सडक दुर्घटना : १० वर्षमा २४ हजारको मृत्यु, ७२ हजार घाइते

हिमाल प्रेस ३० भदौ २०८१ १५:४४
28
SHARES
सडक दुर्घटना : १० वर्षमा २४ हजारको मृत्यु, ७२ हजार घाइते

काठमाडौँ- नेपालको सडक सुरक्षामा क्रियाशील अभियानकर्ता र नागरिक अगुवाहरूले निरन्तर बढिरहेका सडक दुर्घटनाका घटनालाई दृष्टिगत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्। सडक सुरक्षा ऐनको अनुमोदन, राष्ट्रिय सडक सुरक्षा रणनीतिको अनुमोदन र अधिकार सम्पन्न सडक सुरक्षा परिषद्‌को यथाशिघ्र गठन लगायतका देशको सडक सुरक्षाको दीगो समाधानका र केही तात्कालिक महत्वका बुँदाहरू रहेका छन्।

गत असार २८ गते नारायणगढ़-मुग्लिङ्ग सडक खण्डमा गएको पहिरोमा दुईवटा यात्रुवाहक बस हराएका छन्, जसमा करिब ४० जनाभन्दा बढी यात्रुहरूको स्थिति अज्ञात छ। त्रिशुली नदीले बगाएको ठानिएका दुवै बसहरू अझै भेटिएका छैनन्। देशैभरीका विभिन्न नयाँ एवम् पुराना सडक मार्गहरूमा सडकको अवस्था विग्रेका कारण यातायात अवरूद्ध भएका, दुर्घटना भएका वा जोखिमपूर्वक यात्रा गर्न बाध्यता रहेको सन्दर्भमा अभियन्ताहरूले उद्धार र खोजी कार्य तीव्र पार्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्पूर्ण सरकारी संयन्त्रलाई निर्देशन दिन प्रधानमन्त्रीलाई सडक सुरक्षामा क्रियाशील अभियानकर्ताहरूले आग्रह गरेका हुन्।

सडक सुरक्षाको स्थिति र समस्या

विगत १० वर्षको अवधिमा मात्रै, प्रहरी तथ्यांकअनुसार, करिब २४,००० जनाले सडक दुर्घटनामा परी ज्यान गुमाएका र करिब ७२ हजारभन्दा बढी गम्भीर घाइते भएका ज्ञापनपत्रमा उल्लेख छ भने स्वास्थ्य मन्त्रालयको तथ्याङ्क उद्धृत गर्दै एकै वर्षमा करिब एक लाख जना सडक दुर्घटनाबाट घाइते भई उपचारका लागि स्वास्थ्य संस्थामा आउने भयानक अवस्थाबारे चिन्ता व्यक्त गरेका छन्।

नेपालमा फुटकर हताहती गराउने खालका सडक दुर्घटनाका घटना धेरैको ध्यानाकर्षण नै नहुने अवस्थामा छ। तर धेरै मानिसको मृत्यु वा घाइते भएका कारण चर्चित भएको नारायणगढ़-मुग्लिङ्ग सडक खण्डमा यात्रुसहित त्रिशुलीमा खसेर बेपत्ता भएको घटनालाई नेपालको सडक यातायात इतिहासमा कालो दिनको रूपमा सम्झिइरहने स्मरण गराइएको छ।

ज्ञापनपत्रमा विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनले नेपालमा एकै वर्षमा करिब ८,५०० जनाको सडक दुर्घटनाका कारण ज्यान जाने गरेको तथ्य सार्वजनिक गरेको भन्दै यसरी हजारौं प्रत्यक्ष प्रभावितका परिवार र आफन्त गरी लाखौं मानिसहरू सडक दुर्घटनाका पीडा लिएर बाँचिरहेको पीडादायी अवस्थातर्फ पनि ध्यानाकर्षण गराइएको छ। विश्व बैंकको अध्ययन अनुसार नेपालमा सडक दुर्घटनाका कारण कुल गार्हस्थ उत्पादन (जीडीपी) को करिब ३ प्रतिशत बराबरको वार्षिक क्षति भएको उल्लेख गर्दै यसको आर्थिक पक्षलाई पनि स्मरण गराएका छन्।

विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्व एशियाली क्षेत्रीय कार्यालयद्वारा गत हप्ता मात्रै सार्वजनिक गरिएको यस क्षेत्रका राष्ट्रहरूमा सडक सुरक्षाको स्थितिसम्बन्धी प्रतिवेदनले नेपालमा सडक यातायात, सडक दुर्घटना र सडक सुरक्षामा सुधारका सूचकहरूको दयनीय अवस्था उजागर गरेको छ। उक्त कार्यालयको डब्लुएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रीय सडक सुरक्षा- २०२४ नामक क्षेत्रीय प्रतिवेदनले सडक सुरक्षाका विश्वव्यापी १२ सूचकहरूको क्षेत्रीय तुलनामा नेपालको प्रगति सबै देशमध्ये निराशाजनक रहेको देखाएको छ।

उक्त प्रतिवेदनअनुसार नेपालमा प्रति एक लाख जनसंख्यामा सडक दुर्घटनाबाट मृत्युको दर २८ भन्दा पनि बढी आँकलन गरेको छ, जुन विश्वमै उच्च मृत्युदर हो। भारतलगायत छिमेकी देशहरूले सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या घटाइरहेको सन्दर्भमा नेपालमा भने विगत दश वर्षमा मृत्यु दर २५ प्रतिशतले वृद्धि भएको प्रतिवेदनले देखाएको छ।

प्रकाशित: ३० भदौ २०८१ १५:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =