नयाँ वर्षले देश र जनतामा आशाको नयाँ रक्तसञ्चार पुनःजागृत हुन्छ : प्रचण्ड

हिमाल प्रेस १ वैशाख २०८१ ८:१४
नयाँ वर्षले देश र जनतामा आशाको नयाँ रक्तसञ्चार पुनःजागृत हुन्छ : प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्ष देश र जनतामा आशाको नयाँ रक्तसञ्चार पुनःजागृत हुने विश्वास व्यक्त गरेका छन्।

उनले अर्थतन्त्रको सुधारमार्फत समृद्धिको बलियो जग बसाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्ष २०८१ सालको मूल जिम्मेवारी भएको बताएका छन्।

नव वर्ष २०८१ का अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री दाहालले सत्ता समीकरणमा आबद्ध दलको सम्बन्धलाई सुदृढ तुल्याउँदै सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ बनाउनु तथा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउनु अहिलेको मुख्य प्राथमिकता भएको बताए।

‘यस साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबै नेपालीबीच एकता, पारस्परिक मेलमिलाप, आत्मीयता र सौहार्दपूर्ण भावनालाई अभिवृद्धि गर्दै नयाँ वर्षलाई उपलब्धि र समृद्धिको ऐतिहासिक मानकका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै फेरि एकपटक समस्त नेपालीमा शुभकामना व्यक्त गर्दछु’, प्रधानमन्त्री दाहालले सन्देशमा भनेका छन्।

संघीयताको प्रभावकारी कार्यान्वयन, सुशासनका निम्ति चालिएका दूरगामी कदम र प्राप्त उपलब्धि, सेवा प्रवाहमा सरलता, समस्याग्रस्त आर्थिक क्षेत्रको सुधारमा अग्रसरता, जनताका समस्याको प्रत्यक्ष सम्बोधन, देशको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा प्राप्त सफलता २०८० सालका आशालाग्दा राष्ट्रिय उपलब्धिका रूपमा रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।

प्रकाशित: १ वैशाख २०८१ ८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =