विश्वविद्यालय आफ्नो लक्ष्य र उद्देश्यबाट विमुख हुनुहुँदैन : नेता महर

हिमाल प्रेस १९ भदौ २०८१ १६:२४
20
SHARES
विश्वविद्यालय आफ्नो लक्ष्य र उद्देश्यबाट विमुख हुनुहुँदैन : नेता महर नैनसिंह महर

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विश्वविद्यालय आफ्नो लक्ष्य र उद्देश्यबाट विमुख हुन नहुने बताएका छन्। नेपाल प्राध्यापक संघसँगको कार्यक्रममा सुदूरपश्चिम र राजर्षि जनक विश्वविद्यालयले देशभरका दर्जनौं क्याम्पसलाई सम्बन्धन दिइरहेको प्रति इंगित गर्दै महरले पहिला विश्वविद्यालय आफैँमा व्यवस्थित हुनुपर्ने बताएका हुन्।

‘देशभित्र प्रादेशिक रुपमै विश्वविद्यालय खोल्ने लहर चलेको छ। प्रादेशिक स्तरमा खुलेका विश्वविद्यालयले लक्ष्य र उद्देश्य विमुख भएर सम्बन्धन वितरण गर्ने कार्य भइरहेको छ। उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी घट्दै गएको अवस्थामा प्रादेशिक तह‌मा विश्वविद्यालय विस्तार गर्दै जानुको औंचित्यमाथि प्रश्न उठेको छ,’ उनले भने। नेता महरले आफ्नो क्षमता वृद्धि नगरी संरचना मात्र विस्तार गर्ने विषय उपयुक्त नहुने धारणा व्यक्त गरे।

‘विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुनुहुन्छ। यस्तो लापरबाहीमा कुलपति जानकार भएको हो भने अचम्म मान्नुपर्छ। राज्यले कति विश्वविद्यालय आवश्यक छन् भन्ने कुरा र विश्वविद्यालयले सम्बन्धनलगायत सवाललाई अगाडि बढाउँदा शिक्षा नीति एवं वर्तमान संविधान‌को उद्देश्य मनन् गरिनुपर्छ,’ उनले भने।

लोककल्याणकारी राज्यमा शिक्षा राज्यको दायित्व भएकाले सोही अनुरुप सरोकारवाला अगाडि बढ्नुपर्ने उनको भनाइ छ। विश्वविद्यालयको उद्देश्य राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति निर्माण गर्नु भएकाले त्यसैमा केन्द्रित हुन उनले सुझाव दिए।

विद्यमान उच्च शिक्षा प्रणाली राज्यको दायित्ववाट बाहिर जान थालेको र विश्वविद्यालयबाट उत्पादित जनशक्ति विदेशीका लागि उत्पादन गरेजस्तो देखिएको महरको टिप्पणी छ। उच्च शिक्षामा विद्यमान समस्या समाधानका लागि सरकारसहित सरोकारवाला सबै निकाय गम्भीर र जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए।

प्रकाशित: १९ भदौ २०८१ १६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =