
लुम्बिनी- पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भैरहवामा सडक खाना महोत्सव गरिएको छ। विश्व पर्यटन दिवसको अवसरमा सिद्धार्थ होटल एशोसियसनले सडक खाना महोत्सव २०८१ आयोजना गरेको हो।
नेपाली रैथाने खानाको स्वाद स्वदेशी तथा विदेशी पर्यटकलाई चखाउने, नेपाली रैथाने खानालाई ब्राण्डिङ गर्ने उद्देश्यले सडक खाना महोत्सव आयोजना गरिएको सिद्धार्थ होटल एसोसियसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए।
भैरहवाको देवकोटा चोकदेखि हाटबजारसम्म शुक्रबार रातीदेखि दुई दिनसम्म सडकमै खाने र राष्ट्रिय कलाकारसँग रमाउने गरी कार्यक्रम आयोजना गरिएको छ। महोत्सवमा विभिन्न तारे होटलका खानाका परिकार छुटसहित पस्किने व्यवस्था मिलाइएको छ।
लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, स्थानीय पालिकासहित विभिन्न संघ-संस्थासँग सहकार्य गरी दुई दिनसम्म ‘भैरहवा फूड फेस्टिबल तथा म्युजिकल नाइट-२०८१’ आयोजना गरिएको हो। महोत्सव शनिबार सकिनेछ।
आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धन गरी सिथिल रहेको पर्यटन क्षेत्रलाई उकास्न महोत्सव फलदायी हुने विश्वास गरिएको छ।
महोत्सवमा आन्तरिक, भारतीय तथा तेस्रो मुलुकका पर्यटक अधिक मात्रामा आउने अपेक्षा गरिएको छ। थरिथरिका स्तरीय होटलका स्वाद लिन पाउने भएकाले ५० हजार हाराहारी पर्यटक महोत्सवमा रमाउन आउने विश्वास आयोजकले लिएका छन्।
महोत्सवको शुक्रबार राति लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका हुन्। उनले पर्यटनमैत्री वातावरण बनाउन नीजि क्षेत्रसँग सहकार्य गर्ने बताए। भारतीय पर्यटकहरुलाई सहज आवागमनको लागि नेपाल-भारत सिमा क्षेत्रमा एकीकृत जाँचको व्यवस्था मिलाउनेगरी काम अघि बढेको मुख्यमन्त्रीले बताए।
महोत्सव उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने लगायतले सम्वोधन गरेका थिए।