(खाँदबारी) संखुवासभा- नेपाली कांग्रेसका नेता एवम् उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले संखुवासभाको शिर उच्च राख्नेगरी काम गर्ने बताएका छन्।
नेपाली कांग्रेस संखुवासभा जिल्ला कार्यसमितिले आज खाँदबारीमा आयोजना गरेको १११ औँ विपी जयन्ती तथा नवनिर्वाचित उर्जा, जलस्रोत तथा सिंचाईमन्त्रीको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संखुवासभाभित्र रहेको स्रोत र साधनको उच्चतम प्रयोग गरी संखुवासभाको शिर उच्च हुनेगरी काम गर्ने बताएका हुन्।
उनले दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारले जनताको आर्थिक विकास र देशको समृद्धिका लागि काम गर्ने बताए। ‘देशको आवश्यकता अनुसार संविधान संशोधन गर्नेगरी दुई दल मिलेका हौँ, यो सरकार पुरा कार्यकाल रहन्छ’ उनले भने।
मन्त्री खड्काले दुई ठूलो राजनीतिक दल मिलेर देशमा परिवर्तन आएको बताउँदै अब प्राकृतिक स्रोत साधनको उचित प्रयोग गरेर देशको विकास गर्ने उल्लेख गरे। अब आर्थिक क्रान्तिको अगुवा कांग्रेसले गर्ने उनको भनाइ थियो।
कांग्रेस नेता खड्काले जनताले रुचाएरजस्तो काम गरिदिन पार्टीबाट निर्वाचित जनप्रतिनिधीलाई आग्रह गरे। ‘अहिले एमालेसँग सरकारको सहकार्य गरेपनि आगामी निर्वाचनमा एमालेसँगै निर्वाचन लड्ने भएकाले जनताले मूल्यांकन गर्नेगरी काम गर्न लाग्नुहोस्,’ उनले भने।
उर्जामन्त्री खड्काले आगामी १० वर्षभित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको बताउँदै उक्त लक्ष्यलाई पुरा गर्न सरकार लागेको उल्लेख गरे। मन्त्री खड्काले संखुवासभामा मात्र झण्डै पाँच हजार मेगावाट विद्युत उत्पादन गर्ने नदी रहेकाले यसको उच्चतम प्रयोग गर्नुपर्ने बताए।