 
                             
                                            कास्की- कास्कीका किसान धान छोडेर कागतीखेती गर्न थालेका छन्। जनशक्ति, मलखाद, कृषि पूर्वाधारको अभावका बीच जेनतेन खेती गरे पनि बाँदरबाट जोगाउन नसकिएपछि किसान धानको विकल्पमा कागतीखेती गर्न थालेका हुन्।
केही वर्षअघिसम्म बाँदर धपाएर बाली जोगाइए पनि पछिल्लो समय उल्टै आक्रमण गर्न थालेपछि समस्या भइरहेको स्थानीय किसानको गुनासो छ। पोखरा महानगरपालिकाका वडा नं १८, १९, २१, २२, २६, ३१, ३३ लगायत स्थानमा विगतका भन्दा बाँदर आतंक बढेको छ।
पोखरा महानगरपालिकाको वडा नं ३३ को बरमाझथर, बाँसपानी, चाउका, आँगेटारी, बूढीखोरिया, हुँडिकोटदेखि सुरौदी फाँटसम्म बाँदरले दुःख दिएकै कारण खेती गर्नेक्रम बर्सेनि कम हुँदै गएको अगुवा कृषक रमेश आचार्यले बताए।
‘फाँटतिर जेनतेन धानखेती भइरहेपनि पाखा तथा टारीतिर अधिकांश स्थानमा बाँदरकै कारण खेतबारी बाँझो छन्’, उनले भने,‘राज्यले बाँदरको व्यवस्थापनसँगै त्यसबाट पीडित किसानको समस्यालाई समाधान गर्नेतर्फ ध्यान दिन नदिँदा बाध्य भएर अन्य खेतीतर्फ लाग्नु परेको छ।’
वन्यजन्तु संरक्षण ऐनले बाँदरलाई मार्न नपाइने जनावरका रुपमा सूचीकृत गरेको छ। आफूहरूले बाँदरको व्यवस्थापन एवम् क्षतिपूर्तिको माग गर्दै आए पनि त्यस सम्बन्धमा स्पष्ट नीति तयार नहुँदा राहत तथा क्षतिपूर्तिसमेत पाउन नसकेको उनले गुनासो गरे।
बाँदरकै कारण धानखेती जोगाउन मुस्किल हुँदै गएपछि पोखरा महानगरपालिका–२६ खास्टेताल पारी भुसालटारीका स्थानीय सामूहिकरुपमा कागतीखेतीतर्फ लागेको भुसालटारी कृषक समूहका कोषाध्यक्ष विश्वराज अधिकारीले जानकारी दिए।
कागतीखेतीलाई बाँदरले पनि खासै क्षति नगराउने भएकाले विकल्पका रुपमा यहाँको एक सय ७० रोपनी क्षेत्रफलमा कागतीखेती सुरु गरेका छन्। त्यहाँ तीन वर्षयता तीन हजार कागतीका बिरुवा रोपिएका छन्, तिमध्ये दुई हजार सात सय बिरुवा राम्रैसँग हुर्किरहेका छन्। सो खेतीका लागि हालसम्म ५० लाखभन्दा बढी लगानी भइसकेको छ।
‘हामीले सुरुका वर्षमा लगाएका एक हजार कागतीका बिरुवा २२ महिना पुगिसकेका छन्,दोस्रो वर्ष दुई हजार सङ्ख्यामा कागतीका बिरुवा लगाएका हौँ’, अधिकारीले भने, ‘यस वर्ष थप एक हजार पाँच सयदेखि दुई हजारसम्म बिरुवा थप्ने समूहको तयारी छ ।’
सो समूहका सञ्चालक समिति सदस्य नवराज अधिकारीले लेखनाथमा रहेका सात तालमध्येको एक खास्टेतालमा पर्यटकीय गतिविधि बढाउने गरी कागतीको बगैँचालाई व्यवस्थित र आकर्षित गर्ने समूहको दीर्घकालीन सोच रहेको बताए।
महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी पनि बाँझा जग्गामा कागतीखेती गर्नसकेमा त्यसले कृषकको आम्दानी वृद्धिका साथै पर्यटन विकासमा समेत टेवा पुग्ने बताए। कागतीमा रोग सहने शक्ति बढी हुने भएकाले बाँझा जग्गामा कागतीखेती गर्न महानगरले पनि सहयोगको नीति बनाउने उनले बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 