रोयल गार्डमा नेपाली युवा लैजाने बहराइन र ब्रुनाईको प्रस्ताव अलपत्र

हिमाल प्रेस ७ वैशाख २०८१ १२:०३
62
SHARES
रोयल गार्डमा नेपाली युवा लैजाने बहराइन र ब्रुनाईको प्रस्ताव अलपत्र

काठमाडौँ- नेपाली युवालाई रोयल गार्डमा लैजाने ब्रुनाई र बहराइनको प्रस्ताव अलपत्र परेको छ। कानुन नबन्दा ब्रुनाई र बहराइनले रोयल गार्डमा नेपाली युवा लैजान गरेको प्रस्ताव अलपत्र परेको हो।

‘सुरक्षा गार्डमा नेपाली युवा पठाउन छुट्टै कानुन छैन। त्यही भएर कतिपय देशले गरेको प्रस्तावमा निर्णय गर्न अन्योल भएको हो’, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता गोविन्द रिजालले भने।

बहराइनले वैदेशिक रोजगार महाशाखाका अनुसार गोरखा रिजर्भ युनिट नामक संस्थामार्फत रोयल गार्डमा नेपाली युवा लैजान प्रस्ताव गरेको थियो। गत भदौमा तत्कालीन मन्त्री शरतसिंह भण्डारीसँग भेट गरी बहराइनका राष्ट्रिय सुरक्षा सल्लाहकार एवं रोयल गार्ड कमान्डर सेख नासेर बिन हमाद अल खालिफाका दूत क्रिस्टोफर बरोज र मोहम्मद जुमाले रोयल गार्डमा नेपाली युवा लैजान प्रस्ताव गरेका थिए।

उक्त संस्थाले त्यहाँको राजपरिवार र राजपरिवारका सदस्यको सुरक्षाका लागि नेपाली युवा लैजान प्रस्ताव गरेको महाशाखाले जनाएको छ। प्रस्तावमा रोयल गार्डका लागि छुट्टै प्रोटोकल बनाएर मात्र नेपाली युवा लैजाने उल्लेख छ।

बहराइनले छुट्टै प्रोटोकल निर्माण गरी रोयल गार्डमा नेपाली युवा लैजान २०७८ सालबाट नै प्रस्ताव गर्दै आएको छ। नेपालबाट रोयल गार्डमा कामदार लैजाँदा सम्पूर्ण लागत खर्च आफैँ व्यहोर्ने बराइनको प्रस्ताव छ। श्रम मन्त्रालयले श्रम सम्झौतामा सुरक्षा गार्डको छुट्टै कानुन बनाएर कामदार पठाउने आश्वासन दिँदै आए पनि अहिलेसम्म कार्यान्वयन गरेको छैन।

बहराइनको राजदरबारका बगैंचामा माली, चालक, सुरक्षा गार्डलगायतमा नेपालीले काम गर्दै आएका छन्। सन् २००८ मा बहराइनसँग सरकारी स्तरमा श्रम सम्झौता भएको थियो।

ब्रुनाईका राष्ट्रिय सुरक्षासँग सम्बन्धित संस्थाका अधिकारीले पनि २०७६ सालदेखि नेपाली युवा लैजान प्रस्ताव गर्दै आएको छ। श्रम मन्त्रालयका उपसचिव डम्बर सुनुवारले बहराइन र ब्रुनाईका प्रतिनिधिहरूले रोयल गार्डमा नेपाली युवा लैजान प्रस्ताव गरेको प्रस्ताव अघि बढ्न नसकेको बताए।

ब्रुनाईमा व्यक्तिगत भिसामा गएर कतिपय नेपाली रोयल र अन्य सुरक्षा गार्डको रोजगारीमा कार्यरत छन्। गत आर्थिक वर्षमा एक हजार ४ सयभन्दा बढी नेपाली ब्रुनाई वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ। ब्रुनाईसँग अहिलेसम्म सम्झौता भएको छैन।

भारत, सिंगापुर, यूएई, कतार र हङकङलगायत देशबाट सुरक्षा सेवाबाट अवकाश प्राप्त प्रहरी तथा सेना ब्रुनाईको रोयल गार्डको रोजगारीमा जाने गरेका छन्। हाल ब्रुनाईमा पाँच सयभन्दा बढी नेपाली रोयल र अन्य सुरक्षा गार्डमा कार्यरत रहेको श्रम मन्त्रालयको अनुमान छ।

रोयल गार्डमा नेपालीलाई पठाउने बेग्लै सुरक्षासम्बन्धी सम्झौताका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय गर्नुपर्ने र त्यसपछि मन्त्रिपरिषद्ंमा प्रस्ताव लैजानुपर्ने भएकाले केही समय लागेको प्रवक्ता रिजाल बताउँछन्। दुवै देशले सरकार-सरकारबीच (जीटूजी) सुरक्षासम्बन्धी सम्झौता गरेर रोयल गार्डमा नेपाली युवा लैजान प्रस्ताव गरेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + ten =