पशुपतिनाथ, स्वर्गद्वारी र मुक्तिनाथ दर्शनका लागि सीमामा यातायात

हिमाल प्रेस १५ जेठ २०८१ २१:३९
14
SHARES
पशुपतिनाथ, स्वर्गद्वारी र मुक्तिनाथ दर्शनका लागि सीमामा यातायात

काठमाडौँ- नेपालको धार्मिक पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रसँगको सहकार्यमा नेपाल–भारत सीमा नाकाबाट पशुपतिनाथ, स्वर्गद्वारी र मुक्तिनाथ दर्शन यातायात सेवा सञ्चालन गरिने भएको छ।

अर्थमन्त्री वर्षमान पुनद्वारा आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा तीर्थयात्रीलाई सहजरूपमा प्रमुख धार्मिकस्थल दर्शन गर्ने व्यवस्था मिलाउन दर्शन यातायात सेवा सञ्चालन गर्न लागिएको हो।

छिमेकी मुलुक भारत र चीन तथा अन्य मुलुकका प्रमुख सहरमा पर्यटक लक्षित रोड ‘सो’, मेला, महोत्सवजस्ता पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनुका साथै सीमावर्ती जिल्लामा छिमेकी मुलुकका पर्यटक लक्षित पर्यटकीयस्थल, बजार, स्वास्थ्य सुविधा विस्तार गरी सीमावर्ती पर्यटन प्रवर्द्धन गरिने उल्लेख छ।

यस्तै, भौगोलिकरूपमा निकट रहेका तराई, पहाड र हिमाली क्षेत्रका पर्यटकीयस्थलमा परिपथ विकास गर्दै लगिने, बुद्ध, शिव, रामायण र किराँत सांस्कृतिक परिपथको मार्ग निर्धारण गरी पर्यटन प्रवर्द्धन गर्न बजेटको व्यवस्था गरिएको छ।

सातै प्रदेश समेटिने गरी चुरे, पहाडी र हिमाली क्षेत्रका प्रमुख गन्तव्यस्थलमा पर्यापर्यटन प्रवर्द्धनका लागि टाकुरा पर्यटकीय गन्तव्य तथा मनोरञ्जन पूर्वाधारसहितका ‘इको हिल स्टेसन’ निर्माण गरिने बताइएको छ।

त्यसै गरी मध्यपहाडी पुष्पलाल लोकमार्ग क्षेत्रका प्रमुख पर्यटकीय क्षेत्रमा होटल स्थापना गर्न सरकारी जग्गा लिजमा उपलब्ध गराइने, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा यस्ता स्थानमा पहुँचमार्ग, विद्युत् सेवा, खानेपानी सेवा पुर्‍याउने व्यवस्था मिलाइने उल्लेख छ।

पदमार्गमा आधारित पर्यटकीय कार्यक्रम सञ्चालन गर्न ग्रेट हिमालयन ट्रेल, मुन्धुम ट्रेल, गुरिल्ला ट्रेललगायतका पर्यटकीय पूर्वाधारको विकास गरिने, पुराना प्रचलनमा रहेका पदमार्गको संरक्षण र सम्वर्द्धन गरिने, नेपालमा वैवाहिक समारोह आयोजना गर्न आउने पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यका रूपमा विकास गरिने बजेटमा उल्लेख छ।

नेपालको हिमाली सभ्यता, जीवनशैली, स्रोत तथा सम्भावनाको पहिचान, अध्ययन–अनुसन्धान एवं पर्यटकका लागि सोकेस गर्न उपयोग हुने गरी हिमालयन रिसोर्स सेन्टरको स्थापना गरिने, उपल्लो मुस्ताङलगायतका सांस्कृतिक महत्वका स्थानमा मौलिक संरचना नबिग्रने गरी संरचना निर्माण गर्ने व्यवस्था मिलाइएको छ।

प्रकाशित: १५ जेठ २०८१ २१:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =