धादिङका सीडीओपछि एसपीलाई पनि हटाइयो

हिमाल प्रेस १४ असोज २०८१ १३:२५
60
SHARES
धादिङका सीडीओपछि एसपीलाई पनि हटाइयो

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्र पाण्डे र जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) गौतम केसीलाई जिम्मेवारीबाट हटाइएको छ। सीडीओ पाण्डेलाई आइतबार नै गृहमन्त्रालयले फिर्ता गरेको थियो। केसीलाई भने आज सोमबार प्रहरी प्रधान कार्यालय तानिएको हो।

अविरल वर्षापछिको प्राकृतिक विपद्‌को समयमा सन्तोषजनक काम गर्न नसकेको आरोपमा उनीहरू दुवैलाई जिल्लाको जिम्मेवारीबाट हटाइएको हो।

धादिङमा सीडीओ बनाएर सुमन घिमिरेलाई पठाइएको छ भने धादिङको प्रहरी प्रमुखको जिम्मेवारी एसपी दीपेन्द्र शाहीलाई दिइएको छ।

काठमाडौँ आउने मुख्य नाका रहेको धादिङको झ्याप्लेखोलामा पहिरोमा परी ३५ जना यात्रुको ज्यान गुमाए। शुक्रबारदेखि नै उक्त स्थानमा पहिरो खसेर सवारी आवागमन ठप्प हुँदा पनि धादिङका प्रहरी र सीडीओले प्रभावकारी भूमिका खेल्न नसक्दा शनिबार साँझ मात्रै दुर्घटनास्थलमा खोज तथा उद्धारको काम सुरू भएको थियो।

शनिबार साँझ त्यहाँ गाडीसँगै पुरिएका १४ जनाको शव फेला परेको थियो। आइतबार थप २१ जनाको शव निकालिएको छ।

त्यस्तै यसपटकको विपद्‌मा धेरै ध्वस्त भएको काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई पनि गृहमन्त्रालय तानिएको छ। उनको ठाउँमा रमेश ढकाललाई सरुवा गरिएको छ। काभ्रेका प्रमुख जिल्ला अधिकारी सेढाईँले विपद्का बेला जिल्ला छाडेका थिए। यस्तै प्रभावकारी समन्वय नहुँदा उद्धारमा ढिलाइ भएको र ठूलो जनधनको क्षति भएको भन्दै उनलाई जिम्मेवारी मुक्त गरिएको हो।

काभ्रेका तेमाल लगायतका स्थानमा पुरिएका व्यक्तिको खोजी सोमबार मात्रै सुरु भएको छ। तेमालमा एकै परिवारका ८ जना पुरिएका छन्। तीन जनाको शव निकालिएको र अरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ असोज २०८१ १३:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =