रोकिएका राष्ट्रिय परिचयपत्र बाँड्दै तनहुँ प्रशासन

हिमाल प्रेस १३ साउन २०८१ १२:३७
10
SHARES
रोकिएका राष्ट्रिय परिचयपत्र बाँड्दै तनहुँ प्रशासन

तनहुँ- जिल्ला प्रशासन कार्यालय तनहुँमा वितरण नगरी थन्किएका राष्ट्रिय परिचयपत्र सेवाग्रहीलाई वितरण गरिने भएको छ। कार्यालयमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्ने सेवाग्राहीको घुइँचो बढेपछि बनेर आएका परिचयपत्र वितरण रोकिएको थियो।

सामाजिक सुरक्षा भत्ता लिनेलाई राष्ट्रिय परिचयपत्र विवरण अनिवार्य गरिएपछि गत जेठ र असारमा सेवाग्राहीको घुइँचो लागेको थियो। हाल सरकारले सामाजिक सुरक्षा भत्ता वितरणमा परिचयपत्र अनिवार्य गर्ने निर्णय सच्च्याएपछि कार्यालयमा घुइँचो कम हुँदै गएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले बताए।

कार्यालयमा साबिकमा भन्दा अहिले सेवाग्राहीको उपस्थिति घटेकाले कार्यालयमा उपलब्ध भएका राष्ट्रिय परिचयपत्र वितरण प्रक्रियालाई अगाडि बढाउन लागिएको उनले उल्लेख गरे।

‘राष्ट्रिय परिचयपत्र नम्बर संकलन र बायोम्याट्रिक दिन आउने सेवाग्राहीको चापले कार्यालयमा उपलब्ध भएका परिचयपत्र वितरण स्थगन गरिएको थियो’, श्रेष्ठले भने, ‘अहिले सेवाग्राहीको चाप घटेकाले परिचयपत्र वितरणलाई निरन्तरता दिन लागिएको हो।’

विभिन्न समयमा बायोम्याट्रिक दिएका सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बरमा ‘एसएमएस’मार्फत जानकारी भएपश्चात् बायोम्याट्रिक गर्दाको आवेदन फारम र सक्कल नागरिकताको प्रमाणपत्रसहित सम्बन्धित व्यक्ति स्वयं उपस्थित भई परिचयपत्र कार्ड लिन आउन सूचना जारी गरिएको प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए।

उनका अनुसार विसं २०७६ देखि भरिएका ४५ हजार बढीको राष्ट्रिय परिचयपत्र कार्यालयमा आइपुगेको छ ।

हालसम्म एक हजारले मात्रै परिचयपत्र लिएका कार्यालयले जनाएको छ । कतिपय व्यक्ति परिचयपत्र लिन नआएकाले पनि कार्यालयमा थन्किएको राष्ट्रिय परिचयपत्र शाखाका कर्मचारी प्रताप पण्डितले जानकारी दिए। राष्ट्रिय परिचयपत्र लिन सम्बन्धित व्यक्ति नै उपस्थित भई बायोम्याट्रिक विवरण उपलब्ध गराउँदाको जस्तै दस्तखत भिडाउनुपर्ने उनले उल्लेख गरे।

प्रकाशित: १३ साउन २०८१ १२:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =