फाइल तस्बिर : सिन्हवा
                                            काठमाडौँ – इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबनानी समूह हिजबुल्लाहलाई युद्धविरामका सर्तहरू पूरा नगरेको आरोप लगाएका छन्। उनले लडाकूहरूले सम्झौता उल्लंघन गरिरहे इजरायल ‘कारबाही गर्न बाध्य हुने’ चेतावनीसमेत दिएका छन्।
काट्जले सेनाको उत्तरी कमान्डको भ्रमण गरेपछि यस्तो चेतावनी दिएका हुन्। हिजबुल्लाह प्रमुख नइम कासिमले शनिबार इजरायलविरुद्ध यस्तै आरोप लगाएपछि यस्तो चेतावनी आएको हो।
काट्जले युद्धविराम सम्झौतामा उल्लेख गरिएअनुसार हिजबुल्लाहले अझै पनि दक्षिणी लेबनानमा ‘लिटानी नदीपारि’ फिर्ता नभएको बताए।
‘यदि यो शर्त पूरा भएन भने कुनै सम्झौता हुनेछैन र इजरायल उत्तरका बासिन्दाहरूको सुरक्षित घर फिर्तीको सुनिश्चितताका लागि आफैँ कारबाही गर्न बाध्य हुनेछ,’ उनले भने।
‘अन्य प्रावधानहरू कार्यान्वयन गरिएका छैनन्, जस्तै सबै (हिजबुल्लाह) हतियारहरू ध्वस्त पार्नु र लेबनानी सेनाले यस क्षेत्रमा आतंकवादी पूर्वाधारहरूलाई विफल पार्नु’, काट्जले आफ्नो कार्यालयबाट जारी विज्ञप्तिमा भनेका छन्, ‘हामी उत्तरी समुदाय र इजरायल राज्यका नागरिकहरूका लागि नयाँ खतरा सिर्जना गर्न दिनेछैनौँ।’
कासिमले शनिबार इजरायलमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै समूह दक्षिणी लेबनानबाट इजरायललाई हट्नका लागि दिइएको ६० दिने समयसीमा समाप्त हुनुअघि नै जवाफी कारबाही गर्न तयार रहेको बताएका थिए।
‘हामीले इजरायली उल्लंघनहरू रोक्न र सम्झौता कार्यान्वयन गर्न अवसर दिइरहेका छौँ र हामी धैर्य गर्नेछौँ भनेर हामीले भनेका छौँ,’ कासिमले भने।
इजरायल र हिजबुल्लाहबीच दुई महिनाको पूर्ण युद्धपछि नोभेम्बर २७ मा लागू भएको युद्धविराममा दुवै पक्षबाट उल्लंघनका आरोपहरू लगाइएको छ।
युद्धविरामका सर्तहरू अन्तर्गत इजरायली सेनाले ६० दिनको अवधिमा फिर्ता हुँदा लेबनानी सेना दक्षिणमा संयुक्त राष्ट्रसंघका शान्तिरक्षकहरूसँग तैनाथ हुनुपर्नेछ।
हिजबुल्लाहले सीमाबाट करिब ३० किलोमिटर (२० माइल) टाढा रहेको लिटानी नदीको उत्तरमा आफ्नो सेना फिर्ता लिनेछ र दक्षिणमा बाँकी रहेको कुनै पनि सैन्य पूर्वाधार विघटन गर्नुपर्नेछ।
इजरायली, लेबनानी, फ्रान्सेली र अमेरिकी प्रतिनिधिहरू मिलेर बनेको एक समितिसँग संयुक्त राष्ट्र शान्तिसेना (युनिफिल) का प्रतिनिधिलाई कुनै पनि युद्धविराम उल्लंघनको पहिचान र व्यवहार सुनिश्चित गर्ने जिम्मेबारी दिइएको छ।
संयुक्त राष्ट्रसंघको शान्ति सेनाले पनि इजरायललाई बारम्बार युद्धविरामको शर्त उल्लंघन गरेको आरोप लगाएको छ।–रासस

                                             
                                             
                                             
                                             
                                             
                                             

