पानीको निकास थुनिँदा कलुवापुर बजार जलमग्न

हिमाल प्रेस २३ साउन २०८१ ११:३५
58
SHARES
पानीको निकास थुनिँदा कलुवापुर बजार जलमग्न

कञ्चनपुर- वर्षात्को पानीको निकास थुनिँदा शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजार जलमग्न हुँदै आएको छ।

पूर्वपश्चिम राजमार्गसँगै जोडिएको बजारको पानीको निकास स्थानीय बासिन्दाले थुनेर पक्की घर निर्माण गरेका छन्। दुई वर्षदेखि थोरै वर्षामा पनि बजार जलमग्न हुन थालेको छ। पानीको निकासका लागि राखिएको ह्युमपाइप थुनेर घर निर्माण गरिएपछि बजार क्षेत्र जलमग्न हुँदै आएको स्थानीय बासिन्दा गणेशबहादुर ऐरले बताए।

‘पानीको निकासका लागि सम्बन्धित निकायमा पटकपटक अनुरोध गर्दै आएका छौँ’, उनले भने, ‘अनुगमन गर्ने कार्यबाहेक पानी निकासको उपाय निकाल्नेबारे कुनै निकायले काम अगाडि नबढाउँदा समस्यामा परेका छौँ।’

सडक अतिक्रमण गरी बनाएका घरलगायत पक्की संरचना हटाएर पानीको निकास खोल्नका लागि एकले अर्कालाई दोष थोपर्ने कार्यले सास्ती भोग्दै आएको उनको भनाइ छ। वर्षौँ पहिलेदेखि वर्षाको पानी बग्दै आएको निकास थुन्नेलाई कारबाही गरिनुपर्ने स्थानीय बजारवासीको माग छ।

केही सीमित व्यक्तिहरूको अवरोधका कारण यात्रु, विद्यार्थी, सर्वसाधारणले निकै सास्ती खेप्दै आएका स्थानीय समाजसेवी नवराज पन्तले बताए। ‘मानव सिर्जित समस्या भएकाले स्थानीय तहले यसको तत्काल निराकरण गर्नुपर्छ’, उनले भने, ‘दोषीमाथि कारबाही नहुँदा क्षणिक रूपमा समाधान गर्न खोजिन्छ, त्यसैले समस्या बल्झिँदै आएको छ।’

पानीको निकास नहुँदा नै सार्वजनिक शौचालय प्रयोगविहीन बनेको छ । शौचालयको पानी बगेर डुबान भएको क्षेत्रमा पुग्दा पानीजन्य संक्रामक रोग फैलिने सम्भावना पनि उत्तिकै रहेको छ। बजार क्षेत्रको सडक मात्र नभएर वर्षात्को पानी स्थानीय व्यवसायीका पसलभित्र पस्न थालेको छ। थोरै पानीमा पनि बजार क्षेत्र जलमग्न हुने गरेको छ । तत्काल पानीको निकास नखोलिए स्थानीय बासिन्दाले पालिकाविरुद्ध संघर्षका कार्यक्रम अगाडि बढाउने बताएका छन्।

‘बजार क्षेत्र डुबानको समस्या समाधान गर्न सम्बन्धित व्यक्तिहरूलाई नगरपालिका कार्यालयमा बोलाएर पानीको निकास खोल्नका लागि भनेका छौँ’, नगर उपप्रमुख कल्पना पन्तले भने, ‘निकास नखोले अटेरी गरी सडक क्षेत्र अतिक्रमण गरी बनाएको संरचना हटाउने वा कानुनी प्रक्रियामा जाने भन्नेबारे आवश्यक छलफल भइरहेको छ, निकास निकाल्न प्रयासरत छौँ।’

आवतजावतलाई सहज बनाउन सडक गहिरो भएको क्षेत्रमा ग्राभेल राख्ने कार्य भइरहेको उनको भनाइ छ।

प्रकाशित: २३ साउन २०८१ ११:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 19 =