छिमेकीसँग राम्रो सम्बन्धले मात्र नेपाल समृद्ध बन्छ : डा राजन भट्टराई

हिमाल प्रेस ११ जेठ २०८१ १३:४९
12
SHARES
छिमेकीसँग राम्रो सम्बन्धले मात्र नेपाल समृद्ध बन्छ : डा राजन भट्टराई

काठमाडौँ- नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराईले छिमेकी मुलुकहरू भारत र चीनसँग राम्रो सम्बन्धले मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य साकार बनाउन सकिने बताएका छन्।

परराष्ट्र मामिला विभागले शुक्रबार बिहान आयोजना गरेको ‘बदलिँदो परिवेशमा विदेश नीतिका मुद्दाहरू’ विषयक राउण्ड टेबल बैठकमा प्रमुख डा भट्टराईले छिमेकी भारत र चीनसँग राम्रो सम्बन्ध स्थापित गर्न निरन्तर वार्ता र छलफल गरिनुपर्नेमा जोड दिए।

वार्ता र छलफलले नै दुई देशबीचको समस्या समाधान हुने र सम्बन्धमा सुधार आउने उनले बताए। अब आर्थिक कुटनीतिमा केन्द्रित हुनुपर्ने उनको विचार छ। डा भट्टराईले मुलुकमा वैदेशिक हस्तक्षेप रोक्न तथा कसैको प्रभाव र दबाबमा नपर्न कहिले कता, कहिले कता झुकाव राख्न नहुनेमा जोड दिँदै वैदेशिक हस्तक्षेपलाई निर्मूल गर्दै नेपाललाई स्वतन्त्रतापूर्वक रूपमा हिँडाउनु पर्ने एमालेको नीति रहेको बताए।

उनले भारतसँगको १९५० को सन्धि असमान र असान्दर्भिक रहेको समेत चर्चा गरे। चीनसँग बीआरआई कार्यान्वयन गर्नुपर्ने र नेपालले अधिकतम लाभ लिनुपर्ने उनले बताए।

कसैको प्रभाव र दबाबमा नपरी नेपाल र नेपालीको हितमा हेर्ने एमालेको परराष्ट्र नीति रहेको उनले उल्लेख गरे। बैठकको विदेश मामिला विभाग सचिव डा अञ्जान शाक्यले सहजीकरण गरेकी थिइन्। बैठकमा विभागका सदस्यहरूले बदलिँदो परिवेशमा एमालेको विदेश नीतिका बारेमा धारणा राखेका थिए।

प्रकाशित: ११ जेठ २०८१ १३:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =