अस्थिर जीवन बाँचेका शृंगारिक गजलकार

विजय नेपाल ४ वैशाख २०८१ २१:३५
64
SHARES
अस्थिर जीवन बाँचेका शृंगारिक गजलकार

“तप्प–तप्प जलबिन्दु चुहाएर के निस्कियौ
स्नीग्ध कञ्चन कोमल अहा ! नुहाएर के निस्कियौ
भाग्यमानी रै’छ साबुन फिँजैफिँज भै बरालियो
जुन साबुनलाई अंग–अंग छुवाएर के निस्कियौं।”

गजलकार प्रकट पगेनी ‘शिव’ यी र यस्तै शृंगारिक गजल लिएर प्रत्यक्ष रूपमा दर्शकमाझ अब देखा पर्ने छैनन्। उनले ६७ वर्षको उमेरमा मंगलबार दिउँसो आफ्नो नश्वर शरीर सधैँका लागि छाडेका छन्। जण्डिस, निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

स्वास्थ्यमा एक्कासि समस्या आएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

पगेनी कास्कीको रुपा गाउँपालिका वडा ५, देउरालीका हुन्। उनका श्रीमती, १ छोरा र १ छोरी छन्। परिवारजनका अनुसार बुधबार पोखराको सेती नदी किनारमा उनको अन्त्येष्टि हुनेछ।

२०६२ सालमा गजल सन्ध्या पोखराको आयोजनामा पोखरा उद्योग वाणिज्य संघमा भएको ‘प्रणयमा प्रकट दाइ’ एकल गजल साँझमा दर्शक खचाखच थिए। त्यसबेला माथिको शेरसहित गजल वाचन गर्दा उनी वाहीवाही बटुलेका थिए। त्यसपछि त उनी शृंगारिक गजलकारका रूपमा बढी चिनिए।

घरगृहस्थीका कविका रूपमा उनी बढी चिनिन्छन्। गाउँघरका शब्द टपक्क टिपेर साहित्यमा ढाल्न सक्ने उनको खुबी थियो। पगेनीका ‘यो मन कतै अल्झेको छ’ पहिलो गीत संग्रह हो। त्यसपछि उनले ‘जूनको चिठी जूनालाई’ अर्को गीत संग्रह ल्याए। ‘प्रणयवेदका ऋचाहरू’ गजल संग्रह र ‘अक्षरभरि अक्षता’ कविता संग्रह प्रकाशित गरे। ‘तगारो छेऊ आएर पनि आँगन टेकिनौं…’ उनको चर्चित गीत हो। यो गीत गाएरै बिमल पराजुली चिनिएका थिए। पगेनी केही उपन्यास समेत प्रकाशनको तयारीमा समेत थिए।

उनी ‘अक्षरयात्रा पोखरा’ का परिकल्पनाकार हुन्। २०६२ असार १८ देखि सुरु भएको उक्त साहित्यिक अभियानले २ सयभन्दा बढी शृंखला पार गरिसकेको छ। पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष उनी ‘भावना परिवार’ का समेत परिकल्पना रहेको साहित्यकार रुपिन्द्र प्रभावी कटुले बताए। उनी गजल सन्ध्यामा सल्लाहकार लगायत विभिन्न संघसंस्थामा आबद्ध रहे। एकेडेमीमा जाने उनको ठूलो इच्छा भए पनि राजनीतिक पहुँच नहुँदा खुम्चिनुपरेको थियो।

साहित्यकार कटुका अनुसार पगेनी नेपाली साहित्यका एक जना मूर्धन्य साहित्यकार हुन्। उनी स्मरण गर्छन्, ‘उहाँले हृदयले लेख्नुहुथ्यो। नयाँ पुस्ताका लागि प्रेरणाका स्रोत मानिनुहुन्थ्यो। उहाँको निधनले पोखरामात्र नभै सिंगो नेपाली साहित्यका लागि अपूरणीय क्षति पुगेको छ।’

स्वयं व्यवस्थापन अभावले उनी आर्थिक हिसाबले कमजोर नै थिए। पगेनीले अस्थिर जीवन बाँचेको तीसको दशकदेखि उनीसँग संगत गरेका संस्कृतिकर्मी तीर्थ श्रेष्ठ स्मरण गर्छन्। ‘जीवनलाई व्यवस्थित गराउन चलाउन सकेनन् भनौं वा खोज्दाखोज्दै भएन भनौं,’ श्रेष्ठले भने, ‘तर धेरै मानिसको माया पाएको, धेरै मानिसको सद्भाव पाएको व्यक्तिको रुपमा मैले चिन्छु।’

