जंगली हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीमा मानवीय क्षति बढ्यो

हिमाल प्रेस १७ पुष २०८१ १२:५९
10
SHARES
जंगली हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीमा मानवीय क्षति बढ्यो फाइल तस्बिर।

मोरङ- सुन्दरहरैँचा-५ गुरुङ टोल बस्ने ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको जंगली हात्तीको आक्रमणबाट निधन भएको छ।

उनी नमूना सामुदायिक वनमा ज्यालादारी रूपमा काम गर्थिन्। वनबाट दाउरा काटेर घर फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी प्रमुख कृष्ण खत्रीले जानकारी दिए। वनमा दाउरा काट्न गएका लिम्बू साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा जंगली मृत फेला परेकी उनले बताए।

नमूना सामुदायिक वनमा एक दर्जनभन्दा बढी जंगली हात्ती रहेको जनाउँदै स्थानीय रातभर त्रासमा बस्ने बाध्यता रहेको सुन्दरहरैँचा–५ का वडाध्यक्ष गणेश चौधरीले बताए। उनले हात्तीको त्रासका कारण स्थानीय रातभर जाग्राम बस्न बाध्य रहेका उल्लेख गरे।

दुई साताअघि सुन्दरहरैँचा नगरपालिका–७ स्थित सृजना सामुदायिक वनमा दाउरा खोज्न गएको बेला ४० वर्षीया गंगा श्रेष्ठको हात्तीको आक्रमणबाट निधन भएको थियो। पालिकामा जंगली हात्तीको आक्रमणबाट विभिन्न समयमा मानवीय क्षति हुने गरेको छ।

कोशी प्रदेशका झापा, मोरङ र सुनसरीलगायत जिल्लामा जंगली हात्तीले मानिसमाथि आक्रमण गर्ने, अन्नबाली नष्ट गर्ने तथा घर भत्काउने गर्दै आएको डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए। उनले मोरङमा एक वर्षमा तीनवटा जंगली हात्ती मृत फेला परेका बताए।

जंगली हात्तीको बथानले झापा, मोरङ र सुनसरीलगायत जिल्लामा उपद्रो मच्चाइरहेकाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सबैभन्दा बढी झापा र मोरङमा मानवीय एवं भौतिक क्षति गरेको प्रहरीको भनाइ छ। पछिल्लो समय मोरङको बेलबारी र सुन्दरहरैँचामा दैनिकजसो हात्तीको हुल देखिने गरेको स्थानीय बताउँछन्।

हात्तीले मान्छे मार्नेदेखि लिएर सर्वसाधारणले लगाएका बालीनालीमा क्षति पुर्‍याउने गरिरहेको छ। हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीमा मानवीय क्षति बढेको डिभिजन वन कार्यालयका प्रमुख घिमिरेले बताए।

प्रकाशित: १७ पुष २०८१ १२:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast