चिनियाँ मन्त्री लुम्बिनीमा, गौतम बुद्ध विमानस्थलमा उडान गर्ने प्रतिबद्धता

हिमाल प्रेस ३० जेठ २०८१ २०:२१
52
SHARES
चिनियाँ मन्त्री लुम्बिनीमा, गौतम बुद्ध विमानस्थलमा उडान गर्ने प्रतिबद्धता लुम्बिनी भ्रमणमा रहेका चीनका राष्ट्रिय धार्मिक सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेङका साथ लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) लगायत। तस्बिर : विनोद परियार

लुम्बिनी– चीनका राष्ट्रिय धार्मिक सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेङले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। मन्त्रीसहितको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले स्वागत गरेका हुन्।

बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर आगामी दिनमा गर्न सकिने सहकार्य, चिनियाँ विहारमार्फत लुम्बिनीको पर्यटन प्रवर्धन गर्ने एवम् नेपाल-चीन सांस्कृतिक सम्बन्ध दिगो बनाउने उद्देश्यका साथ लुम्बिनी भ्रमणमा आएको मन्त्री रुइफेङले बताए। मन्त्री रुइफेङले मायादेवी मन्दिरन, अशोक स्तम्भ, पुष्करणी पोखरी, शान्ति दीप अवलोकन गर्दै लुम्बिनीबारे जानकारी लिएका थिए।

भ्रमणका क्रममा कोषका उपाध्यक्ष डा. लामाले लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेकाले चीनबाट नियमित उडानका लागि तत्तकाल पहल गर्न आग्रह गरे। उनले नियमित उडान हुँदा बुद्धजन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्वधनसँगै बुद्धको सन्देश विश्वव्यापी बनाउन सकिने भएकाले छिमेकी राष्ट्रको हिसाबले सहयोगका लागि पहल गर्न आग्रह गरे।

यस्तै चीनसँग नेपालको पुरानो सम्बन्ध रहेको बताउँदै आफूहरू लुम्बिनीमा चिनियाँ तीर्थ यात्रुलाई स्वागत गर्न आतुर रहेको बताए।

चिनियाँ मन्त्री रुईफेङले चीनबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने प्रतिबद्धता जनाए। उनले आफूहरु लुम्बिनी र नेपालसँगको सहकार्यका लागि सदैव सकारात्मक रहेको पनि बताए। साथै उनले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा चीन सरकार तयारीमा जुटिसकेको जानकारी दिए।

उनले राजनीतिक रुपमा सचेत व्यक्ति लुम्बिनी विकास कोषको उपाध्यक्ष भएकोमा देख्दा निकै खुसी लागेको बताउँदै चीन सरकार बुद्ध, लुम्बिनी र नेपालीहरुसँग सहकार्यका लागि सदैव सकरात्मक रहने बताए।

मन्त्री रुइफेङसँगै नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, चीनको राष्ट्रिय धार्मिक मामिला प्रशासनका धार्मिक मामिला ब्युरो प्रमुख हुआङ झिहुईसहितको उपस्थिति थियो।

मन्त्रीसहितको टोलीको स्वागतमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्टार तिलक आचार्य, कोषका कार्यकारिणी सदस्य श्याम रोक्का, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईलगायतको उपस्थिति थियो।

मन्त्री रुइफेङले लुम्बिनी विकास कोषको कार्यालयमा भेटघाट गरी उपाध्यक्ष लामासँग मायाको चिनो आदानप्रदानसमेत गरेका थिए।

यसैगरी मन्त्री रुईफेङले लुम्बिनीस्थित चिनियाँ विहारको समेत भ्रमण गरे। विहारमा चाइनिज बुद्धिस्ट सोसाइटीका उपाध्यक्ष मास्टर यिन सुनले जानकारीसहित बिफ्रिङ गरेका थिए। मन्त्री रुइफेङले चिनियाँ विहारको भ्रमणसँगै त्यहाँ निर्माण हुने विहारको शिलान्यास र पीपलको बिरुवा रोपेका थिए। यसअघि चिनियाँ मन्त्री चेनलाई अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलमा चीन-नेपाल मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण सापकोटाले स्वागत गरेका थिए।

बुधबार नै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि चिनियाँ मन्त्रीको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका थिए।

प्रकाशित: ३० जेठ २०८१ २०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − two =