प्राकृतिक विपद्‍मा परेका ७१३ जनाको हवाई उद्धार

हिमाल प्रेस १४ असोज २०८१ १८:४५
20
SHARES
प्राकृतिक विपद्‍मा परेका ७१३ जनाको हवाई उद्धार

काठमाण्डौँ- नेपाली सेनाले बाढी, पहिरो, डुबान लगायत प्राकृतिक विपद्मा परेका ७१३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको छ। गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाले काभ्रेपलाञ्चोक, सिन्धुली, मकवापुर, ललितपुर र काठमाडौँबाट गरी सोमबार बेलुकीसम्म ७१३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।

‘बीपी राजमार्ग अवरुद्ध भएर काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा अलपत्र परेका ५३२ जनाको त्यहाँबाट उद्धार गरी सुरक्षित स्थान सार्नुका साथै घाइतेहरूलाई अस्पतालसम्म पुर्‍याइएको छ,’ प्रवक्ता तिवारीले भने,  ‘निजी हेलिकप्टरबाट पनि प्रभावित क्षेत्रबाट उद्धार भएको छ।’

गत शनिबारदेखि सोमबार बेलुकीसम्म हवाई उद्धारमा सेनाका तीन वटा हेलिकप्टर परिचालित थिए। ‘हवाई उद्धारको कार्य अन्तिम अन्तिम चरणमा पुगेको छ,’ उनले भने,  ‘आवश्यकताअनुसार भोलि (मंगलबार) बाट पनि हवाई उद्धार हुन्छ।’

सेनाको टोलीले उद्धारसँगै हवाई साधन मार्फत् राहत सामग्री समेत प्रभावित क्षेत्रमा पुर्‍याउँदै आएको छ। प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरका साथै राहत वितरणको कार्य समेत गृह मन्त्रालय गरिरहेको छ।

विपद्का घटनामा सुरक्षाकर्मीहरूले मुलुकभरका प्रभावित क्षेत्रबाट चार हजार भन्दा बढीको सकुशल उद्धार गरेको छ। सोमबार बेलुकीसम्म विपद्मा परी २०९ जनाको मृत्यु भएको छ।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार विपद्का कारण अवरुद्ध राजमार्गहरू तीव्ररूपमा सुचारु भइरहेको छ। कतिपय बढी प्रभावित राजमार्गमा वैकल्पिक सडक सञ्चालनमा तयारी पनि भइरहेको छ।

प्रकाशित: १४ असोज २०८१ १८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 7 =