कोशीका विवादास्पद तीन घटनाबाट सिक्नुपर्ने पाठ

विवेक विवश रेग्मी ७ वैशाख २०८१ २०:४९
114
SHARES
कोशीका विवादास्पद तीन घटनाबाट सिक्नुपर्ने पाठ

इटहरी- कोशी प्रदेशमा भदौयता भएका प्रमुख तीनवटा घटना नियन्त्रणका लागि प्रशासनले निषेध आदेश र बल प्रयोग त गर्नुपर्‍यो नै यी घटनाले सामाजिक सद्भाव भड्किन नदिन हरेक व्यक्ति आफैँ जिम्मेवार रहेको सन्देश दिएका छन्।

घटना १ : धरानमा गोवध भएको दाबी गर्दै भदौ ९ मा प्रदर्शन भयो। गोरु काटेर सामूहिक भोज गरिएको भनेर दाबी गरिएको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि एउटा समूह विरोधमा उत्रिएको थियो। र्‍यालीका कारण हुने सम्भावित जोखिम दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा निषेध आदेश गरेको थियो। जिल्लाभर सुरक्षाका दृष्टिकोणमा निकै कडाइ गरियो भने धरान प्रवेशमा निषेध गरिएको थियो।

घटना २ : चैत २३ गते सुनसरीको दक्षिणी क्षेत्र हरिनगर र देवानगन्ज गाउँपालिकामा प्रशासनले निषेध आदेश जारी गर्‍यो। हरिनगरका एक युवकमाथिको सामूहिक आक्रमणको घटनाले उग्र रूप लिएपछि उत्पन्न विवाद नियन्त्रणमा लिन प्रशासनले निषेध आदेश जारी गरेको थियो। उक्त घटनाले झण्डै एक साता सुनसरी अशान्त बन्यो। दुई धार्मिक समुदायबीच ‘विवाद’ हुँदा घटनाले उग्ररूप लिएको थियो।

घटना ३ : बुधबार विराटनगरस्थित रानी क्षेत्रमा पनि त्यही किसिमले घटना दोहोरियो। रामनवमीको अवसर पारेर एक समूहले निकालेको र्‍यालीलाई विराटनगर १५ मा अर्को समूहले अवरोध गरेपछि झडप उत्पन्न भएको थियो। विवाद बढेपछि रानी क्षेत्र तनावग्रस्त भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो।

स्थानीयवासीका अनुसार रामनवमीका अवसरमा विराटनगरको १५ र १७ को बीचमा निकालिएको र्‍यालीलाई एउटा समूहले अवरोध गरेपछि विवाद बढेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए। यस क्षेत्रमा प्रशासनले बिहीबारदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि सभासम्मेलन गर्न रोक लगाएको छ।

विगत ९ महिनामा कोशी प्रदेशमा भएका यी तीन घटना देशभरका लागि चर्चाको विषय बनेको छ। यस्ता घटना हुँदा आपसमा बेमेल हुने चिन्ता बढ्यो। आन्दोलनका कारण जनजीवन प्रभावित भयो।

यस्ता घटना नियन्त्रणका लागि राज्यका निकायको मात्रै होइन व्यक्तिको पनि ठूलो जिम्मेवारी रहने जानकारहरू बताउँछन्। एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्नु, सामाजिक सञ्जालको दुरुपयोग बढ्नु र अर्काको आस्थामाथि चोट पुर्‍याउन खोज्दा यस्ता घटना हुने गरेको उनीहरूको बुझाइ छ।

विश्लेषक प्रा.डा. राजेन्द्र शर्मा सद्भाव बिथोलिने घटना दोहोरिन नदिन व्यक्ति र राज्यका सबै निकाय सजग हुनुपर्ने बताउँछन्। व्यक्तिले पनि अर्काको अस्तित्व स्वीकार गर्न नसक्ने प्रवृत्ति त्याग्नुपर्ने शर्माले बताए। ‘हाम्रो महत्त्वाकांक्षाले हामी कसैसँग टाँसिएका छौँ,’ उनले भने, ‘हामीभित्र भएको असहिष्णु स्वभाव नियन्त्रण गर्न जरुरी छ।’

उनको बुझाइमा पछिल्लो समय सामान्य नागरिकको चेतना खलबल्याउने एउटा माध्यम बनेको छ सामाजिक सञ्जाल। यद्यपि सामाजिक सञ्जाल प्रयोगका धेरै फाइदा पनि छ। शर्माले भने, ‘सामाजिक सञ्जालको दुरुपयोग, आफूलाई पत्रकार भनेर दाबी गर्ने युट्युबरहरूले निमुखा नेपालीलाई भड्काउने र डेमोक्रेसी आएपछि हामीमा बढ्दै गएको असहिष्णु स्वभावका कारण यस्ता घटना बढेका हुन्।’ सामाजिक सञ्जाल दुरुपयोगका कारण सामान्य मानिसलाई उकास्ने काम भइरहेको उनले बताए।

नेपालमा यस्ता घटना हुनुमा छिमेकीको प्रभाव देखिएको दाबी उनको छ। ‘छिमेकीले उकास्दा उकासिने हाम्रो शैक्षिक स्तरमाथि पनि प्रश्न उठ्छ। सामाजिक सद्भाव संवेदनशील विषय हो भन्ने कुरा सिक्न आवश्यक छ,’ डा. शर्माले भने।

