विभाजनको हल्लाले सशंकित नेताहरू

किरण पौडेल २८ वैशाख २०८१ १५:३७
130
SHARES
विभाजनको हल्लाले सशंकित नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी विभाजन गराउन खोज्यो भनेर आफ्ना बारे गलत प्रचार गरिएको आरोप लगाएका छन्। उनले समाजवादीलाई फुटाउन खोजेको र ६ सांसदसहित नयाँ पार्टी खोल्न खोजेको भनेर गलत प्रचार गरिएको भन्दै खन्डन गरिसकेका छन्।

‘मलाई तारन्तार फोन आइरह्यो। यही कारण विज्ञप्ति निकालेर प्रस्ट पार्न बाध्य भए,’ खनालले भने। उनले आफूमाथि यस्तो अपवाह फैलाउनेलाई अवाञ्छित, स्वार्थी र कम्युनिस्ट विरोधीको संज्ञा दिए। यति मात्र होइन, पार्टी फुटको अपवाह फैलाउन पार्टीभित्रकै नेताहरू सक्रिय रहेको उनले बताए।

‘हाम्रो पार्टीको महाधिवेशन आउँदैछ। महाधिवेशनको समयमा खेल्नका लागि दुष्प्रचार गरियो,’ खनालले भने। उनले महाधिवेशनको मुखमा यस्तो प्रचार गर्नेहरू ‘दक्षिणपन्थी र षड्यन्त्रकारी’ रहेको आरोप लगाए।

खनालले यस्तो बताउनुको कारण पछिल्लो समयमा राजनीतिमा देखिएको टुटफुटको शृंखला हो। वैशाख २३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालको विभाजनपछि यस्ता हल्ला चलिरहेका छन्। आन्तरिक कचिंगल बाहिर नआई जसपा फुटेपछि अहिले अन्य साना पार्टी पनि विभाजनको भयमा छन्।

पार्टी विभाजनमात्र होइन, कतिपय पार्टी त एकताको हल्ला पनि चलिरहेको छ। नेताहरू भने यसलाई निराधार भनिरहेका छन्। जसपाको आन्तरिक असन्तुष्टिका कारण अध्यक्ष उपेन्द्र यादवसँग अर्का अध्यक्ष अशोक राई छुट्टिए।

राईसहित जसपा नेपालका सात सांसद (जम्मा १२)ले नयाँ दल गठन गरे। नयाँ जसपा गठन गरेका उनीहरूसँग नगएको एउटा ठूलो पङ्क्तिले ‘पहिचानवादी मोर्चा’ गठन गरेको छ।

जसपा नेपालका केन्द्रीय सदस्य खगेन्द्र माखिम र महेन्द्र लावतीहरू भिन्नै मोर्चा गठनमा लागेका छन्। शनिबारसम्म एक रहेको जसपा नेपाल बिहीबार आइपुग्दा तीन समूहमा विभाजित बनेको छ।

‘हो, हामी दुवै समूहमा छैनौँ। हामी पहिचानवादीहरू एक बनाउन लागेका छौँ,’ माखिमले हिमाल प्रेससँग भने, ‘अशोकजी र उपेन्द्रजी दुवै हाम्रा लागि योग्य नरहेको जस्तो लाग्यो। यही कारण नयाँ मोर्चा बनाएका हौँ।’ विशेषतः यो समूहमा अशोक राई समूह विभाजित भएको देखिन्छ। जनजाति ‘मोम्मेन्ट’मा राईलाई सहयोग गरेका नेताहरू विभाजित देखिएका छन्।

अशोक राईको पार्टी एकताको चर्चा

राईको पार्टी विभाजित भएपछि आगामी राजनीतिका विषयमा अनेक टिप्पणी भइरहेका छन्। उनी लामो समय एक्लै नरहने अनुमान भइरहेका छन्। राई एमालेबाट विभाजन भएका नेता हुन्। राई एमालेका पूर्वउपाध्यक्ष हुन्।

कुनै बेला एमालेको माथिल्लो दर्जामा रहेका राई आपसी तिक्तताले छुट्टिएर गए। अहिले राई फेरि एमालेसँग एक हुने चर्चा भइरहेको छ। राईलाई यादवबाट छुटाउनसमेत एमालेका अध्यक्ष केपी शर्मा ओलीले महत्त्वपूर्ण भूमिका खेलेको हल्ला राजनीतिक वृत्तमा छ। राई भने यो कुरा मान्न तयार छैनन्।

‘म हिजो एमालेबाट आए तर अहिले नै एमालेमा जाने सोचेको छैन,’ राई भन्छन्,‘एमालेसँग मेरो सैद्धान्तिक तिक्तता छन्। मिल्न सकिँदैन’, उनले भने। राईले अन्य पार्टीसँग पनि एकताको सम्भावना नभएको बताइरहेका छन्। ‘धेरै साथीहरूले कुरा गरिरहनुभएको छ। तर मैले सोचेको छैन’, उनले भने।

राई माओवादी, एमाले र कांग्रेस सबैले आफूलाई एकताका लागि कुरा गरेको सुनाउँछन्। ‘पार्टी विभाजन गर्नुभएछ। हाम्रोमा स्वागत छ भन्नुहुन्छ,’ राई भन्छन्, ‘हामीलाई बोलाउनुभएको छ तर हामी एकता गरिहाल्नेपक्षमा छैनौँ।’

एकीकृत समाजवादी विभाजनदेखि एकताको हल्ला

समाजवादीले बैठक नै बसेर विभाजनको हल्ला निराधार भएको स्पष्ट पारिसकेको छ। जसपा फुट्नेबित्तिकै शनिबार बैठक बसेर समाजवादीले यो निर्णय गरेको थियो। अहिले पनि समाजवादी फुट्ने चर्चा चलिरहेको छ। विशेषतः समाजवादीका अध्यक्ष र सम्मानित नेता खनालबीचको टकराव भएको खबरसँगै विभाजनको कुरा आइरहेको छ।

खनालपक्षले समाजवादी फुटाएर एमालेसँग एकता गर्न लागेको कुरा बाहिरिएको थियो। पछिल्लो समय खनालसँग नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सुमधुर सम्बन्ध छ। खनाल एमालेसँग एकता गर्नुपर्ने वकालत गर्दै आएका छन्। यही कारण पनि समाजवादी फुटाउने र एमालेसँग एकता गर्ने कुरा उठेको समाजवादी स्रोत बताउँछ।

‘हाम्रो पार्टीप्रति भ्रम फैलाइयो। यो गलत छ,’ समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खनाल भन्छन्, ‘हाम्रो पार्टी फुट्नुपर्ने कारण छैन। न सैद्धान्तिक समस्या छ, न नेतृत्वको लडाइँ छ। बिनाकाममा अपवाह फैलाइदैछ।’

पछिल्लो समय समाजवादीको जसपा नेपाल (उपेन्द्र यादव)सँग एकताको कुरा बाहिर आएको छ। अहिले समाजवादीसँग १० र जसपा नेपालसँग ५ सिट छ। दुई पार्टी मिल्दा निर्णायक शक्ति हुनेबारे छलफल भएको कुरा आइरहेको छ।

‘अहिले हाम्रो कोहीसँग एकताको कुरा भएकै छैन,’ समाजवादीका प्रवक्ता खतिवडा भन्छन्, ‘केही समयअघि थियो भने हुन सक्थ्यो। अहिले एकता गर्नुपर्ने कुरा कारण नै छैन।’ खतिवडा विगतमा भने जसपा नेपालसँग एकताको कुरा उठेको सुनाउँछन्।

‘हामीसँग एकताको कुरा आएको थियो। तर उपेन्द्रजीले कम्युनिस्ट शक्ति हुन सक्दिनँ भनेपछि चर्चा हरायो,’ खतिवडा भन्छन्, ‘हामी कम्युनिस्ट हौँ। त्यही कारण उपेन्द्रजीसँग एकता भएन।’

माओवादी घटकबीच एकताको चर्चा

अहिले विप्लव नेतृत्वको नेकपासँग माओवादीको एकताको चर्चा चलिरहेको छ। दुवै पार्टीका नेताहरु तत्काल एकता नहुने बताइरहेका छन्।
आफू कमजोर बनेपछि माओवादीका अध्यक्ष प्रचण्डले माओवादी घटक एक हुनुपर्ने बताउने गरेका छन्। तर सबै एकै हुने अवस्था छैन। माओवादीबाटै फुटेर गएको नेकपा (क्रान्तिकारी) का महासचिव मोहन वैद्य ‘किरण’ प्रचण्डसँग एकताको कुरै सुन्न मान्दैनन्।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सँग पनि एकताको चर्चा चलिरहेको छ। पछिल्लो समय नेसपाको एउटा कित्ता माओवादीसँग एकता गर्ने चरणमा पनि पुगेको छ। तर अहिले नै सबै माओवादी घटकबीच एकता हुने सम्भावना छैन। ‘एकता हुनु आवश्यक छ। तर तत्काल सम्भावना छैन’, माओवादी सचिव देवेन्द्र पौडेल बताउँछन्।

एमाले–माओवादीबीच एकता चर्चा

पछिल्लो समय नयाँ समीकरण बनेसँगै एमाले–माओवादी एकता चर्चा चुलिएको छ। वाम ध्रवीकरणमा जानुपर्ने र मिलेर सत्ता चलाउनुपर्ने आवाज दुवै कम्युनिस्टभित्र छ। विशषेतः दुवै दलका दोस्रो स्तरका नेताहरू एकताको प्रयत्न पनि गरिरहेका छन्।

माओवादीका सचिव राम कार्कीका अनुसार कार्यकर्तादेखि जनतासम्मको अपेक्षा वामएकताको अपेक्षा गरेको सुनाउँछन्। अपेक्षा भएकै कारण अहिलेको नयाँ समीकरण बनेको उनको भनाइ छ।

एमाले उपाध्यक्ष विष्णु पौडेल पनि यो समीकरण एकतासम्मै जानुपर्ने बताउने गरेका छन्। उनले पछिल्लो उपनिर्वाचनको मत पनि वाम एकतका पक्षमा आएको जिकिर गर्दै आएका छन्। तर दोस्रो स्तरका नेताले यसो भन्दै गर्दा अहिले नै दुई पार्टीबीच एकता भइहाल्ने सम्भावना छैन। केही साताअघि एमालेको एक कार्यक्रममा ओली र प्रचण्डले नै यो कुरा स्पष्ट पारेका थिए।

ओलीले अहिलेको समीकरण एकताका लागि नभएको खुलाएका थिए। प्रचण्डले पनि यसबारे हतार नहुने स्पष्ट पारेका थिए। यसअघि पनि एमाले–माओवादी प्रशस्त छलफल बिनै हतारमा एकता भएको दुवै पक्षको स्वकीर छ। यसैले अब हतार गर्ने पक्षमा आफूहरू नरहेको सुनाउने गरेका छन्।

राजनीतिक विश्लेषक डम्बर खड्का भने नेपालमा राजनीतिक दलको एकता र विभाजनको खास अर्थ नभएको सुनाउँछन्। संसदीय खेलको भंगालोमा साना दललाई पारेर ठूला दलले संख्या पु¥याउने काम गरिरहेको .खतिवडाको भनाइ छ।

प्रकाशित: २८ वैशाख २०८१ १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 14 =