रहेनन् प्रकट पगेनी ‘शिव’

हिमाल प्रेस ४ वैशाख २०८१ १६:३०
116
SHARES
रहेनन् प्रकट पगेनी ‘शिव’

पोखरा- गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ। जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा मंगलबार दिउँसो निधन भएको हो।

स्वास्थ्यमा एक्कासि समस्या आएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा दिउँसो करिब साढे ३ बजेतिर निधन भएको उनका भतिज प्रज्वल पगेनीले बताए। ७० वर्षीय प्रकट पगेनी शिव कास्कीको रूपा गाउँपालिकाका हुन्। उनका पत्नी, एक छोरा र एक छोरी छन्।

‘तगारो छेउ आएर पनि आँगन टेकिनौ.’ उनको चर्चित गीत हो। उनी सिद्धहस्त गजलकार थिए।

पगेनीको वास्तविक नाम ‘शिवराज पगेनी हो। उनका ‘यो मन कतै अल्झेको छ’, ‘जुनको चिठी जुनालाई’ लगायतका कृति प्रकाशित छन्। पगेनीका गजल, गीतसहित कविता, कथा, लेख, मुक्तक आदि पनि प्रकाशित छन्। २०३९ सालमा भएको नाटक महोत्सवमा उनले सर्वोत्कृष्ट अभिनेताको पुरस्कार पाएका थिए।

उपचारमा मोटो रकम लाग्ने भएपछि मंगलबार नै आर्थिक संकलन अभियान थालिएको थियो। उनको उपचारका लागि पोखरा महानगरपालिकाले १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। पोखरेली सांस्कृतिक परिवार अध्यक्ष उपेन्द्र पौडेलले २५ हजार राखेर उपचार कोष स्थापना गरेरै सार्वजनिक अपिल गरेका थिए।

उनको अन्त्येष्टि  बुधबार दिउँसो गरिने पारिवारिक स्रोतले जनाएको छ। त्यसअघि  शवयात्रा गरिनेछ।

प्रकाशित: ४ वैशाख २०८१ १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =