 
                             
                                            काठमाडौँ– नेपाल समाजवादी पार्टी (नेसपा) ले गण्डकी प्रदेश सरकारलाई कानुनबमोजिम नै विश्वासको मत दिएको प्रस्ट पारेको छ। पार्टीले सोमबार विज्ञप्ति प्रकाशित गरी फ्लोर क्रस गरिएको प्रचारबाजीबाट भ्रमित नहुन आग्रह गरेको हो। नेसपाका प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले माओवादीको ह्विप उल्लंघन गर्दै सोमबार भएको मतदानमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए।
नेसपा केन्द्रीय प्रवक्ता कृष्ण शर्माले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेसपा गण्डकी प्रदेशसभा सदस्य देवकोटाले मुख्यमन्त्री पाण्डेलाई दिएको मत कानुनसम्मत भएको स्पष्ट पारिएको छ।
‘गण्डकी प्रदेशसभामा नेपाल समाजवादी पार्टीले संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी विश्वासको मत दिएको अवस्था हो। नेपाल समाजवादी पार्टीले संविधानको मर्म, भावना र मौजूदा कानुनी व्यवस्थाबमोजिम गरेको निर्णयलाई फ्लोर क्रस भनी गरिएको प्रचारबाजीबाट भ्रमित नहुन सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछौँ’ ,विज्ञप्तिमा उल्लेख छ।
प्रदेशसभा चुनावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित गठबन्धन गरी भाग लिएका थिए। नेसपाले माओवादी केन्द्रसँग नेपालको संविधान धारा १७ को उपधारा (२) खण्ड (ग) र राजननीतिक दलसम्बधी ऐन २०७३ को दफा ४९ ले दिएको अधिकार प्रयोग गरी दलको छुट्टै स्वतन्त्र अस्तित्वसहित चुनावमा सहकार्य भएको नेसपाको भनाइ छ।
विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा नेपाल समाजवादी पार्टीको निर्देशन र जनताले आमनिर्वाचनमा दिएको जनादेशबमोजिम हाम्रो पार्टीका प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले विश्वासको मत दिनुभएको हो। यस अवस्थामा उहाँले दिनुभएको विश्वासको मतलाई आधार बनाएर अन्य दलले ह्विप जारी गरी कारबाही गर्न मिल्ने अवस्था होइन।’
नेसपाले फणीन्द्र देवकोटाले गोरखा २ (१) मा उम्मेदवारी दर्ता गर्दा नै मनोनयन फाराममा नेपाल समाजवादी पार्टीका तर्फबाट उम्मेदवार भनेर जनाएको बताएको छ।
निर्वाचनमा गोरखा २ (१) मा उम्मेदवारी दर्ता गर्दा नै देवकोटाले मनोनयन फाराममा नेपाल समाजवादी पार्टीका तर्फबाट उम्मेदवार भनेर जनाएको र निर्वाचनपश्चात निर्वाचन आयोगले देवकोटालाई नेपाल समाजवादी पार्टीको विजयी सांसद भनी प्रमाणपत्र र परिचयपत्र दिएको पनि नेसपाले जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगमा भएको अभिलेखमा समेत नेपाल समाजवादी पार्टीका प्रदेशसभा सदस्य भनेर उल्लेख गरेको अवस्था छ।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                    


 
  
  
  
  
  
  
  
  
  
 