पहिरोले म्याग्दीमा दुई घरमा क्षति, ठाउँठाउँमा सडक अवरुद्ध

हिमाल प्रेस २१ भदौ २०८१ १०:०३
22
SHARES
पहिरोले म्याग्दीमा दुई घरमा क्षति, ठाउँठाउँमा सडक अवरुद्ध म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ पखेरमा पहिरो झरेर घर पुरेपछि घर भित्रका सामान अन्यत्र सार्दै स्थानीयवासी। घर माथिबाट आएको पहिरोले स्थानीय लक्ष्मी खड्काका दुई वटा घर पुरिएको छ। तस्बिर : ध्रुवसागर शर्मा/रासस

काठमाडाैँ- अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन्। तुलसीपुर–कपुरकोट सडक अवरुद्ध राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यानखण्ड अवरुद्ध भएको छ। बिहीबार साँझदेखि परेको वर्षात्ले तुलसीपुर–कपुरकोट सडक अवरुद्ध भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तुलसीपुर–३ राम्रीमा आएको पहिरोले सडक अवरुद्ध भएको हो। अहिले पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए।

वर्षाका कारण पहिरो खस्दा म्याग्दीको सदरमुकाम बेनीदेखि पश्चिम म्याग्दीका तीन गाउँपालिका र बागुलङका विभिन्न गाउँ जोड्ने बेनी–दरबाङ सडक आज बिहानैदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ।

मंगला  गाउँपालिका–२ र बेनी नगरपालिका–४ को सीमानामा पर्ने फापरखेतको घुमाउने भिरमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो।

त्यसैगरी फापर खेतको घुमाउने भिरमा पहिरो जाँदा पैदल हिँडेर सिमलचौर निस्कन प्रयोग गरिने मङ्गला–३ पखेरमा पनि पहिरो जाँदा स्थानीय लक्ष्मी खड्काका दुई वटा घर पुरिएका छन् भने वैकल्पिक बाटो पनि अवरुद्ध भएको पखेरबाट स्थानीयवासी नरबहादुर थापामगरले जानकारी दिए।

पहिरोले दुई घरमा क्षति गरे पनि बिहीबार लक्ष्मी र उनका छोरा अरुको घरमा पाहुना गएकाले कुनै मानवीय क्षति हुन नपाएको थापामगरले जानकारी दिए। अहिले तातोपानी चौकीबाट पुगेको प्रहरीको टोली र स्थानीयवासीले पहिरो पन्छाएर घरका सामान सुरक्षित ठाउँमा सार्ने काम भइरहेको उनले जानकारी दिए। पानी पर्नेक्रम नरोकिएकाले अझै पनि पहिरो झरिरहेको उनले बताए।

सडक अवरुद्ध भएपछि यात्रुहरु र सिमलचौर, सिमलगायतका ठाउँबाट तातोपानी अध्ययनका लागि आउने विद्यार्थी र पश्चिम म्याग्दीका विभिन्न ठाउँमा जाने यात्रुलाई समस्या हुने गरेको छ‍।

कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)खण्ड अवरुद्ध भएको छ। गएरातिदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत नवलपुर खण्डको तीन ठाउँमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार कालीगण्डकी करिडोरअन्तर्गत बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरो, बुलिङटार गाउँपालिका–१ मते डाँडा र गैँडाकोट नगरपालिका–३ हिउँदे खोलमा लेदो माटोसहितको पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको हो। अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको उनले बताए।

अविरल वर्षापछि गएको पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध भएको छ। उक्त सडकखण्डअन्तर्गत गोरखा नगरपालिका–१३ मझुवास्थित सात किलो भन्ने ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।

पहिरो पन्छाउनका लागि ‘जेसिवी’ परिचालन भइसकेको उनले बताए। सोही सडकखण्डअन्तर्गत गोरखा–८ स्थित सल्यान धारा नजिकै पनि पहिरोले सडक अवरुद्ध भएको गोरखा नगरपालिकाका वातावरण तथा विपत् व्यवस्थापन शाखाका प्रमुख ध्रुव घिमिरेले जानकारी दिए।

सडक अवरुद्ध हुँदा गोरखा सदरमुकामबाट संघीय राजधानी काठमाडौँसहित पोखरा, चितवनलगायत स्थानबाट आउनेजाने सवारीसाधन रोकिएका छन्।

प्रकाशित: २१ भदौ २०८१ १०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 20 =