सुदूरपश्चिम : प्रचण्डको निर्देशन लत्याउँदै माओवादी

किरण पौडेल ७ असार २०८१ १६:०७
82
SHARES
सुदूरपश्चिम : प्रचण्डको निर्देशन लत्याउँदै माओवादी माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, खगराज भट्ट र मानबहादुर धामी।

काठमाडौँ- सुदूरपश्चिम प्रदेश सरकारमा नयाँ मन्त्री पठाएपछि नेकपा माओवादी केन्द्रमा फेरि विवाद देखिएको छ। संसदीय दलका नेता मानबहादुर धामीले एकलौटी रूपमा मन्त्री पठाएपछि विवाद बल्झिएको नेताहरू बताउँछन्। माओवादी स्रोतका अनुसार धामीले संसदीय दलको बैठक स्थगित गरेर मन्त्रीको नाम पठाएका थिए। सुदूरपश्चिममा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी मुख्यमन्त्री छन्।

धामीले पठाएको नामावली कार्यान्वयन नगर्न माओवादीका अर्का नेता खगराज भट्ट पक्षले पत्र लेखेको थियो। भट्ट पक्षीय एक सांसदले भने, ‘हामी पाँच सांसदले मुख्यमन्त्रीलाई भेटेर धामीको निर्णय नमान्न आग्रह गरेका हौँ।’

माओवादीबाट अक्कलबहादुर रावल, ओमविक्रम भाट र लक्ष्मी विक मन्त्री बनेका छन्। यी सबै धामीपक्षीय नेता हुन्। सुदूरपश्चिम माओवादीमा गुटगत टकरावका कारण विवाद भएको नेताहरूले बताएका छन्। धामी माओवादी उपमहासचिव वर्षमान पुन पक्षधर र भट्ट अर्का उपमहासचिव जनार्दन शर्मा निकट मानिन्छन्।

विवाद धामी र भट्ट वा पुन र शर्मामा मात्र सीमित छैन। विवाद सोडारी सरकारमा मन्त्रीको नाम पठाउँदा मात्र भएको पनि होइन। यसअघि प्रदेश संसदीय दलको नेताबाट भट्टलाई हटाएपछि नेताहरूबीच मनमुटाव देखिएको हो।

माओवादी संसदीय दलको बैठकले यसअघि भट्टलाई हटाएर धामी संसदीय दलको नेता बनेका थिए। भट्टलाई हटाएको भन्दै माओवादीभित्र किचलो बढेको थियो। त्यसबेला धामी पक्षले बहुमतको हवाला दिँदै दलको नेता चुनेको थियो। ‘संसदीय दल चल्दै नचलेपछि हामी नेता फेर्न बाध्य भएका थियौँ’, माओवादीका नेता अक्कल रावल भन्छन्।

विवाद बल्झिएपछि मंगलबार अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलको नेता फेर्न निर्देशन दिएका थिए। भट्ट सिनियर नेता भएको प्रचण्डको भनाइ थियो। ‘अध्यक्षज्यूले निर्देशन दिनुभयो। कार्यान्वयन भएको छैन’, भट्टले भने।

अध्यक्षको निर्देशनबारे पनि प्रदेशमा विवाद छ। नेता रावल सहमति कार्यान्वयन गर्न अध्यक्षले निर्देशन दिएको बताउँछन्। ‘हामीबीच सहमति हुने सम्भावना छैन, भएमा फेर्छौँ’, रावल भन्छन्।

यिनै दुई पक्षको विवादका कारण सुदूरपश्चिम सरकारमा समेत किचलो छ। एकपक्षले मन्त्री पठाउने र अर्कोपक्षले विरोध गर्दा मुख्यमन्त्री सोडारी पनि विवादमा तानिएका छन्। भट्ट पक्ष भने प्रचण्डको निर्देशनसमेत धामीले नमानेको बताउँदै आएको छ।

सुदूरपश्चिम प्रदेशमा भट्ट माओवादीका सिनियर नेता हुन्। उनी पार्टीका स्थायी समिति सदस्यसमेत हुन्। डडेल्धुराका भट्टले प्रतिनिधिसभामा तीन पटकसम्म कांग्रेस सभापति शेरबहादुर देउवासँग चुनाव हारे। २०७९ को चुनावमा भने उनी प्रदेश झरेका हुन्। प्रदेशमा चुनाव लड्ने भट्टको रुचि होइन।

तत्कालीन माओवादी र कांग्रेस गठबन्धनबाट उनलाई प्रदेशसभामा सिफारिस गरिएको थियो। देउवा र प्रचण्डले मुख्यमन्त्री बनाउन भट्टलाई प्रदेश झारे। चुनाव जिते र भट्ट माओवादीको संसदीय दलको नेतासमेत चयन भए। उनी मुख्यमन्त्री बन्ने तरखर गर्दै गर्दा संसदीय दलको नेता पद पनि गयो। भट्ट पक्ष अध्यक्ष प्रचण्ड यो मामिलामा मौन रहेको दाबी गर्छ।

भट्टपक्षीय एक नेताका अनुसार भट्टका बारेमा अनेक काल्पनिक कुरा उठाएर कमजोर बनाउने काम भएको छ। ‘कहिले एमालेमा जान लाग्यो भनेको छ। कहिले पार्टी चलाएन भनेको छ’, ती नेता भन्छन्, खगराज दाइ सिनियर नेता हो। यसरी अपमान गरिएको छ।’

विवादमा तानिए गिरिराजमणि

माओवादीको सुदूरपश्चिम प्रदेश इन्चार्जमा उपमहासचिव गिरिराजमणि पोखरेल छन्। उनले भट्टलाई काखी च्यापेकोे धामी पक्षको आरोप छ। इन्चार्ज नै भट्टलाई मुख्यमन्त्री बनाउन लागेकाले माओवादीमा विवाद भएको उपनेता रावल बताउँछन्। धामीले पोखरेललाई पनि थाहा नदिई मन्त्री पठाएको उनको आरोप छ। पोखरेलले धामीलाई सर्वसम्मत मन्त्री टुंग्याउन निर्देशन दिएका थिए। यसबारे पोखरेलले आापत्ति जनाएका छन्।

प्रचण्डलाई भेट्दा भने पोखरेलले कुनै पक्षतर्फ नलागेको माओवादी स्रोत बताउँछ। यता रावल भने पोखरेललाई समेत साधेर मन्त्रीको नाम पठाएको दाबी गर्छन्।
सुदूरपश्चिम माओवादीका सांसदहरू शिवसिंह ओली, झपट साउद र लक्ष्मी विक नारायणकाजी श्रेष्ठ निकट मानिन्छन्।

शर्मा निकट प्यानल एकातिर छ भने नारायणकाजी-वर्षमान प्यानल अर्कातिर रहेको सुदूरपश्चिम प्रदेश कमिटीका एक पदाधिकारीले बताए। ११ संसद रहेको माओवादीमा ७ सांसदले धामीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए। अब भने नारायणकाजी निकट सांसदले पनि भट्टलाई साथ दिने सम्भावना छ। किनकि इन्चार्ज गिरिराजमणि पनि नारायणकाजी निकटस्थ हुन्। यही कारण भट्ट निर्वाचनबाट भए पनि दलको नेता चुनिने तयारीमा लागेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =