 
                             
                                            काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले संविधान र एमालेले माओवादी ‘जनयुद्ध’ चिन्दैन भन्ने दाबी गरिरहेका बेला एमालेकै अर्का सचिव लेखराज भट्टले जनयुद्धप्रति गर्व रहेको बताएका छन्। उनले जनयुद्धलाई खिसिट्युरी पाराले हिंसा भन्न नहुने बताए। यद्यपि जनयुद्ध हिंसात्मक रहेकोमा उनी सहमत छन्।
भट्टले २००७ सालको आन्दोलन र २०४६ को आन्दोलन पनि हिंसात्मक रहेको बताए। उनले हिमालप्रेससँग भने, ‘जनयुद्धप्रति म त गर्व गर्छु तर सशस्त्र द्वन्द्व हिंसात्मक थियो।’
सांसदसमेत रहेका एमाले सचिव भट्टराईले गत भदौ १२ को प्रतिनिधिसभा बैठकमा माओवादीले २०५२ देखि २०६२ सालसम्म गरेको ‘जनयुद्ध’ लाई हिंसाको संज्ञा दिएका थिए। माओवादीका सांसदहरूले नियमापत्ति जनाएपछि सभामुख देवराज घिमिरेले ‘हिंसा’ शब्द छानबिन गर्न रुलिङ गरेका थिए। ‘हिंसा’ को बहस त्यतिमै सीमित भएन। सदनका त्यसपछिका बैठकमा पनि ‘हिंसा’ का बारेमा वादप्रतिवाद भइरहेको छ।
एमालेका नेताले माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेपछि राजनीतिक वृत्तमा समर्थन र विरोध भइरहेको छ। भट्टराईको भनाइलाई आपत्ति जनाउँदै माओवादी सांसदले खबरदारी गरिरहेका छन्।
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार भट्टराईकै भनाइलाई बल पुग्ने गरी जनयुद्धलाई ‘हिंसा’ नै हो भनेका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले प्रचण्डको नाम उल्लेख गर्दै ‘आफूले १७ हजार मान्छे नमारेकाले खुट्टा नकमाएको’ जबाफ दिएका थिए। माओवादीले ‘जनयुद्ध’ का नाममा हिंसा फैलाएको र अन्धाधुन्ध मान्छे मारेको आरोप ओलीको छ।
अध्यक्ष ओलीले समेत माओवादीविरुद्ध बोलिरहँदा एमालेभित्र रहेका पूर्वमाओवादी नेताले भने औपचारिक रूपमा केही बोलेका छैनन्। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव भट्ट मुख्य नेतृत्वमा छन्।
एमालेले शान्ति सम्झौतापछिको माओवादी मात्र आफूहरूले स्वीकारेको जनाएको छ। ‘हामीले हिंसाको माओवादी स्वीकारेका छैनौँ, जनयुद्ध गलत थियो’, एमाले सचिव भट्टराई भन्छन्।
एमाले महासचिव शंकर पोखरेलले पनि संविधानले ‘जनयुद्ध’ नचिन्ने बताएका छन्। ‘माओवादी सांसद जनयुद्ध भनिरहेकै सुनिन्छ। एमाले र कांग्रेसलाई संविधानको भाषा वोलेन भनेर विरोध गर्नेले माओवादीले चै संविधानले नस्वीकारेको भाषा बोल्न मिल्छ र?’ पोखरेलले भनेका छन्।
पूर्वमाओवादी नेता मणि थापाले पनि ‘जनयुद्ध’ गलत नभएको दाबी गर्दै आएका छन्। ‘१० वर्षे जनयुद्ध लहडमा लडिएको थिएन। यो गलत भन्न मिल्दैन,’ थापा भन्छन्।
संविधानमा ‘जनयुद्ध’ राख्ने वा नराख्ने विषयमा ठूलै बहस भएको थियो। माओवादीले ‘जनयुद्ध’ राख्नुपर्ने अडान राखे भने एमाले–कांग्रेस राख्न नहुने राय पेस गरेका थिए। अन्ततः ‘सशस्त्र संघर्ष’ मा सहमति भएको थियो।
राजनीतिक विश्लेषक श्याम श्रेष्ठ जनयुद्ध शब्दलाई लिएर विवाद गर्नुको अर्थ नरहेको बताउँछन्। उनी भन्छन्, ‘यो वाइयात बहस हो। त्यसैले यसको कुनै अर्थ छैन।’
माओवादी निकट पत्रकार नरेन्द्र केसी एमाले नेताहरूले ‘जनयुद्धलाई हिंसा भनिदिँदा जनयुद्ध लडेर आएका तर हाल एमालेमा रहेका पूर्वमाओवादी साथीहरुको मन दुख्ला भनेर सोच्न नसकेको बताउँछन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 