समयमै आयोजना सम्पन्न नगर्ने कम्पनीको ठेक्का तोडिदिने प्रधानमन्त्रीको चेतावनी

हिमाल प्रेस २९ कार्तिक २०८१ १४:१५
10
SHARES
समयमै आयोजना सम्पन्न नगर्ने कम्पनीको ठेक्का तोडिदिने प्रधानमन्त्रीको चेतावनी रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सांसद र जनप्रतिनिधिसँग बिहीबार भएको छलफलमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै आयोजना सम्पन्न नगर्ने कम्पनीसँग ठेक्का सम्झौता तोडिने चेतावनी दिएका छन्।  नारायणगढ-बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइका विषयमा रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सांसद र जनप्रतिनिधिसहितसँग बिहीबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले यस्तो चेतावनी दिएका हुन्।

ओलीले लामो समयसम्म आयोजना सम्पन्न नगर्ने र आयोजना होल्ड गर्ने प्रवृत्ति  अन्त्य गर्दै तोकिएको समयमा काम नगर्ने कम्पनीसँगको ठेक्का सम्झौता तोडिने बताए।

नारायणगढ-बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइका बारेमा सरकार जानकार रहेको भन्दै उनले छिट्टै निकास निकाल्ने जानकारी दिए। एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण भइरहेको उक्त सडक खण्ड सन् २०२६ मा सम्पन्न थर्न नसके सहयोगसमेत आउन नसक्ने अवस्था रहने उनको भनाइ छ।

‘जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौँ, त्यो हुन सकेन। त्यस क्षेत्रका बासिन्दाले लामो समयदेखि कष्टपूर्ण रूपमा धुलो-मैलोमा बस्नुपरेको छ। आर्थिक विकासका गतिविधिमा पनि असर परेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यस विषयलाई गम्भीरताका साथ लिएर सरकारका सम्बन्धित निकायले काम गनुपर्ने देखिन्छ। यसमा मेरो पनि गम्भीर ध्यान गएको छ। हामी निर्णायक निर्णय गर्नुपर्ने अवस्थामा पुगेका छौँ।’

नवलपरासी (सुस्ता पूर्व) का जिल्ला समन्वय प्रमुख भगौती यादव रुदलले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएकी थिइन्। चाइनास्टेट कम्पनीसँग उक्त सडक खण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो। हालसम्म ४४ प्रतिशत भुक्तानी भइसकेको र ५२ प्रतिशत काम भएको जनाइएको छ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी, भौतिक मन्त्रालयका सचिव केशव शर्मालगायत सहभागी थिए।

भौतिकमन्त्री दाहालले निर्माण कम्पनीलाई पटक पटक ताकेता गर्दा पनि काम सुरु हुन नसकेको र आउँदो डिसेम्बर अन्त्यसम्मका काम सुरु गर्ने आश्वासन प्राप्त भएको जानकारी गराए।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सुकुम्बासी समस्या समाधान गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast