काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकप क्रिकेट खेल्नका लागि अमेरिका जाने भिसा नपाएसँगै अनेक टिप्पणी भइरहँदा काठमाडौँस्थित अमेरिकी दूतावासले यसबारे आफ्नो भनाइ सार्वजनिक गरेको छ। दूतावासले विश्वकपका लागि आफूहरु उत्साहित रहेको र यस विश्वकपमा नेपाल सहभागी हुने झनै उत्साहित भएको जनाउँदै सन्दीप लामिछानेको भिसा किन अस्वीकार भएको भन्ने विषयमा कुनै टिप्पणी गर्न नसक्ने बताएको छ।
‘उपयुक्त भिसा वर्गका लागि योग्य हुने राष्ट्रिय क्रिकेट टोलीहरूका सदस्य विश्वकपमा प्रतिस्पर्धा गर्न समयमै अमेरिकाको यात्रा गर्न सक्षम होउन् भन्ने सुनिश्चित गर्न काठमाडौँस्थित अमेरिकी दूतावास र विश्वभरका अन्य अमेरिकी कन्सुलर पोस्टहरूले एकजुट भई काम गरेका छन्,’बुधबार साँझ एक वक्तव्य दूतावासाले भनेको छ,’ अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकोले हामी भिसाको कुनै केस विशेष बारे टिप्पणी गर्न सक्दैनौँ ।’

                                             
                                             
                                             
                                             
                                             
                                             