पत्रकारिताका लाग्नेले पेसागत धर्म छाड्दा यस्ता घटना हुने गरेको शर्मा बताउँछन्। हरेक पेसाकर्मीको पेसागत धर्म हुन्छ। पत्रकारिता क्षेत्रमा लाग्नेहरूको पनि आचारसंहिता पालना गराउनुपर्छ। पत्रकारका नाममा आचारसंहिताविपरीत जाँदा पनि स्थिति बिग्रिएको उनले बताए।

‘आफूलाई पत्रकार भनेर युट्युब चलाएकाहरूले विषयवस्तुको संवेदनशीलता नबुझेर घटना हुनका लागि मलजल गरेका छन्,’ शर्मा भन्छन्, ‘यस्ता कुरा नियन्त्रणमा लिनुपर्छ भन्दा वाक् स्वतन्त्रताको कुरा आउला। अभिव्यक्ति स्वतन्त्रताका नाममा मानिसले चेतनाको स्तर गुमाउँदै गएको छ। यो चिन्ताको विषय हो।’

विवाद हुन नदिन सामाजिक संस्था चनाखो हुनुपर्ने उनको सुझाव छ। ‘हामी रूढिवादी विचारमा छौँ। हामीबीच असहिष्णुता बढेको छ। यसको कारण हाम्रो रहनसहन र खानपिनले पनि हो कि? अनुसन्धान हुनुपर्छ,’ उनले भने।

सुनसरीका अग्रज पत्रकार हर्ष सुब्बा पत्रकार आचारसंहिताबारे जानकारी नै नभएका व्यक्तिहरू सञ्चार क्षेत्रमा स्थापित हुँदा यस्ता घटना भइरहेको बताउँछन्। प्रविधिको तीव्र विकासले दुरदराजका मानिस सूचनाको पहुँचमा पुगेका छन्।

‘कुन सूचनाले समाजलाई असर गर्छ, कुन सूचनाले समाजमा सद्भाव बढाउँछ, कुन सूचनाले समाजलाई बहसको विषय सिर्जना गर्छ भन्ने ज्ञान नभएका मान्छेहरू सूचनाको क्षेत्रमा आए,’ सुब्बाको चिन्ता छ, ‘जसले जे भन्यो त्यो भिडियो खिचिदिने र सामाजिक सञ्जालमा पोस्ट गरिदिने अनि समाजको स्तर के छ भन्ने बुझाइ नभएकाहरू स्थापित भएका कारण समस्या बढेको छ।’

सबै मानिस समाजप्रति जिम्मेवार हुनुपर्ने सुझाव उनी दिन्छन्। ‘एकथरी मानिसलाई समाज बनाउन वा बिगार्नमा चासो हुँदैन। उनीहरूलाई आफ्नो कुराले समाज बिगार्छ भन्ने ज्ञान पनि हुँदैन। त्यस्तो मानिसको हातमा सूचनाको पहुँच पुग्यो। अभिव्यक्तिले के असर गर्छ भन्ने ज्ञान भएन,’ सुब्बाको तर्क छ, ‘आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकारमाथि हनन हुनुहुँदैन भन्ने नैतिक कुरा नभएका कारण समस्या भइरहेको छ।’

पछिल्लो समय युट्युबरको वर्चस्व बढेको र उनीहरू आफैँले केही नगरे पनि ‘जसले जे बोल्यो, त्यही देखाइदिएका’ कारण समाजमा असर निम्तिएको उनी बताउँछन्। ‘हामीले पत्रकारितामा कस्ता कुरा समाचारमा प्रयोग गर्ने भन्ने बुझ्नुपर्छ। सूचना सम्प्रेषणले समाजमा नकारात्मक असर गरेको छ कि छैन भनेर विवेक पुर्‍याउनुपर्छ,’ सुब्बा भन्छन्।

अभिव्यक्ति स्वतन्त्रतालाई मर्यादित बनाउने कानुन आवश्यक रहेको उनको तर्क छ। ‘सामाजिक सञ्जाल प्रयोगकर्ता ग्रास रुटमा पुग्यो, ज्ञान नहुँदा दुरुपयोग बढ्यो, यसलाई मर्यादित बनाउन कानुनी संयन्त्र चाहिन्छ,’ उनले भने, ‘यसबारे समाजका बुद्धिजीवी पनि सभ्य भाषामा बहसमा उत्रिनुपर्छ। हामीले कतै गलत कुरालाई मात्रै पछ्याइरहेका त छैनौँ?’

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले सामाजिक सद्भावमा खलल पुर्‍याउने मानिसहरूलाई निगरानीमा राखिएको बताए। ‘हामीले सूचना संकलनमा व्यापक प्रहरी परिचालन गरी जुनसुकै क्षेत्रमा पनि निगरानी गरिरहेका छौँ,’ एसपी तिम्सिनाले भने, ‘प्रहरीको उच्च सर्तकताका कारण हालसम्म कुनै पनि क्षतिका घटना भएका छैनन्।’

उनले सामाजिक सद्भाव खलबलिन सक्ने घटना हुन नदिनका लागि प्रहरीले निगरानी बढाएको बताए। ‘तत्काललाई ठूलो र उच्छृंखल घटना हुन नदिन प्रहरी परिचालन फलदायी देखिएको छ,’ उनले भने, ‘हामीले सामाजिक सद्भाव बिगार्ने खालका मानिससँग र सरोकारवाला निकायसँग पनि समन्वय गरिरहेका छौँ।’ उनले यसमा नागरिक समाज, राजनीतिक दल र स्थानीयस संघसंस्थाको पनि उत्तिकै सहयोग आवश्यक रहेको बताए।

प्रकाशित: ७ वैशाख २०८१ २०:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =