरूको कार्यसम्पादन थप प्रभावकारी बनाउन यो निर्देशिका बनाइएको हो।

निर्देशिकाले जनप्रतिनिधिलाई आमनागरिकको भावना सम्बोधन गर्दै ऊर्जाका साथ कार्य गरेर तोकिएको जिम्मेवारी सम्पादनमा सघाउने विश्वास कांग्रेसले लिएको पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले व्यक्त गरे।

महामन्त्री शर्माले पेस गरेको ‘महासमिति पछिको राजनीतिक परिस्थिति र समसामयिक सन्दर्भ’ विषयक कार्यपत्रमा निर्देशिकाबारे जानकारी गराइएको छ। कार्यपत्रमा भनिएको छ, ‘नेपाली कांग्रेसका तर्फबाट संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्नु हुने साथीहरूले आफ्नो योग्यता र क्षमताले सम्भव कार्यसम्पादन गर्दै आउनु भएको छ। आगामी दिनमा अझ प्रभावकारी भूमिका निभाउन सहज होस् भन्ने उद्देश्यले ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका–०८१’ निर्माण गरिएको छ।’

पार्टी केन्द्रीय कार्यसमिति बैठकले पारित गरेपछि निर्देशिका कार्यान्वयनमा जानेछ।
अभिमुखीकरणमा पार्टीको ७७ वटै जिल्लाका सभापति, जिल्लाका प्रशिक्षण शाखा प्रमुख तथा उपसभापति गरी करिब २ सय जनाले भाग लिएका थिए।

यो कार्यक्रअघि सोमबार कांग्रेसका प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभाग प्रमुखका लागि संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरणसमेत भएको थियो।

प्रकाशित: २३ माघ २०८१ १९:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast