नगर प्रहरीलाई वातावरण संरक्षणमा परिचालन गर्दै ललितपुर महानगर

हिमाल प्रेस २९ चैत २०८० १५:३२
42
SHARES
नगर प्रहरीलाई वातावरण संरक्षणमा परिचालन गर्दै ललितपुर महानगर ललितपुरमा बिहीबार आयोजित तालिममा सहभागी नगर प्रहरी। तस्बिर : हिमाल प्रेस

ललितपुर- ललितपुर महानगरपालिकाले ‘वातावरण प्रहरी’ परिचाल गर्ने भएको छ। महानगरपालिकाले यूएसएडको ‘स्वच्छ हावा’ नामक कार्यक्रमसँग सहकार्य गरी १५ जना नगर प्रहरीलाई तालिम दिएर वातावरण संरक्षणमा परिचालन गर्न लागेको हो।

बिहीबार सुरु भएको तीनदिने तालिममा नगर प्रहरीहरूले वातावरण कसरी स्वच्छ राख्ने, सफा राख्ने, बोटबिरुवाको संरक्षण गर्ने सम्बन्धमा विज्ञबाट ज्ञान लिनेछन्।

तालिम द्घाटन सत्रलाई सम्बोधन गर्दै नगरप्रमुख चिरीबाबु महर्जनले वायु प्रदूषण न्यूनीकरणका लागि अनेक उपाय र प्रयास गर्न महानगर तयार रहेको बताए। उनले भने, ‘मेरो पहिलो कार्यकालमा ललितपुर महानगरभित्र धेरै वृक्षरोपण गरेँ। कोभिड बेला ती बिरुवा हलक्कै बढे। वायु प्रदूषण पनि भएन।’ कोभिडले संसारलाई आतंकित बनाए पनि बिरुवा हुर्कन यो समय वरदान भएको उनको भनाइ छ।

महर्जनले नगरसभाको बैठकको निर्णअनुसार नै नगर प्रहरीलाई तालिम दिएर वातावरण संरक्षणमा खटाउन लागिएको बताए। उनले भने, ‘वातावरण प्रहरीको व्यवस्था गर्ने महानगर सम्भवतः पहिलो स्थानीय तह हो।’ उनले वातावरण प्रहरीको टोलीलाई आवश्यक भौतिक पूर्वाधारका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। ललितपुरलाई ‘क्लिन सिटी’ बनाउने अभियान जारी राख्ने उनको भनाइ छ।

कार्यक्रममा स्वच्छ हावा कार्यक्रममा प्रमुख एवं वातावरणविज्ञ भूषण तुलाधरले वातावरण प्रहरीको व्यवस्था गरेर ललितपुर महानगरले उदाहरणीय काम गरेको बताए। उनले महानगरको वातावरणसम्बन्धी नीतिलाई कार्यान्वयन गर्ने र नागरिकको सुरक्षा वातावरण प्रहरीको मुख्य काम भएको बताए।

महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वच्छ हावा बनाउनु प्रत्येक नागरिकको कर्तव्य रहेको बताइन्। उनले अभियान सञ्चालनमा सबैको साथ र सहयोग आवश्यक रहेको बताइन्। ललितपुर महानगरले स्वच्छ हावा र वातावरण पर्यावरणीय कार्यअन्तर्गत विभिन्न स्थानमा ४० वटा पार्क बनाइसकेको छ। अब ४५ रोपनी जग्गामा पोखरीसहितको ठूलो पार्क बनाउने तयारी योजना महानगरको छ।

प्रकाशित: २९ चैत २०८० १५:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nine =