व्यक्तित्व

…त्यसपछि हिमालयबाट एकैपटक रेगिस्तान पुगेजस्तो भयो जिन्दगी

विवेक विवश रेग्मी ८ असार २०८१ १०:२४
590
SHARES
…त्यसपछि हिमालयबाट एकैपटक रेगिस्तान पुगेजस्तो भयो जिन्दगी

इटहरी-  सेतै फुलेका कपाल। हेर्दा शालीन र भद्र। साधारण जीवन बाँचिरहेकी कुन्ता शर्मा उमेरले ७९ वर्ष पुगे पनि सक्रियता नवजवानको जस्तै छ। शर्माले ३९ वर्षअघि लेखेको कविता ‘पोथी बास्नु हुँदैन’ सदाबहार चर्चामा छ। त्यही कविता कुनै बेला संसद्को रोस्टममा उभिएर वाचन गर्दा सांसदहरूको मथिंगल हल्लाएको जानकारहरू बताउँछन्।

कण्ठस्थ छन्, उनलाई आफ्ना कविता। आफ्नै कविता पढिरहँदा, जीवन भोगिरहँदा, लेखिरहँदा उनलाई कण्ठस्थ भएका हुन्। साधारण जीवन बाँचिरहेकी उनी भन्छिन्, ‘नदी र रूखमा जीवन दर्शन देख्छु। मान्छे पनि रेसिस्ट गर्ने जात हो जहाँ पनि।’

उनी कतै यात्रा गर्नुपरे सार्वजनिक गाडीमै हिँड्छिन्। बसमा हिँड्न पाउँदा धेरै मानिससँग घुलमिल हुने र अपरिचितहरूको भोगाइ थोरै भए पनि महसुस गर्न सकिने उनी सुनाउँछिन्। भन्छिन्, ‘म त बसमै हिँड्न मन पराउँछु। मान्छे भेट हुन्छन्, गफगाफ हुन्छ। रमाइलो लाग्छ।’  कुन्ताको सादगी जीवनशैलीको यस्ता उदाहरण धेरै छन्।

३० वर्षसम्म शिक्षण पेसामा आबद्ध भएपछि उनले २०५५ सालमा शिक्षण पेसाबाट राजीनामा दिएर राजनीतिमा लागिन्। २०५६ को आमनिर्वाचनमा सुनसरीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन्।

धरानको माटोमा हुर्किएकी उनी मातृभूमिप्रति असाध्यै प्रेम गर्छिन्। धरान उपमहानगरपालिका १३ जिरो प्वाइन्टमा बस्दै आएकी उनी भन्छिन्, ‘म २००७ सालदेखि यहाँ बस्दै आएकी छु। किनकिन यो ठाउँ छाडेर जान सकिनँ। यो माटोसँग खेल्ने बानी पर्‍यो, यही माटोको माया बस्यो।’

परिवारमा भूमिकाका आधारमा नारीका अनेक परिचय हुन्छन्। कुन्ताको परिचय चाहिँ परिवारको आयामभन्दा धेरै फराकिलो छ, उचाइमा पुगेकी कवि, सफल शिक्षक, राजनीतिज्ञ, महिला आन्दोलनकी अगुवा र एक असल आमा हो। त्योभन्दा पनि धेरै उनको परिचय थाहा पाउन उनको नाम नै काफी छ। उनले जीवनमा अनेकन् आरोहअवरोह भोगिन्। दुःख, कष्ट, पीडा, यातना, भोगाइकै कारण आफू हालसम्म सक्रिय भएको उनी गर्वका साथ बताउँछिन्। प्रस्तुत छ, कुन्ता शर्माको जीवन, भोगाइ र व्यक्तित्वका केही उद्धरणयोग्य प्रसंगहरू  :

मनहरि चौलागाईं र टुकमाया चौलागाईंको कोखबाट जन्मिएकी कुन्ता शर्माले धरानको शारदा माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरिन्। महेन्द्र बहुमुखी क्याम्पसबाट स्नातक र स्नातकोत्तर गरिन्। औपचारिक पढाइपछि धरानसहित विभिन्न ठाउँमा अध्यापन गरिन्। तत्कालीन शिक्षक आन्दोलनको कारण देखाउँदै सरकारले उनलाई विकट क्षेत्रमा सरुवा गरिरहने क्रम पनि चल्यो।

उनी शिक्षण पेसासँगै कविता लेखनमा पनि उत्तिकै सक्रिय थिइन्। २०४२ सालमा उनले लेखेको कविता ‘पोथी बास्नु हुँदैन’ हाल पनि चर्चाको शिखरमा छ। उनका अरू थुप्रै कविताहरू भए पनि आफूलाई त्यही कविता सुनाउन आग्रह गरिने सुनाउँछिन्। यो कविता लेख्नुको कारण र रचनागर्भबारे तल प्रस्तुत गरिनेछ।

नेकपा एमालेबाट २०५६ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी उनले खासगरी महिला मुक्ति र महिला आन्दोलनबारे आवाज उठाएको बुझिन्छ।

‘पूर्वाञ्चल विकास क्षेत्रबाट महिलामा ममात्रै थिएँ, चुनाव जित्ने। पछि गुटबन्दीले गर्दा मलाई अवसर दिएनन्,’ उनले यसअघि भनिन्, ‘अझ धरानमा क्षेत्री-बाहुनले टिकट पाउनुहुन्थेन भन्ने मान्यता थियो। धरानमै आन्दोलन गरेको भन्दा पनि पहाडी जिल्लाबाट पढ्न आउनुभएका साथीहरू धेरै हुनुहुन्थ्यो। मैले टिकट पाउँदा अगाडि आएर कसैले तैँले पाउनुहुन्थेन भनेनन्। तर हराउनचाहिँ लागे।’

उनले सुनसरीका पाँच क्षेत्रमध्ये नेकपा एमालेबाट आफूले मात्रै निर्वाचन जितेको स्मरण गरिन्। आफूले मानवअधिकार आन्दोलन, सांस्कृतिक आन्दोलन, शिक्षक आन्दोलन र महिला आन्दोलनमा सक्रिय भएकै कारण र राष्ट्रिय स्तरको आन्दोनलमा समेत सक्रिय भएकाले जनतामाझ परिचित भएर चुनाव जित्न सहज भएको शर्मा बताउँछिन्।

‘मैले एकै रुपैयाँ खर्च नगरी, एक कप चिया नखाइकन चुनाव जितेँ। तर पार्टीमा त्यसबेला पनि चरम गुटबन्दी थियो, माधव नेपाल गुटका मान्छेहरू चुनाव हराउन भित्रभित्रै लागे,’ उनले सम्झिइन्, ‘मेरो अगाडि आएर कोही माइकालालले विरोध गर्न सकेनन्। त्यो समयमा ओलीलाई चेपुवामा हालेका थिए।’

आफ्ना बाबुले २००० सालअगाडिदेखि धरानका मान्छेको सेवा गरेका कारणले समेत चुनाव जित्नका निम्ति सहज भएको कुन्ताले स्मरण गरिन्।

निर्वाचनपछि माधव गुटका प्रदीप नेपालले ‘हाम्रो गुटमा आउनुहोस् भनेर पटकपटक आग्रह’ गरे पनि आफूले अस्वीकार गरेको उनी बताउँछिन्। ‘ओलीजीले नै मिहिनेत गरेर टिकट दिलाउनुभएको थियो। म जित्नेबित्तिकै कसरी गुट परिवर्तन गर्न सक्थे?’ उनले भनिन्।

उनी निर्वाचित भइसकेपछि एकपटक संसद् बैठक थियो। महिला विधेयकबारे चर्चा भइरहेको थियो। त्यही क्रममा कुन्ताको बोल्ने पालो आयो। उनले संसद्को रोस्ट्रममा उभिएर कुनै ‘रेडिमेड भाषण’ गरिनन्। बरु उनले ‘हामी सहँदै जाउँला’ शीर्षकको कविता सुनाइन्। ‘त्यसबेला संसद्‌‍मा ५ प्रतिशत महिला कोटा थियो। हामीजस्तो महिलालाई कोटामा राख्न आवश्यक थिएन, असक्षम महिलाहरूले कोटा पाउनुपर्छ भन्ने लाग्थ्यो’, शर्मा भन्छिन्, ‘त्यसबेला २०५ सांसदमध्ये ११ जना मात्रै महिला थिए। महिला विधेयकबारे मैले कविता वाचन गर्दा सबैजना स्तब्ध भएको देखेकी थिएँ।’

त्यसबेला कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री रहेको शर्माको सम्झनामा छ। त्यसो त धरानमा टिकट पाउने बेला कांग्रेसबाट गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाको दबदबा थियो। तर सुजाताले टिकट भने पाइनन्।

अहिलेको वातावरण हेर्दा आफूलाई राजनीतिमा वितृष्णा भएको शर्मा बताउँछिन्। आफूहरूले राजनीति गरेको समयमा ‘सेक्रिफाइस’ को राजनीति भए पनि अहिलेको राजनीति भने नाफामूलक र लाभदायी मात्रै भएको उनको तर्क छ।

‘पहिलेको र अहिलेको राजनीतिको तुलना गर्नै मिल्दैन। अहिलेको राजनीति लाभ र नाफामा मात्रै केन्द्रित छ,’ शर्माले यसअघि भनिन्, ‘त्यसबेला सेक्रिफाइको राजनीति थियो। अहिले हामीले व्यवस्था परिवर्तन गर्‍यौँ भने पछि आउने पुस्तालाई सजिलो हुन्छ भनिन्थ्यो। तर काम गर्ने कालु, मकै खाने भालु भनेजस्तै भयो, अहिलेको राजनीति।’

अहिलेको राजनीति कस्तो छ? भन्ने जिज्ञासामा उनी भन्छिन्, ‘कार्यकर्तामा गणेश प्रवृत्ति छ। नेतालाई कसैको चासो छैन।’

‘सरकारले पालेको हुन नै न्यूनतम पढाइ एसएलसी भने पनि’ सांसद हुन् भने एसएलसीसमेत नचाहिने भएकाले यो कानुन संशोधन हुन आवश्यक रहेको उनी सुनाउँछिन्। ‘अहिले त राजनीति गर्नेहरूमा सरल जीवनशैली छैन, उनीहरूलाई लाज र अप्ठ्यारो नै छैन। जनताको जीवनस्तर हेर्दा र नेताहरूको जीवनस्तर हेर्दा नेताको जीवन अकासिएको छ। पब्लिकले के भन्ला, के गर्ला भन्ने पनि छैन’, उनले सुनाइन्।

कुनै समय महेन्द्र बहुमुखी क्याम्पस धरानमा अनेरास्ववियुबाट स्ववियु कोषाध्यक्ष उठेकी कुन्तापछि वामपन्थी नेताहरू मदन भण्डारी, अशोक राईहरूलाई पञ्चायतमा सेल्टर दिने धराने नेत्री हुन्। यसकारण पनि विद्यालयको कक्षाकोठाभन्दा बाहिर निस्किएर समाज र देश बुझ्न अवसर मिल्यो। धरानबाट प्रत्यक्ष सांसदमा निर्वाचित भइन्। आफूलाई पार्टीबाट टिकट दिलाउन एमाले अध्यक्ष केपी शर्मा ओली र निवर्तमान राष्ट्रपति विद्या भण्डारीको भूमिका महत्त्वपूर्ण रहेको शर्माले बताइन्।

२०५६ सालको चुनावमा भने कांग्रेसका चन्द्रप्रसाद श्रेष्ठलाई करिब दुई हजार मतान्तरले पराजित गर्दै उनले चुनाव जितिन् र प्रतिनिधिसभा गठन र पुनर्गठनपछि जम्मा ८ वर्ष सांसद पदमा रहिन्। ‘मैले तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङले जेठी श्रीमती छाडेर कान्छी श्रीमती ल्याएकोमा विरोध गरेँ र, त्यही रिसमा उनले विभिन्न अवसरहरूबाट वञ्चित गराए। म जहिल्यै पनि अरुको भागको सुख र खुसी खोस्नु हुँदैन भन्ने विचार व्यक्त गर्थेँ’, उनी भन्छिन्।

कवि हुनका लागि रहर गरेर लेखिएका कविता दीर्घजीवी हुँदैनन्

‘कवि हुनका लागि रहर गरेर लेखिएका कविता दीर्घजीवी हुँदैनन्’, कुन्ता शर्माले तीसको दशकबाटै कविता लेख्न सुरु गरे पनि ‘पोथी बास्नु हुँदैन’ कविता लेखेपछि उनको परिचयले कविका रूपमा आकार लियो।

