इलाम-२ मा २० उम्मेदवार, प्रतिस्पर्धामा पुरुष मात्रै

हिमाल प्रेस २४ चैत २०८० २१:३६
16
SHARES
इलाम-२ मा २० उम्मेदवार, प्रतिस्पर्धामा पुरुष मात्रै निर्वाचन अधिकृतको कार्यालय इलाममा शनिबार उम्मेदवारी दर्ता गर्न जाँदै एमालेका सुहाङ नेम्वाङ र नेपाली कांग्रेसका डम्बर खड्का। तस्बिर : रासस

काठमाडौँ- इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ र आठ स्वतन्त्र उम्मेदवार गरी कुल २० जनाको मनोनयनपत्र दर्ता भएको छ। मनोनयनपत्र दर्ता गर्ने २० जना सबै पुरुष रहेको निर्वाचन आयोगले जनाएको छ।

उम्मेदवारी दर्ता गराउनेमा एमालेका सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बू, एकीकृत समाजवादीका जितबहादुर राई छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्याम नेपाली, मंगोल नेसनल अर्गनाइजेसनका मणिकुमार लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम शाह, नेसनल रिपब्लिक नेपालका धनराज राना मगर, नेपाली जनता दलका रेशमबहादुर सुनार छन्।

स्वतन्त्रतर्फ डकेन्द्रसिंह थेगीम, डाकप्रसाद गौतम, मनोज निरौला (प्रदीप) अर्जुनबहादुर शाही, केशवकुमार चापागाईं, दीपेश बोहोरा, योगेन्द्र गुरुङ, राज बस्यालले मनोनयन दर्ता गराएका छन्।

यसैगरी बझाङ निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ। जसमध्ये एक महिला र ११ पुरुष छन्।

आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक एवं शान्तिपूर्ण रुपमा उम्मेदवारको मनोनयन भएको जनाएको छ।

आयोगका अनुसार यही चैत २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने, चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम छ।

आगामी वैशाख १५ गते शनिबारका दिन बिहान ७ देखि साँझ ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ। आयोगले मतदानमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आयोग सम्बन्धित सबै मतदातामा आह्वानसमेत गरेको छ।

प्रकाशित: २४ चैत २०८० २१:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + seventeen =