मुख्यमन्त्री नपाएपछि असन्तुष्ट लीला गिरी, आचार्यको शपथमा अनुपस्थित

हिमाल प्रेस ९ साउन २०८१ ९:५१
14
SHARES
मुख्यमन्त्री नपाएपछि असन्तुष्ट लीला गिरी, आचार्यको शपथमा अनुपस्थित लीला गिरी

काठमाडौँ- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यले बाजी मारेपछि अर्का नेता लीला गिरी असन्तुष्ट छन्। असन्तुष्ट भएसँगै उनी अहिले सार्वजनिक कार्यक्रममा उपस्थित भएका छैनन्।

गिरी लुम्बिनीका एमाले संसदीय दलका नेता हुन्। तर, एमाले केन्द्रले हस्ताक्षप गर्दै उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय गर्‍यो। नेताहरूका अनुसार शपथको दिन ११ बजेमात्रै मुख्यमन्त्री फेर्ने खबर लुम्बिनी पुगेको थियो। यसअघि सम्म गिरी नै मुख्यमन्त्री बन्ने पक्का थियो। तर विशेषतः एमाले महासचिव शंकर पोखरेलले आचार्यलाई मुख्यमन्त्री बनाउन चाहे। यही कारण गिरी रुष्ट बने। एमाले नेताहरूका अनुसार गिरी एमाले उपाध्यक्ष विष्णु पौडेल र आचार्य पोखरेल खेवाका हुन्।

पोखरेलले आफ्नै गुटलाई पक्षपोषण गर्दा गिरी चिढिएका थिए। गिरीले आफूमाथि केन्द्रले गलत गरेको बताएका थिए। तर अहिले भने गिरी मौन छन्। उनी सम्पर्कबाट पनि बाहिर छन्। यसअघि प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको दाबी पेसमा पनि गिरी सहभागी भएनन्। र, आज शपथमा पनि एमालेका अन्य नेता मात्र थिए।

उनी लुम्बिनीका पूर्वमुख्यमन्त्री पनि हुन्। यसैले पनि उनलाई शपथमा बोलाइएको थियो। तर, उनी कार्यक्रममै सहभागी भएनन्। गिरीले पछिल्लो समय केन्द्रमै आफ्ना बारे बुझ्न खोजेको एमाले नेताहरू सुनाउँछन्। आफूलाई विस्तापित गर्नुको कारण के हो भन्ने विषयमा गिरीले बुझ्न चाहेको उनी निकट स्रोत बताउँछ। लुम्बिनीमा यसअघि पनि गिरीले गुटको राजनीति गरेको आरोप छ।

यसअघिको प्रदेश अधिवेशनमा पनि अध्यक्ष केपी शर्मा ओलीले भनेको व्यक्तिबाहेकालाई अध्यक्षमा उठाएको आरोप लागेको छ। प्रदेश अधिवेशनमा पोखरेल खेवाबाट हरि रिजाल अध्यक्षमा उठेका थिए तर पौडेल खेवाका राधाकृष्ण कँडेलले जिते। कुल खसेको ९६५ मत मध्ये कँडेलले ४७९ मत पाए। उनका प्रतिस्पर्धी रिजालले ४७७ मत पाए। यसपछि महासचिव पोखरेल गिरीप्रति असन्तुष्ट बनेको उनी निकट नेताहरू सुनाउँछन्।
लुम्बिनी प्रदेशसभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन्।

प्रकाशित: ९ साउन २०८१ ९:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =