मर्स्याङ्दी जलाशयमा मोटरबोट

हिमाल प्रेस २ वैशाख २०८१ १७:०२
4
SHARES
मर्स्याङ्दी जलाशयमा मोटरबोट

दमौली- पृथ्वी राजमार्गमा अवस्थित तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा आइतबारदेखि मोटरबोट सञ्चालनमा आएको छ। आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गरेको हो।

गण्डकी प्रदेशका बिनाविभागीयमन्त्री हरिबहादुर चुमानले आइतबार मोटरबोटको शुभारम्भ गर्दै पर्यटनलाई समृद्धिसँग जोड्ने पालिकाको अभियान सकारात्मक रहेको चर्चा गरे। उनले जलविद्युत्, कृषि, पर्यटन समृद्धिका आधार रहेकाले यसलाई उपयोग गर्नुपर्नेमा जोड दिए।

मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनका लागि आँबुखैरेनी गाउँपालिकाले गत पुस ९ गते बोलपत्र आह्वान गरेको थियो। गाउँपालिकाले मोटरबोट सेवाप्रदायक कम्पनी बोटेबोराको प्रस्ताव छनोट गरेर उक्त कम्पनीसँग सम्झौता गरी सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। जलाशयनजिक प्रसिद्ध धार्मिकस्थल अल्कादेवी पनि रहेकाले धार्मिक पर्यटकहरूलाई समेत मोटरबोटमार्फत आकर्षित गर्न सकिने उनको भनाइ छ।

अध्यक्ष चुमानले पृथ्वी राजमार्गहुँदै यात्रा गर्ने पर्यटकलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने बताए। उनले भने, ‘पर्यटनका क्षेत्रमा केही नवीन काम गर्ने जमर्को गरेका छौँ। ऐनापहरामा उद्यान निर्माणाधीन छ भने आँधीमूलमा कृत्रिम ताल निर्माण गर्ने योजना बनाएका छौँ।’

सो जलाशयमा तत्कालका लागि १ करोड रुपैयाँको लगानी गरिएको बोटेबोराका सञ्चालक विष्णु ढकालले जानकारी दिए। मोटरबोट सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटकका लागि थप पर्यटकीय गन्तव्यको विकास गर्न सकिने उनको भनाइ छ। नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सीप एन्ड बोट बिल्डिङ प्रालिले निर्माण गरेको अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालन गरिएको छ।

कम्पनीले थप ३ करोड लगानी गरी जलाशय किनारमा ‘बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टरसहितका संरचनाहरू बनाउने योजना रहेको जनाएको छ।

यसअघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको ढकालले जानकारी दिए।

मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरकफरक शुल्क कायम गरिएको छ। कम्पनीले छदेखि आठ मिनेटसम्म मोटरबोटमा सयर गर्न ५० रुपैयाँ प्रतिव्यक्ति, १० देखि १२ मिनेटसम्मका लागि प्रतिव्यक्ति ५ सय र १५ देखि २० मिनेटसम्म सयर गर्नका लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क लाग्ने जनाएको छ। रासस

प्रकाशित: २ वैशाख २०८१ १७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =