अनेक समस्या चिर्दै अब्बल बनिरहेको ज्ञानोदय

हिमाल प्रेस ३ असार २०८१ १५:२५
232
SHARES
अनेक समस्या चिर्दै अब्बल बनिरहेको ज्ञानोदय काठमाडौँको बाफलस्थित ज्ञानोदय माविले आयोजना गरेको बिदाइ, सम्मान तथा फेरि भेटौँला कार्यक्रम। तस्बिर : हिमाल प्रेस

काठमाडौँ– काठमाडौँको बाफलस्थित ज्ञानोदय मावि देशका सामुदायिक विद्यालयको उत्कृष्ट सूचीमा रहँदै आएको छ। विद्यार्थी संख्या, कक्षा १० र १२ को अन्तिम नतिजा, त्यहाँ अध्ययन गरेका पूर्वविद्यार्थीले विभिन्न क्षेत्रमा संलग्न रहेर दिइरहेको योगदानका कारण राम्रा विद्यालयको चर्चा हुँदा ज्ञानोदय प्रायः छुट्दैन।

विद्यालयले आयोजना गरेको  बिदाइ, सम्मान तथा फेरि भेटौँला कार्यक्रममा प्रधानाध्यापक विष्णु घिमिरे रिमालले भनिन्, ‘एसईईमा हरेक वर्ष अब्बल नतिजा ल्याइरहेका छौँ। कक्षा ११ सञ्चालन गरेको एक दशकमा शैक्षिक प्रगतिले निकै फड्को मारेको छ। विद्यार्थी, अभिभावक र शिक्षकको त्रिकोणात्मक समन्वय नै हाम्रो सफलताको कडी हो।’ सिकाइ गतिविधि अब्बल भएकै कारण अभिभावकहरूको आकर्षण बढिरहेको उनले बताइन्।

विद्यालयमा बाहिरबाट हेर्दा जति आकर्षण छ, भित्र भने अनेक समस्यासँग जुध्नुपरेको बताउँछिन् प्रधानाध्यापक रिमाल। यद्यपि भर्ना हुन चाहने विद्यार्थीलाई राख्न नसकिएको उनले बताइन्। रिमालले चालु शैक्षिक सत्रमा आवेदन दिएकामध्ये १५ सय विद्यार्थीलाई त्यत्तिकै फर्काउनुपरेको उनले जानकारी दिइन्। उनले भनिन्, ‘ती सबै विद्यार्थीलाई भर्ना गर्न नपाउँदा साह्रै दुःखी भएकी छु।’

उनले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी निकै कम रहेको उनले जानकारी दिइन्। यसैगरी निजी स्रोतमा शिक्षक खटाउनुपर्दा विद्यालयले ठूलो आर्थिक व्यहोर्नुपरको छ।
रिमालका अनुसार मैदान सानो हुँदा प्रार्थनासभा एकैपटक गर्न पाइएको छैन। बिहान र दिउँसो गरी दुई पटक प्रार्थनासभा गरिन्छ भने मैदानमा नअटाएका बालबालिका कक्षाकोठामै प्रार्थनासभामा सहभागी हुन्छन्। घिमिरेले भनिन्, ‘खेलकुद मैदानको अभाव छ। खेल सामग्री पनि पर्याप्त छैनन्। भवन नहुँदा कक्षाकोठा अपुग छ।’

विद्यालयमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको बुक फ्री फ्राइडेका लागि कोठा छैनन्। प्रत्येक कक्षाकोठालाई प्रविधिमैत्री बनाउन नसकिएको, कक्षाकोठामा आधुनिक डेस्क बेन्च पु¥याउन नसकिएको प्रधानाध्यापक रिमालले बताइन्। उनले भनिन्, ‘हामी यस्ता धेरै समस्या चिर्दै अघि बढिरहेका छौँ।’ विद्यालयमा भौतिक पूर्वाधार थप्नु र भवन निर्माणमा सहयोग गर्न उनले दाताहरूलाई आग्रह गरिन्। यस्तै शिक्षण सिकाइका लागि विद्यार्थी अनुपातमा दरबन्दी आवश्यक रहेको उनको भनाइ छ।

साथै रिमालले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदेशको सपना नदेखी स्वदेशमै केही गरेर देखाउन आग्रह गरिन्। उनले भनिन्, ‘भाइबहिनीहरू विदेश जाने होइन स्वदेशमै उद्यम गर्नुपर्छ। स्वदेशमै केही गरौँ, यहाँको माटोलाई चिनौँ, यहीँको सभ्यता र संस्कृतिलाई मलजल गरौँ।’

कार्यक्रमका प्रमुख अतिथि रहेका युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले विद्यालयको भौतिक पूर्वाधार निर्माणमा आफूले सक्दो सहयोग गर्ने वचन दिए। मन्त्री श्रेष्ठले विगतमा पनि आफूले कुनै आश्वासन नदिएको तर कोसिस गर्छु भनेर वचन दिएको काम ८० प्रतिशत सफल भएको बताए। उनले भने, ‘विद्यालयको भौतिक पूर्वाधार निर्माणमा मेरो सक्दो पहल रहनेछ।’

मन्त्री श्रेष्ठले कक्षा १२ सकेर नयाँ भविष्यका लागि अघि बढेका विद्यार्थीलाई शुभकामना दिए। उनले जिम्मेवारी थपिएकाले सोहीअनुसार अघि बढ्न विद्यार्थीलाई आग्रह गरे।
मन्त्री श्रेष्ठका अनुसार आगामी आर्थिक वर्षको बजेटमा सरकारले युवा तथा खेलकुद मन्त्रालयमार्फत युवा लक्षित विभिन्न कार्यक्रम समावेश गरिएको छ।

उनले भने, ‘युवा र कला, युवा र संस्कृति, युवा र मानसिक स्वास्थ्य, युवा र अध्यात्मजस्ता कार्यक्रमका लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ।’ यसका लागि एक लाख युवा परिचालन गरिने उनको भनाइ छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु कोइराला, शिक्षक अभिभावक संघका अध्यक्ष दिवाकर भट्टराई, पूर्वअध्यक्ष सागरराज कुँवर, व्यवस्थापन समितिका सदस्यद्वय रामेश्वर गौतम, तारानाथ भण्डारी, पूर्वप्रधानाध्यापक धनञ्जय शर्मा, शिक्षकहरू विष्णु ज्ञवाली, प्रकाश काफ्लेलगायतले सम्बोधन गरेका थिए।

विद्यालयले काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकृत मोतीराज खनाल, विद्यालय व्यवस्थापन समितिकी पूर्वअध्यक्ष उर्मिला माली, पूर्वप्रधानाध्यापक नातिकाजी मजर्हन, शिक्षक अभिभावक संघका पूर्वअध्यक्ष सागरराज कुँवरलगायतलाई सम्मान गरेको थियो। कक्षा १० र १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो भने कक्षा १० र १२ सकेका विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो।

सो अवसरमा विद्यालयको स्मारिका ज्ञानज्योति र ज्ञानोदय हेराल्ड विमोचन गरिएको थियो।

२०२० सालमा स्थानीय दाता कान्छा महर्जनले जग्गा दिएर स्थापना भएको विद्यालयमा बालकक्षादेखि १२ सम्म पढाइ हुन्छ। काठमाडौँ महानगरपालिका-१३ मा रहेको विद्यालयमा हाल सबै कक्षामा गरी ४७ सय विद्यार्थी अध्ययनरत छन्। शिक्षक कर्मचारी गरी १५५ जना कार्यरत रहेको प्रधानाध्यापक रिमालले बताइन्। तीमध्ये ६७ जना दरबन्दीमा र ८८ जना निजी स्रोतमा कार्यरत छन्।

प्रकाशित: ३ असार २०८१ १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 9 =