अहिलेका कविता लहड र कवि हुनका लागि मात्रै लेखिने गरेको उनको टिप्पणी छ। ‘कवि हुनका लागि रहर गरेर लेखिएका कविता प्रभावशाली हुँदैनन्। दीर्घजीवी हुँदैनन्। यो त टमाटरको खेती गरेजस्तो हुन्छ,’ शर्मा भन्छिन्, ‘मलाई चैँ कविता नआईकन लेख्नै सक्दिनँ। भित्रैबाट आएको कविता अर्कै हुन्छ।’ अनुभूतिको गहनता लेखनसँग जोडिनुपर्ने उनको सुझाव छ।

अहिलेको साहित्य के साँच्चिकै साहित्य लेखिएको छ? उनको जबाफ छ, ‘रातारात कविता लेख्यो, रातारात चर्चामा आयो, रातारात पुरस्कार पायो, यो किसिमको छ अहिलेको साहित्य। अर्काको दुःखमा दुख्न सक्नुपर्छ, होइन भने भोगेको हुनुपर्छ। तर अहिलेका लेखकहरूले समस्याको पहिचान गर्नै सक्दैनन्। उनीहरू अर्काको दुःखमा दुख्न सक्दैनन्, अहिलेको समस्या यही छ।’

अरू मानिसहरूले खान पाएनन् भने लाउन पाएनन्, भोकै बसे भने, पीडा भयो भने कवि-लेखकलाई दुख्नुपर्ने र त्यसलाई लेखिनुपर्ने भए पनि अहिलेको लेखन त्यस्तो नभएको उनको टिप्पणी छ।

मानवीय समस्या मानव रहुन्जेलसम्म रहने र चुनौतीहरू पनि थपिँदै जाने उनी सुनाउँछिन्। ‘रंग न ढंग, न विचार, न शैली’ यस्ता किसिमका कविता लेखनले कविता खास कविताजस्ता नभएको शर्मा सुनाउँछिन्।

‘अहिलेका कवितामा चेतना छैन। यो गलत र बेठिक काम हो भन्ने चेतना नै नभएकाहरूलाई ‘भो अब कविता नलेख’ भनेर मैले आफैँ कविता लेखेँ,’ उनी भन्छिन्।

जीवनले अनुभूति गरिरहनुपर्ने उनी सुनाउँछिन्। कहिले तनावको, कहिले प्रसन्नताको अनुभूति भइरहनुले लेखक सफल हुने शर्मा बताउँछिन्। शर्माले थपिन्, ‘जसको जीवन सरल रेखामा हिँडेको छ, उसलाई भोगाइको अनुभूति हुँदैन। जसको जीवन वक्ररेखामा हिँडेको हुन्छ, ऊ जतिसुकै चुनौती आए पनि फेस गर्न सक्छ। उसको रचना पनि जीवन्त र कालजयी हुन्छ। जिन्दगी भन्नु भोगाइ पनि हो।’

कविता सीधै (अभिधा शैली) लेख्न नहुने, लक्षणा र व्यञ्जना शैलीबाट लेखिनुपर्ने उनी बताउँछिन्। ‘कवितामा सीधै भनिनु र घुमाउरो तरिकाले भनिनुमा आनको तान फरक हुन्छ,’ उनले भनिन्, ‘कविताको उचाइ माथि गइसकेपछि मान्छेलाई आरिस पनि हुँदोरहेछ।’

उनले आफू सानो हुँदा पोथी कुखुरा बास्यो भनेर मारेको देखेको स्मरण गरिन्। पछि आफूले यातना भोगेपछि ‘पोथी बास्नु हुँदैन’ कविता लेखेको उनी बताउँछिन्। ‘हामी सबैको भोगाइ एउटै हुँदैन। जबसम्म मैले भोगिन्, पोथी बासेको कुरा बिर्सिसकेकी थिएँ,’ उनले थपिन्।

सत्यको उत्खनन गर्ने हो भने साहित्यलाई ठट्टाका रूपमा लिन नहुने र यसलाई तपस्याका रूपमा लिनुपर्ने शर्माले बताइन्। ‘साहित्य भनेको त्यो साधना हो, जसले मान्छेलाई जीवन बाँच्न मार्गनिर्देशन गर्छ,’ उनको अनुभूतिले भन्छ।

कुन्ताका म उभिएको ठाउँ (२०५२), मेरो मान्छे (२०७५) र युद्ध लडिरहेको म (२०८०) कविताकृति प्रकाशित छन् भने अरू दुई संग्रह प्रकाशनको तयारीमा छन्। उनी आफ्ना संग्रह त्यतिकै दिन्नन्। कसैले मागेमा पैसै लिएर दिन्छिन्। संग्रह त्यतिकै दिनु वा बाँड्दै हिँड्नु भनेको त्यसभित्र ओजन नहुने उनको बुझाइ छ। अहिलेका महिला उद्दण्ड देखिए, उनीहरूमा चेतना छैन।

अहिलेका महिला उद्दण्ड देखिए, उनीहरूमा चेतना छैन

चर्चित कवि, लेखकहरूले बेलाबेलामा स्टेजमै भन्ने गर्छन्, ‘आफूलाई जतिसुकै ‘फेमिनिस्ट’ कवि भन्नेहरूले जति चर्को स्वर गरे पनि कुन्ता शर्माको ‘पोथी बास्नु हुदैन’ सम्म पुग्न सकेका छैनन्।’ महिलाहरूले आफू अनावश्यक तवरले दबिएर बस्न नहुने शर्माको विचार छ।

‘महिलाकै कुरा गर्ने हो भने विगतमा कति सतीप्रथामा मरे, कोही बिधुवा भएर अनेक चोट सहेर बसे। म त भन्छु, हामी महिला चुनौती व्यहोर्नुपरे पनि बाँच्न पाएका छौँ,’ शर्माले थपिन्, ‘महिलाहरूले अहिले पनि कोहीबाट जस पाउने अवस्था छैन। जताततै चुनौती नै चुनौती छ।’

विद्यमान अवस्थामा महिलाले व्रिदोहमा स्वर उठाइरहनुले पितृसत्तात्मक सोचमाथिको मौनता खलबलिए पनि पर्याप्त भने नभएको उनको तर्क छ। ‘अहिलेका केही प्रतिशत महिलाहरू उद्दण्ड र छाडा भएका छन्। तर पनि महिला त अझै उस्तै पीडित छन्। अहिले चेतनासहितको कविता लेख्ने महिला कति प्रतिशत होलान्?,’ उनको चिन्ता छ, ‘चेतनासहितको लेखन छैन। खाली रोमान्सको मात्रै कुरा आउँछ, त्यो पनि शैली बिनाको। यस्तो लेखन अर्थहीन छ। यसको कारण चेतनाको कमी हो भन्ने लाग्छ।’

महिलाहरू साधारण जीवन बाँच्नभन्दा देखावटीमा मात्रै केन्द्रित हुने गरेको उनको भनाइ छ। यद्यपि उनीहरू आफ्नो बलमा माथि पुग्नै नसकेको समस्या यथावत् रहेको शर्माले नियालिरहेकी छिन्। अहिलेको समाज कस्तो छ? भन्ने जिज्ञासामा उनको जवाफ छ, ‘मैले धेरै नेताहरूसँग संगत गरेँ। मलाई समस्या पर्दा मेरो ‘फेभर’मा कोही पनि उभिएनन्, सबैले टाउको लुकाउने काम गरे। अहिले पनि पितृसत्ताको लेउ गएको छैन। कुनचाहिँ महिला आफ्नो कारण माथि पुगेको छ?’

कोही महिला स्वास्नी भएर, कोही छोरी भएर, कोही बुहारी भएर, सम्धिनी भएर, सासू भएर, प्रेमिका भएर, भान्जी भएर माथि पुगेको र आफ्नो बलमा माथि पुग्नै नदिने गरेको उनी सुनाउँछिन्।

‘हामी महिलासँग पनि च्यालेन्जिङ व्यक्तित्व छैन। म आफैँ नौ वर्षसम्म श्रीमानको कुटाइ खाएर बसेँ, अहिले सम्झिन्छु मैले किन सहेँ? म आफैँ पनि लाचार रहेछु,’ उनको भोगाइ छ, ‘म दह्रो रूख होइन, लहरा त रहेछु भन्ने लाग्यो। त्यसबेला मेरो मानसिकता त्यस्तो रहेछ।’

एकपटक पूर्वकै एकजना महिलाको डिभोर्स भएछ। डिभोर्स भएपछि ती महिलाले ‘आत्महत्या गर्ने सोच’ बनाइछिन्। त्यस क्रममा ती महिलाले कुन्ताको अन्तर्वार्ता कतै पढिछिन्। अन्तर्वार्ता पढेपछि तिनले कुन्ताको भोगाइअघि आफ्नो भोगाइ त सामान्य मात्रै रहेको बुझिछिन्। पछि एक कार्यक्रममा भेट भएपछि उनले कुन्तालाई भनिछिन्, ‘तपाईँबारे पढेपछि मलाई बाँच्न मन लाग्यो। मलाई त लाग्थ्यो कि, मेरो जिन्दगी सकियो।’

