गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

विजय नेपाल १६ जेठ २०८१ १४:५४
22
SHARES
गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई बुधबार मुख्यमन्त्री नियुक्त गरिएको पत्र हस्तान्तरण गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट। तस्बिर स्रोत : प्रदेश प्रमुखको कार्यालय

पोखरा– सर्वोच्च अदालतको परमादेशको आदेशबमोजिम गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त भएका छन्। उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १६८ (३) बमोजिम बुधबार दिउँसो मुख्यमन्त्री नियुक्त गरेका हुन्।

यसअघि, एमालेका खगराज अधिकारीले प्राप्त गरेको भनिएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्चले सोमबार उनलाई पदमुक्त गर्दै पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्तिको फैसला सुनाएको थियो। पाण्डेले आजै साँझ शपथ लिने तयारी छ।

केन्द्रमा सत्ता गठबन्धनको समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री बनेका अधिकारीको नियुक्ति र विश्वासको मतविरुद्ध कांग्रेस ससंदीय दलका नेता पाण्डेले सर्वोच्चमा दुई छुट्टाछुट्टै रिट दर्ता गरेका थिए।

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते लिएको विश्वासको मतविरुद्ध परेको रिटमाथि सोमबार न्यायाधीशहरु कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले ६० सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ३१ जनाको समर्थन हुनुपर्ने व्याख्या गरेको छ।

अदालतले अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक ठहर गर्दै ४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा ३ अनुसार कांग्रेस संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र एक जना स्वतन्त्र सांसद छन्।

पाण्डे यसअघि २०८० वैशाख १४ गते मन्त्री पदमा नियुक्त भएका थिए। उनी २०७९ को प्रदेशसभा निर्वाचनमा गोरखा–२ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

यसैगरी नेकपा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रकाशित: १६ जेठ २०८१ १४:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =