निर्मला पन्तको हत्याराको खोजी जारी छ : गृहमन्त्री लामिछाने

हिमाल प्रेस १० असार २०८१ २१:३३
36
SHARES
निर्मला पन्तको हत्याराको खोजी जारी छ : गृहमन्त्री लामिछाने फाइल तस्बिर

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याराको खोजी जारी रहेको बताएका छन्।

प्रतिनिधिसभाको आज (सोमबार) को बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘अपराधको अनुसन्धान र अभियोजन गृह मन्त्रालयको प्राथमिकतामा छ। निर्मला पन्तको हत्या गर्ने व्यक्ति पत्ता लगाउन आवश्यक कार्य भइरहेको जानकारी सम्मानित सदनमा जानकारी गराउँछु।’

उनले गिरिबन्धु टि-स्टेटलगायतका विषयमा यदि कानुन उल्लंघन भएको छ भने सो विषयमा आवश्यक अनुसन्धान हुने बताए। उनले सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीको सुविधा कम भएको उल्लेख गर्दै स्रोतसाधनको सीमितताका कारण समस्या पूर्णरुपमा समाधान गर्न नसकिए पनि भविष्यमा थप स्रोतसाधनले सुविधा सम्पन्न गर्दै लैजाने प्रतिबद्धता जनाए।

उनले मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जोखिमको आकलन गरी जोखिमयुक्त क्षेत्रलाई उचित संरक्षण हुने गरी विभिन्न क्षेत्रगतरूपमा निकायगत जिम्मेवारी तोकिएको बताए। ‘सबै सरोकारवाला निकायसँगको समन्वय तथा सहकार्यमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा रहेको र केन्द्रीय तहमा कमाण्ड पोष्ट गठन गरिएको छ,’ उनले भने।

उनले खुला कारागारसम्बन्धी कानुनी पूर्वाधारको मस्यौदा आगामी आर्थिक वर्षभित्र सम्पन्न गरी पेस गरिने जानकारी दिए। लागुऔषध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सीमानाकामा चेक जाँच कडाइ गरिएको उनको भनाइ थियो। मन्त्री लामिछानेले अध्यागमन सुधारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रस्थान कक्षतर्फ चार वटा नयाँ डेस्क थप गरिएको बताए।

प्रकाशित: १० असार २०८१ २१:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 19 =