उनीसँग आफ्नो ‘तँ तँ र म म’ हुने साथी भएको श्रेष्ठले स्मरण गरे। साहित्यिक क्षेत्रका बारेमा श्रेष्ठले भने, ‘गजल, कविता, मुक्तकमा राम्रै ढंगले आफ्नो प्रतिभा प्रदर्शन गरेको व्यक्ति हो। अझै योगदान गर्न सक्ने सम्भावना भएको व्यक्ति हो।’ उनका अनुसार पगेनी निश्चित पेसा व्यवसायमा आबद्ध हुन सकेनन्।

श्रेष्ठका अनुसार पगेनीले २०३३/३४ सालमा पोखराको बागबजारमा शृंगार आर्ट खोलेका थिए। पछि गैह्रापाटनमा पगेनी आर्ट खोले। त्यहाँबाट न्यूरोड सरेका थिए। जीवनमा अनेक घुम्दी पार गरेका पगेनीले केही समय लुम्ले कृषि अनुसन्धान केन्द्रमा आर्टिस्टको जागिर पनि गरेका थिए। त्यसबेला जीवन केही स्थिर जस्तो देखिन्थ्यो, पछि त्यो पनि छोडे। ‘प्रिय साथीको अवसानमा श्रद्धाञ्जली दिने अवस्थाले गाह्रो महसुस भइरहेको छ,’ श्रेष्ठ मधुर सुनिए।

लुम्लेको प्राकृतिक सुन्दरतामा रमाउँदा पगेनीमा साहित्यिक चेतको प्रेरणा मिलेको मान्न सकिन्छ। उनले बाटुलेचौरस्थित प्रगति बोर्डिङमा पनि जीवनसम्बन्धी कला सिकाए। पत्रकार एवं गीतकार आरजू बिष्ट ‘सल्यानी’ ले पगेनीबारे वृत्तचित्र लगायत विभिन्न प्रोजेक्ट तयारी गरेकोमा निधनको खबरले स्तब्ध बनेको बताए। गैह्रापाटनमा छँदा कहिलेकाही पगेनीको अनुपस्थितिमा आफैंले आर्ट गरेर ब्यानर लेख्ने गरेको पनि सल्यानी स्मरण गर्छन्। पगेनीका अक्षर निकै राम्रा थिए।

पछिल्लो समय उनी साढे २ वर्षयता आफ्नो जन्मस्थल देउरालीमै बसोबास गर्दै आएका थिए। उनले यशस्वी कटेज सञ्चालन तयारी गरेका थिए। तर उनको भेन्टिलेटरमा राखेर भइरहेको एक्कासि खबर सुनियो। उपचार सहयोगार्थ तत्कालै आर्थिक संकलन अभियान भएकोमा केही घण्टामै निधनको खबर फैलियो।

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले संस्थाको तर्फबाट २५ हजार राखेर उपचार कोष स्थापना गरेरै सहयोगको सार्वजनिक अपिल गरेका थिए। केही घण्टामै करिब ७० हजार संकलन भएको उनले बताए। पगेनीको उपचार सहयोगार्थ पोखरा महानगरपालिकाले पनि १ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो।

आफ्नो संस्थाका पूर्वअध्यक्षसमेत रहेका पगेनीलाई पौडेल राम्रो कविको रूपमा चिनेको बताउँछन्। उनले भने, ‘कुनै पनि साहित्यिक अभियानमा सधैं हँसमुख भएर उपस्थित हुने, कहिल्यै अरूलाई नपिराउने उहाँको स्वभाव थियो। उहाँको निधनले सिंगो साहित्यिक क्षेत्रमा क्षति पुगेको महसुस गरेको छु।’ उनी भन्छन्, ‘प्रकट दाइको कृतित्व र व्यक्तित्व आँखामा राखे पनि नबिझाउने खालको थियो।’

पगेनीको निधनमा सामाजिक सञ्जालमा श्रद्धाञ्जली बर्सिरहेका छन्। साहित्यकार हरि अधिकारी फेसबुकमा लेख्छन्, ‘हार्दिक श्रद्धाञ्जली। प्रकट पगेनी शिवले गोलोक प्रस्थान गरेको समाचारको आघातबाट बाहिर निस्किन सायद म कहिल्यै पनि सक्दिनँ। यति ठूलो मानसिक संघात मैले भोगेको छु त्यसको कुनै हिसाब हुन सक्दैन। उनी मेरा भाइ, प्रेरक, प्रशंसक र सुधी आलोचक थिए।’

प्रकाशित: ४ वैशाख २०८१ २१:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 9 =