आर्थिक सुधारले गति लिने प्रधानमन्त्रीको दाबी

हिमाल प्रेस १६ जेठ २०८१ १६:०३
8
SHARES
आर्थिक सुधारले गति लिने प्रधानमन्त्रीको दाबी चौतारा अस्पतालको बुधबार उद्‌घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : प्रधानमन्त्रीको सचिवालय

सिन्धुपाल्चोक– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएछि आर्थिक सुधारले गति लिने दाबी गरेका छन्।

चौतारा अस्पतालको भवन उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन, उत्पादकत्व र रोजगारी प्रवर्द्धन गर्ने गरी बजेट सार्वजनिक गरिएको बताए।

‘गणतन्त्र स्थापनापछि थुप्रै उपलब्धि हासिल गरेका छौँ। पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायतका सार्वजनिक क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ’, प्रधानमन्त्रीले भने, ‘सदनमा प्रस्तुत बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेको छ।’

उनले नीति कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई अनुभूतिको तहसम्म ल्याइपुर्‍याउने किसिमले संघीय सरकारले रणनीतिक महत्त्वका कार्यक्रम अघि सारेको जानकारी दिए।

‘प्रदेश सरकारको नीति तथा कार्यक्रमले समेत यसलाई अघि सारेको छ। त्यसैले व्यवस्था मात्र परिवर्तन भयो, अवस्था उस्तै छ भन्ने भाष्य क्रमशः परिवर्तन हुँदैछ’, प्रधानमन्त्री प्रचण्डले भने। उनले पछिल्ला दिनमा अस्पतालको सेवाप्रवाहमा गुणात्मक परिवर्तन आएको दाबी गरे।

प्रधानमन्त्री प्रचण्डले स्वस्थ नागरिकबाटै समृद्धिको सपना साकार हुने विश्वास व्यक्त गरे। ‘शारीरिक तथा मानसिक रूपमा सबल, सक्षम र स्वस्थ नागरिकको प्रयत्नबाट मात्रै कतिपय देशहरू हरेक क्षेत्रमा फड्को मार्न सफल भएका छन्’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यही कुरालाई मनन गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएका छौँ।’

महाभूकम्पले भत्काएको चौतारा अस्पतालको पुनःनिर्माण प्रक्रिया अघि बढाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ भवन निर्माण भएसँगै अस्पतालको खुलाचौरमा टेन्छटभित्र स्वास्थ्य उपचार गर्नुपर्ने बाध्यता अन्त्य भइ सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गरे।

प्रकाशित: १६ जेठ २०८१ १६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + twelve =