बैतडीकाे पञ्चेश्वरमा प्रसूति केन्द्र बन्द भएपछि स्थानीयलाई समस्या

हिमाल प्रेस २९ असार २०८१ १९:३२ | Saturday, July 13, 2024
बैतडीकाे पञ्चेश्वरमा प्रसूति केन्द्र बन्द भएपछि स्थानीयलाई समस्या

बैतडी‍- बैतडीको पञ्चेश्वर गाउँपालिकामा सञ्चालित बर्थिङ सेन्टर (प्रसूति केन्द्र) बन्द हुँदा स्थानीयलाई समस्या भएको छ। पालिकाले बजेट अभावको कारण देखाउँदै आम्चोरा, रोडीदेवल र वडा नं १ मा गरी चारवटा केन्द्र बन्द गरेपछि समस्या भएको हो।

स्वास्थ्यचौकीबाट टाढा रहेका बस्तीलाई लक्षित गरी सञ्चालन गरिएका केन्द्र बन्द गरिएपछि समस्या भएको स्थानीयवासीले बताएका छन्। स्वास्थ्यजस्तो संवदेनशील क्षेत्रमा सेवा विस्तार गर्नुपर्नेमा भएकै सेवा बन्द गरिनु दुखद् भएको स्थानीय कलावती चन्दले बताइन्।

उनले भनिन्,‘गाउँमै सुविधासम्पन्न प्रसूति सेवा विस्तार गर्नुपर्ने हो तर भएकै सेवा पनि बन्द गराउनु दुःखको कुरा हो। यसले स्वास्थ्यप्रति गाउँपालिका गम्भीर छैन भन्ने प्रष्ट हुन्छ।’ गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले भने स्वास्थ्यचौकीबाट गुणस्तरीय सेवा प्रदान गरिने योजनाअनुसार अन्य स्थानमा रहेका प्रसूति केन्द्र बन्द गरिएकाे‍ बताए।

सबै वडामा सडकको पहुँच पुगिसकेकाले गर्भवतीलाई समस्या नहुने उनकाे दाबी छ। ‘गाउँपालिकाभित्रका स्वास्थ्यचौकीमा गुणस्तरीय सेवा दिने वातावरण बनाइने योजनासहित अगाडि बढेका छौँ। अर्कोतर्फ बजेट अभाव भएपछि जनशक्ति खटाउन नसकिने अवस्था आएकाले ती केन्द्र बन्द गर्न भनिएको हो’,अध्यक्ष चन्दले भने।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामसागर शाहले पनि बजेट अभावका कारण ती केन्द्र बन्द गरिएका जानकारी दिए। उनले भने,‘एउटा केन्द्रमा दुई अनमी र एक सहयोगी राख्नुपर्ने भएकाले बजेट अभाव हुँदा समस्या भयो। त्यसैमा स्वास्थ्यतर्फको बजेट ३३ लाखबाट घटाएर २० लाखमात्र विनियोजन गरिएकाले ती केन्द्र बन्द गर्न बाध्य भएका हौँ।’

यहाँ छवटा स्वास्थ्यचौकीबाहेक थप चार स्थानबाट प्रसूति सेवा प्रदान हुँदै आएको थियो। गाउँपालिकाका सबै ठाउँमा सडकको पहुँच पुगिसकेकाले अब गर्भवतीलाई एम्बुलेन्समार्फत नजिकको स्वास्थ्य संस्थामा ल्याएर प्रसूति सेवा दिइने योजना रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहले बताए।

प्रकाशित: २९ असार २०८१ १९:३२ | Saturday, July 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast