जनकपुरधाम- जनकपुरधामको मिल्स एरियास्थित सिद्धार्थ बैंकमा जग्गा लिलामीको विषयमा विवाद हुँदा प्रहरीले शाखा प्रबन्धक र ऋण अधिकृतलाई नियन्त्रणमा लिएको छ। ऋणीले ऋण चुक्ता गर्न तयार रहे पनि बैंकले धितो राखिएको जग्गा लिलाम गरिदिएको विषयमा विवाद भएको हो।
बैंकले धितो राखिएको जग्गा लिलाम गरेर अरूको नाममा पास गरिदिएपछि जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारीसहित स्थानीय प्रदर्शनमा उत्रिएपछि प्रहरीले बैंकका प्रबन्धक अर्ण बलम्पाकी र ऋण अधिकृतलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले भने दुवै जनालाई सुरक्षाको हिसाबले जिल्ला प्रहरी कार्यालयमा ल्याएको बताएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरूणकुमार सिंहले जग्गा लिलामीको विषयमा व्यापारी र स्थानीय प्रदर्शनमा उत्रिएपछि बैंकका प्रबन्धक र ऋण अधिकृतलाई सुरक्षाका लागि कार्यालयमा ल्याएको बताए।
जनकपुरधाम–७ भ्रमरपुरा चोकस्थित लक्ष्मी टे«डर्सका सञ्चालका दिनेश राय कुर्मीले सिद्धार्थ बैंकको मिल्स एरिया शाखाबाट ३५ लाख रूपैयाँ व्यापार ऋण र भाउजुको नाममा क्षिरेश्वरनाथ नगरपालिकास्थित शाखाबाट ४५ लाख ऋण लिएका थिए।
दुवै ऋणको ब्याज समयमै तिर्दै आएको उनको भनाइ छ। पूरै ऋण चुक्ता गर्ने बताए पनि दुवै शाखाका प्रबन्धक मिलेर आफूलाई फसाउन खोजेको रायको दाबी छ।
ऋण चुक्ता गर्नकै लागि दुई सातादेखि बैंक धाइरहे पनि शाखा प्रबन्धक र ऋण अधिकृतले मिलेमतो गरी आफ्नो जग्गा निलाम गरेको उनको भनाइ छ। बैंक प्रबन्धकलाई ऋण चुक्ता गर्न हिसाब देखाइदिन भनेपछि सादा कागजमा देखाएको हिसाब आफूले नमानेको रायले बताएका छन्।
‘सादा कागजको हिसाब मान्दिन् भनेपछि आजको आजै ऋण चुक्ता गर्नुस् नभए जग्गा लिालम गर्छु भनेर प्रबन्धकले धम्काए,’ उनले भने।
पूरै ऋण चुक्ता गर्न आफूले एक साताको समय मागे पनि प्रबन्धकले अरूको नाममा जग्गा पास गरिदिएको रायको भनाइ छ।
बैंकले अरूको नाममा जग्गा पास गरिदिएपछि रायले उद्योग वाणिज्य संघसँग सहयोग मागेका थिए। वाणिज्य संघका अध्यक्षलगायतका पदाधिकारी बैंकमा पुगेर प्रदर्शन गरेपछि प्रहरीले प्रबन्धक र ऋण अधिकृतलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय लागेको हो।