शर्माले कविता लेखिरहेकी तर कविताबारे ज्ञान नभएकी एक महिलाबारे किस्सा सुनाइन्। ‘म एउटा साहित्यको कार्यक्रममा गएकी थिएँ। एकजना बहिनीले दिदी तपाईँले ‘पोथी बास्नु हुँदैन’ भनेर कविता लेख्नुभयो। अब म ‘पोथी बास्नुपर्छ भनेर कविता लेख्छु’ भन्नुभयो,’ शर्माले उक्त घटना स्मरण गरिन्, ‘बहिनीको चेतना देखेर म त छक्कै परेँ। पोथी बास्नु हुँदैन कविता लेखिनु भनेको बास्नुपर्छ भनिनु हो नि। ती बहिनीलाई व्यञ्जनाबारे ज्ञान रहेनछ। खासमा महिलाले मुक्ति पाउनुपर्छ भनेर लेखिएको कविता हो।’ अहिले पनि महिलाले त्यही किसिमको सोच राख्ने गरेकोप्रति उनको चिन्ता छ।

महिलाले अहिले पनि न्याय पाउने अवस्था नरहे पनि क्रियाशील हुनुपर्ने, सत्य र न्यायप्रतिको निष्ठामा लाग्नुपर्ने उनको सुझाव छ। अरुको भागको सुख खोस्दा दुःख पाइने उनी बताउँछिन्।  अझै पनि समाजमा भ्रूणहत्या समाजको सबैभन्दा ठूलो समस्या रहेको शर्माको चिन्ता छ।

‘लिंग छुट्टिनेबित्तिकै छोरीले जन्मिनै नपाउने र तलबाटै सिध्याउने प्रचलन आयो,’ शर्माले भनिन्, ‘भोक, रोग, युद्ध सकिएला। तर प्राकृतिक समस्या सकिँदैन।’ संसारभर भइरहेका विभिन्न किसिमका युद्धले सबैभन्दा बढी पीडित महिला रहने उनको भनाइ छ।

महिलालाई न्याय दिलाउने ठाउँमा महिलाहरू नै सफल नभएको उनको टिप्पणी छ। ‘महिला आन्दोलन जसले हाँकिरहेका छन्, तिनीहरूले गन्तव्य सफल छैन,’ उनी भन्छिन्।

जब मदन भण्डारी डिभोर्स माग्न आए…

शर्मालाई शक्तिशाली वामपन्थी नेता मदन भण्डारीले भाउजू सम्बोधन गर्थे। पार्टीमा काम गर्दा उनीहरू एक-र्कालाई ‘कमरेड’ पनि भन्थे। कुन्ताले २७ वर्षको उमेरमा राल्फा आन्दोलनका अभियन्ता, कवि तथा गायक मञ्जुलसँग विवाह गरिन्।

आफैँ प्रकाशक र सम्पादक भएको ‘संकल्प’ साहित्यिक पत्रिका छाप्ने क्रममा कुन्ता काठमाडौँ पुगेकी थिइन्। त्यही क्रममा मञ्जुलसँग भेट भयो। उनी आईए पढेका थिए भने कुन्ता बी कम पास गरिसकेकी थिइन्।

मञ्जुलले प्रज्ञा प्रतिष्ठानकै छेउमा ‘मैले आमा जस्तै स्वभाव तपाईँमा पाएको छु। मसँग दुई पाइला टेक्ने भुइँ पनि छैन’ भनेर प्रेम प्रस्ताव राखेको उनले स्मरण गरिन्। आमाले हुन्छ भनेपछि मात्र प्रेम स्वीकार्ने सर्तमा कुन्ता धरान आइन्। उनी धरान आएको केही दिनमै मञ्जुलका चिठीहरू आए। चिठी मात्रै होइन, उनी आफैँ धरान आए। मञ्जुलले आफू डोरी बोकेर आएको र ‘मेरो प्रेम, कि तिम्रो घरमा झुण्डिएको मेरो लास स्वीकार गर’ भनेपछि विवाह गर्नुपरेको कुन्ता सुनाउँछिन्।

कुन्ता र मञ्जुलको विवाह भएको नौ वर्षपछि उनीहरू छुट्टिए। विभिन्न व्यक्तिहरूसँग जोडेर मञ्जुलले कुन्तामाथि आरोपसमेत लगाए। मञ्जुलले अर्की श्रीमती ल्याए। ०३९ सालमै एकअर्कासँग छुट्टिएका उनीहरूको २०६३ सालमा मात्रै कानुनी रूपमा सम्बन्धविच्छेद भयो।

अहिले तीन छोराहरू आआफ्नो कर्म गरिरहेकोमा कुन्ता खुसी हुन्छिन्। ‘बुबाको माया नपाएरै पनि उनीहरू संघर्ष गरिरहे,’ कुन्ता भन्छिन्, ‘मैले आफैँ अनेक दुःख, यातना भोगेर छोराहरूलाई पढाए, बढाएँ र जीवन बाँच्न सिकाएँ।’

विवाह भएपछि आफ्नो जीवन उल्टो चलेको कुन्ता सुनाउँछिन्। ‘मेरो ठाउँमा अरू महिला भएको भए, कि पागल हुन्थे, कि सुसाइट गर्थेँ,’ कुन्ताको अनुमान छ, ‘मेरो विवाह भएपछि उल्टो चल्यो जीवन। संस्कारविहीन र धैर्य नभएको मान्छे भएको भए पागल हुन्थे। म त बाल्यकालको संस्कारले गर्दा धैर्य रहन सकेँ।’

उनले विवाहको सम्बन्ध सकिएपछि ‘पोथी बास्नु हुँदैन’ कविता लेखेको र त्योबाहेक अरू कविता पनि राम्रा भए पनि त्यसैले मात्र चर्चा पाएको सुनाइन्। कुन्ताका बुबा कविराज थिए। उनी औषधि बनाउँथे। बाल्यकालमा अलिकति दुःखको महसुस नगरेकी कुन्ताले विवाहपछि भने अनेकन् अवरोह खेप्नुपरेको सुनाउँदा अहिले पनि आक्रोशित हुन्छिन्। ‘बुबाले आमालाई कुटेको जीवनमा देखिएन, थाहा पाउनुपरेन,’ शर्मा आफ्नो भोगाइ सम्झिँदा घरीघरी कारुणिक बन्छिन्, ‘हिमालयबाट एकैपटक रेगिस्तानमा पुगेजस्तो भयो जीवन।’

त्यतिबेला ढिलो विवाह गर्नु भनेको अनौठो कुरा हुन्थ्यो। कि शारीरिक खोट भएर, कि अरू नै कारण विवाह हुँदैनथ्यो। ‘एकातिर बच्चा बोकेर साथीहरू आउँथे। म भने अर्थशास्त्रको किताब बोकेर पढ्न जान्थेँ,’ उनले आफू युवती हुँदाको क्षण सम्झिइन्, ‘बुबा पितृसत्तात्मक सोचले ग्रसित हुनुहुन्थेन। माहोल सुन्दर थियो। घरकाले मात्रै होइन, गोठाला र खेतालाले पनि माया पाउँथे।’

०३९ सालको एक बिहान मदन भण्डारी धरान आए। कुन्तालाई लाग्यो कि, पार्टीकै काम अथवा अरू नै कुनै कामले आएका थिए। मदनले कुन्तालाई भने ‘कमरेड मञ्जुलले डिभोर्स मागिरहनुभएको छ, तपाईँले डिभोर्स दिए पनि त भयो नि?’

कुन्ता आक्रान्त बनिन् र जबाफमा भनिन्, ‘आइन्दादेखि यो डिभोर्सको कुरा लिएर मसँग नआउनुहोला कमरेड। मैले उसलाई (मञ्जुल) पढाएँ। यतिका छोराछोरी भए। अहिले छोराछोरीले माया पाउने बेला डिभोर्स माग्ने?’

त्यसपछि मदन भण्डारी फर्किए। तर मञ्जुलको प्रेम फर्किएन। त्यस बेला मदनको कार्यक्षेत्र पूर्वाञ्चल थियो। उनी कुन्ताबारे धेरै जानकार थिए र सेल्टर पनि उनकै घरमा थियो। तर पनि यसरी डिभोर्सको प्रस्ताव गर्दा आफूलाई असह्य भएको शर्मा बताउँछिन्।

‘मैले पल्लो किनारामा पुगेर जीवन भोगेँ। मैले बिहा गरिन भने ऊ झुण्डिएर मर्ने, माइतबाट १७ कट्ठा घडेरी, तीन बिघा खेत र २० तोला सुन लिएर विवाह गरेकी थिएँ,’ शर्माले थपिन्, ‘त्यस्तो अवस्थामा मैले श्रीमान्बाट गालीगलौज र कुटपिट सहनुपथ्र्यो भने अरु महिलाको हालत के हुन्थ्यो होला?’

आफू शिक्षण पेसामा हुँदा मासिक दुई सय पचास रुपैयाँ कमाइ हुने गरेको बताउँदै उनले भनिन्, ‘म जागिरे थिएँ। महिनैपिच्छे एक तोला सुन किन्न सक्ने पैसा थियो। त्यसबेला एक तोला सुनको दुई सय रुपैयाँ पर्थ्यो। ’

मानिसहरू धन, प्रसिद्धि र पदप्रति आशक्ति भए

खासमा जीवन के रहेछ? कुन्ता भन्छिन्, ‘जीवन भनेको संयोग हो। हामी चाहेर जन्मिएका होइनौँ। कसैले नचाहेरै जन्मिएका हौँ। यो विज्ञान हो, ठूलो कुरा होइन।’ सफलताको परिभाषाबारे भने कुन्ताको फरक टिप्पणी छ। ‘समाजले बनाइदिएको सफलताको सूत्र पदमा गयो भने, ऐस, आराम भयो भने, पैसा कमायो भने सफल मानिने प्रचलन छ,’ उनी भन्छिन्, ‘नाम, मान सम्मान, प्रसिद्धि भन्ने केही होइन। समय क्रममा सबै हराइहाल्छ, अरूलाई दुःख दिने काम, अर्काको सुख मास्ने काम गर्नुहुँदैन, त्यो नै मान्छेको सफलता हो।’

मान्छेको जीवनको जुनसुकै रङ पनि बिस्तारै धमिलिँदै जाने उनले सुनाइन्। ‘हामीले कमाएको वैभवको कुनै सीमा छैन। अथाह वैभवले जीवन जिनाहराम गरिदिन्छ,’ शर्मा सुनाउँछिन्, ‘मानिसले धन, प्रसिद्धि र पदप्रति आशक्ति राख्नुको अर्थ छैन।’

मानिसहरू ‘अकर्मण्य’ हुँदै गइरहेकोमा उनको चिन्ता छ। जीवनमा मान्छेले ठूलो आकांक्षा राख्न नहुने तर ‘क्रियटिभ’ हुनुपर्ने शर्मा बताउँछिन्। ‘मेरो अगाडि जे आए पनि सबै फेस गरेको छु, सबैलाई पार गरेको छु। जिन्दगीमा जेजे अगाडि आउँछ, सुख, दुःख खुसी, पीडा चिन्ता सबैलाई फेस गर्नुपर्दोरहेछ,’ उनले जीवनको दुःख फेरि सम्झिइन्, ‘तनाव त कति आए कति भनेर साध्य छैन।’

एक दिन धरानमै एकजनाले कुन्तालाई भनेछन्, ‘तपाईँ त जिउँदो इतिहास हो।’ त्यसपछि कुन्तालाई लाग्यो, ‘कसको इतिहास कसले पढ्छ? अब त हामी यान्त्रिक हुँदै गइरहेका छौँ। मेरो इतिहासको आयु कति हो?’

आफूले कुपी र लालटिनमा पढेको स्मरण गर्दै उनले नेपाल ढिलो परिवर्तन हुने ठाउँ भएको र खासै परिवर्तन र विकास अझै भइनसकेको बताइन्। ‘घुमिरहेको पृथ्वी ४० सेकेन्ड मात्रै अडियो भने सबै पानीपानी हुन्छ। डिजास्टर हुन्छ। जीवनलाई त्यसरी पनि सोच्नुपर्छ,’ वर्तमान समाजप्रति उनको सुझाव छ, ‘कोही पनि अकर्मण्य हुनुहुँदैन। नाम, पद र पैसाका लागि धेरै पछि लाग्नु हुँदैन।’

प्रकाशित: ८ असार २०८१ १०:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eleven =