नख्खु करिडोरमा अत्यधिक धुलो र गन्ध, स्थानीयलाई सास्ती

हिमाल प्रेस १५ पुष २०८१ १५:२६ | Monday, December 30, 2024
नख्खु करिडोरमा अत्यधिक धुलो र गन्ध, स्थानीयलाई सास्ती

ललितपुर– ललितपुरको नख्खु करिडोर क्षेत्रमा अत्यधिक धुलो र गन्धका कारण स्थानीयले सास्ती बेहोर्नु परेको छ। असोज १२ गते शनिबार नख्खु खोलामा आएको बाढीका कारण करिडोर भत्किएपछि धुलोको समस्या बढेको हो।

नख्खु करिडोरको धुलो र खोलाबाट निस्केको गन्धले बस्तीलाई नै असर गरेको स्थानीयको दुखेसो छ।

बाढीका कारण नख्खु खोला किनारामा थुप्रिएको धुलो उडेर बस्तीमा पुगेको र धुलो र गन्धले असर गरेको ललिलतपुर महानगरपालिका–४ का स्थानीय मिलन यसमाली मगरले दुखेसो पोखे। ‘दिउँसो हावा चलेको बेला धुलोसँगै खोलाको गन्ध बस्तीमा पस्छ। जाडो समयमा यति धेरै धुलो र गन्धको समस्या छ पछि गर्मी सुरु भए झन् गाह्रो हुने सम्भावना छ,’ उनले भने।

बाढीले क्षति पुर्‍याएको क्षेत्रमा खानेपानी, यातायात र विद्युत्को समस्या हल गरिसकेको र अन्य समस्याहरूको समाधान गर्न ललितपुर महानगरपालिकाले पहल गरिरहेको ललितपुर महानगरपालिका–१३ का वडाअध्यक्ष गणेश केसीको भनाइ छ।

‘नख्खु करिडोरमा टिप्परका कारण बस्तीमा असर परेको छ। टिप्पर हिँड्नका लागि उचित व्यवस्थापन महानगरले गर्न सकेको छैन। टिप्परको कारण धुलोको समस्या झन् बढेको हो,’ उनले भने। नख्खु र भैँसेपाटी जोड्ने नुख्खु खोला पुल र छेउछाउमा धुलोका कारण यात्रुहरूले सास्ती खेप्नु परेको छ। हरेक दिन नख्खु खोला पुल हुँदै भैँसेपाटी पुग्ने गरेका मोटरसाइकल यात्रु वीरेन्द्र तितुङले धुलो र खोलाको गन्धले आफूलाई दिक्क बनाएको बताउँछन्।

‘मेरो छोरी त्यही पुलको बाटो भएर स्कुल जान्छिन्,’ छोरीले धुलो र खोलाबाट निस्केको गन्धले आफूलाई दिक्क पारेको उनले बताए। त्यसैगरी, बाढीले नख्खु करिडोर क्षेत्रमा क्षति पुर्‍याएपछि बाढीपीडितहरूले सरकारबाट पाउनुपर्ने राहत अझै नपाएको स्थानीय विश्वास थापाले बताए।

‘चिसो बढेको छ। बाढीपीडतहरू मुस्किलले बसेका छन्। धुलो र गन्धले बस्तीमा असर गरेको छ। जिम्मेवारी निकायको ध्यान पुग्नुपर्ने हो तर पुगेको छैन। जाडो समयमा यति धेरै धुलो र गन्ध छ, गर्मीयाम सुरू भएपछि दुर्गन्ध र धुलोले विकराल रूप लिने सम्भावना छ,’ उनले भने।

प्रकाशित: १५ पुष २०८१ १५:२६ | Monday, December 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast