सप्तरी- सप्तरीमा दुई दिनको अवधिमा विभिन्न ठाउँबाट ३८ जना फरार अभियुक्त र आरोपितलाई पक्राउ गरिएको छ।
गत कात्तिक १३ गते एकै दिन २४ जनालाई पक्राउ गर्न सफल सप्तरी प्रहरीले आज (मंगलबार) विभिन्न मुद्दाका ३८ जना अभियुक्तलाई पक्राउ गरी दुई वर्ष चार महिना २१ दिन कैद र ७४ हजार चार सय ५० असुल गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमार बस्नेतका अनुसार आज (मंगलबार) बलात्कार घटनाका अभियुक्त सप्तरीको बोदे बरर्साइन नगरपालिका–६ का हृदयलाल यादवलाई पक्राउ गरिएको छ। अदालतबाट उनलाई ६ महिना कैद र पाँच हजार जरिबानाको फैसला भएको जनाइएको छ।
यसै गरी बोक्सीको आरोप लगाएको आरोपमा दुई महिना १९ दिन कैद सजायपश्चात् फरार रहेका सप्तरीको राजविराज नगरपालिका–९ का प्रदीप नुनिया पक्राउ परेका छन्। सप्तरीको सुरुङगा नगरपालिका-३ का जसीलाल चौधरीलाई आत्महत्या दुरुत्साहनको अभियोगमा पक्राउ गरी एक हजार असुल गरिएको प्रनाउ बस्नेतले बताए।
बहुविवाहका फरार अभियुक्त सप्तरीको विष्णुपुर गाउँपालिका–१ का अजय यादव र सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका-१४ का अभिजित मण्डल पनि पक्राउ परेका छन्। अदालतले यादवलाई २८ दिन कैद र १० हजार जरिबाना तथा मण्डललाई १० हजार जरिबानाको फैसला गरेको थियो।
बिगो लेनदेन मुद्दामा फरार रहेका सप्तरीको महदेवा गाउँपालिका-२ का मिस्टर यादवलाई पक्राउ गरिएको छ। उनलाई १० महिना कैद सजायको फैसला भएको छ। यस्तै आठ महिना कैद सजायपछि फरार रहेका अग्निसाइर कृष्णसवरण गाउँपालिका–३ का भगवती भगत पक्राउ परेका छन्। चोरी आरोपमा उनलाई अदालतले आठ महिना कैदका साथै ६ हजार ६ सय ७८ जरिबाना गरेको छ। चोरी आरोपमा सप्तरीको मलेठ-७ का झरी सदा र सालको चिरान काठ चोरी आरोपमा सप्तरीको तिलाठी कोइलाडी–३ का वंशी मुखिया पक्राउ परेका छन्। सदालाई एक हजार र मुखियालाई दुई हजार एक सय ४० जरिबाना भएको छ।
लागुऔषध मुद्दाका अभियुक्त राजविराज नगरपालिका-९ का अरुणकुमार सदा पक्राउ परेका छन्। लागुऔषध आरोपमा उनलाई २३ दिन कैद र दुई हजार जरिबानाको फैसला भएको थियो। कुटपिट, लुटपाट मुद्दाका १० जना, कुटपिट मुद्दाका ९ जना, लुटपाट मुद्दाका दुई जना, सवारी अंगभंग मुद्दाका दुई जना तथा कीर्ते, जालसाजी, गाली–बेइज्जती, चेक अनादर र नाता कायम मुद्दाका एक–एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अदालतको फैसला कार्यान्वयनको सिलसिलामा प्रहरीले फरार रहेका अभियुक्तलाई पक्राउ गरी कैद र जरिबाना असुल गर्ने अभियान नै सञ्चालन गरेको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए।

                                             
                                             
                                             
                                             

